थप कोभिड खोप मगाइयो, के तपाईँले पनि बूस्टर डोज लिनुपर्छ?

कोभिड खोप

तस्बिर स्रोत, Getty Images

चीनमा कोभिडको अर्को लहर फैलिन थालेपछि नेपालमा बूस्टरका रूपमा मात्र लगाउन मिल्नेगरी कोभिड खोपको माग भएको स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

दुई खेपमा गरेर १५-१५ लाख फाइजरद्वारा उत्पादित ‘बाईभ्यालन्ट’ खोप पठाइदिन खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग अनुरोध गरिएको अधिकारीहरूको भनाइ छ।

“सुरक्षित हुनका लागि खोपको विकल्प छैन भन्ने हाम्रो पुरानै मान्यता कायम छ। र त्यसका लागि कोभिड खोप कार्यक्रम जारी नै छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुर भन्छन्।

“नयाँ-नयाँ भ्यारिअन्ट आउँछन्। अब खोपको तेस्रो मात्रा खोप नलाउँदा पहिलेका मात्राले 'हर्ड इम्यूनिटी' कायम नरहन सक्छ।”

चीनमा फैलिएको ओमिक्रोनको सबभेरिअन्ट बीएफ.७ भारतमा पनि देखा परेपछि केही साताअघि नेपाल सरकारले "जोखिम उत्पन्न भएको" भन्दै सर्वसाधारण नागरिकलाई सजग गराएको थियो।

तर अहिलेसम्म कोरोनाभाइरसको उक्त प्रकार नेपालमा देखा परेको पुष्टि भइसकेको छैन।

red line
red line

कोभिड खोप दिन थालिएको दुई वर्ष

नेपालमा दुई वर्षअघि अर्थात् सन् २०२१ को ज्यानुअरीबाट कोभिड खोप वितरण गर्न थालिएको हो।

छ महिनापछि खोपले विकास गराउने रोग प्रतिरोध क्षमता क्षीण हुँदै जाँदा 'हर्ड इम्यूनिटी' अर्थात् सामुदायिक रूपमा प्राप्त हुने प्रतिरोध क्षमता पनि घट्दै जाने विज्ञहरू बताउँछन्।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले पहिलो र दोस्रो मात्रा खोप ‘बहुसङ्ख्यक मानिसहरूले लगाइसकेका र बाँकीका लागि अन्य खोपहरू उपलब्ध रहेकाले’ अबको जोड बूस्टर खोप लगाउनुमा हुने बताए।

नेपालमा कोभिड

झन्डै चार महिनाअघि सार्वजनिक गरिएको सरकारी विवरणअनुसार लक्षित उमेर समूह अर्थात् १२ वर्ष र माथिल्लो उमेर समूहमा झन्डै ९६ प्रतिशतले कोभिड खोप लगाएका छन्।

“बागमती प्रदेशका १० जिल्लाका लागि भनेर काठमाण्डूमा खोप छ। अन्यत्रबाट माग आएमा सोहीअनुसार व्यवस्था हुन्छ,” विभागका डा. चौरसिया भन्छन्।

“हामीकहाँ कोभिडको प्रकोप घट्दै जाँदा बूस्टर लगाउन पनि मानिसहरूको रुचि कम भएको देख्यौँ। त्यसैले मगाएर राख्दा नष्ट हुने अवस्था समेत विगतमा देखा पर्‍यो। अहिले पनि मगाएर राख्दैनौँ।”

red line
red line

'रुचि कम'

गाभीमार्फत् पहिलो खेपमा आउने १५ लाख मात्रा खोप अनुदानमा आउनेछ। त्यसप्रति सर्वसाधारणहरूको रुचि हेरेर मात्रा थप १५ लाख मात्रा खोप मगाइने योजना सरकारको छ।

“बाह्र वर्षमाथिको सबै उमेर समूहका लागि बूस्टरका रूपमा लगाउन मिल्ने र तेस्रो मात्रा लगाएको छ महिना नाघेकाको हकमा अब आउने खोप लगाउन दिइनेछ,” डा. चौ‍रसियाको भनाइ छ।

स्वास्थ्य मन्त्रालयले थप खोपका लागि बजेट अभाव नरहेको भन्दै बूस्टर मात्रा लगाउन सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुर भन्छन्, “अब आउने खोप ओमिक्रोन भेरिअन्टका लागि लक्षित गरिएको तथा बूस्टरका रूपमा राम्ररी काम गर्ने बाईभ्यालन्ट खोप हो।”

नेपालमा पूर्ण मात्रा लिनेको सङ्ख्या कुल जनसङ्ख्यामा ८२% जति हुनु राम्रो पक्ष मानिन्छ। तर बूस्टर खोप लगाउनेको प्रतिशत ३८ जतिमा सीमित भएकाले स्वास्थ्य अधिकारीहरू त्यसप्रति केही चिन्तित देखिन्छन्।

नेपालमा कोभिड खोप स्वैच्छिक रूपमा लगाइँदै आएको छ।

पूर्ण मात्रा खोप लिने मानिसमा १२ देखि १८ महिना एन्टिबडी (रोगप्रतिरोध क्षमता प्रदान गर्ने तत्त्व) कायम रहने वैज्ञानिक अनुसन्धानले देखाएको अधिकारीहरू बताउँछन्।

त्यसैले आफूलाई सुरक्षित राख्न यथासम्भव बूस्टर खोप लगाउन उनीहरूले सर्वसाधारणलाई सुझाव दिएका छन्।