चीनमा फैलिरहेको सबभेरिअन्ट भारतमा पनि फेला पर्यो, नेपालमा कस्तो सतर्कता आवश्यक

तस्बिर स्रोत, EPA
चीनमा कोभिड-१९ को नयाँ लहर फैलाउने ओमिक्रोनको सबभेटिअन्ट बीएफ.७ भारतमा पनि देखा परेपछि नेपालमा समेत ‘जोखिम उत्पन्न भएको’ भन्दै सरकारले सजग गराएको छ।
भारतले कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरूबाट सबै नमुनाको जीनम सीक्वन्सिङ गर्न निर्देशन दिएको छ। भारतमा क्रिस्मस र नयाँ वर्षका बेला सङ्क्रमण फैलिन सक्ने भन्दै केन्द्रीय सरकारले राज्य सरकारहरूलाई कोभिड नियन्त्रण गर्न उपयुक्त कदम चाल्न निर्देशन दिएको छ।
नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले यतिखेर आफ्नो जोड कोभिडको बूस्टर अर्थात् अतिरिक्त मात्र लिने मानिसको सङ्ख्या बढाउनेमा रहेको बताएका छन्।
"पूर्ण मात्रा लिनेको सङ्ख्या कुल जनसङ्ख्यामा ८२ % जति हुनु नेपालको राम्रो पक्ष हो। तर बूस्टर खोप भने कम छ, ३८ % जतिले मात्र लिएका छन्," मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर भन्छन्।
"बूस्टर डोज नलिँदा जोखिम बढ्ने सम्भावना हुन्छ। पूर्ण मात्रा खोप लिनेहरूमा १२ देखि १८ महिना एन्टिबडी (रोगप्रतिरोध क्षमता प्रदान गर्ने तत्त्व) कायम रहने भनिँदै आएको छ।"
सरकारको कोभिड खोप कार्यक्रम कायमै रहेको बताउँदै उनले जनस्तरबाट हुने मागका आधारमा आवश्यक खोपको आपूर्ति बढाउँदै लगिने बताए।
यद्यपि पछिल्लो समय खोप लिने क्रम निकै सुस्त देखिएको उनी बताउँछन्।
नेपालमा बीएफ.७ 'भेटिएको छैन'

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
विगत एक महिनामा देशभरिबाट सङ्कलन गरिएका कोभिड सङ्क्रमितका जीन सीक्वन्सिङ गर्दा नेपालमा भने चीनमा धेरै फैलिएको सबभेरिअन्ट बीएफ.७ पुष्टि नभएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता डा. ठाकुर "चिन्तित हुनुपर्ने नभई पूर्वसावधानीका पुरानै उपायहरू पालना गर्नुपर्ने" बताउँछन्।
"जुनसुकै फरक स्वरूपमा आए पनि कोभिड सर्ने तरिका र यसका लक्षण धेरैजसो एकै हुन्, बच्ने तरिकाहरू समेत एकै हुन्," डा ठाकुर भन्छन्।
"अहिले गर्ने सबैभन्दा महत्त्वपूर्ण भनेको बूस्टर खोप लगाउनु, सामाजिक दूरी, निस्सङ्क्रमणका उपाय अपनाउनु नै हो। बूस्टर लगाएको पनि धेरै समय भएको भए मास्क नछुटाउनु राम्रो हुन्छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
बूस्टर खोप लगाउनेको सङ्ख्या "७०-८० प्रतिशत पुर्याउन सक्दाको अवस्था" सहज हुने भन्दै उनले आफूहरूले त्यसतर्फ सोचिरहेको दाबी गरे।
नेपालमा पुस ८ को नयाँ तथ्याङ्कअनुसार केवल १५ जनामा सक्रिय कोभिड छ।
बिहीवार मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा झन्डै १,२०० जनाको कोभिड परीक्षण भएको थियो।
तीमध्ये केवल एक जनामा मात्र सङ्क्रमण पुष्टि भएको थियो।
अन्यत्र कस्तो चासो र सतर्कता
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले चीनमा विकसित भइरहेको अवस्थाप्रति आफ्नो "उच्च चासो" रहेको बताएका थिए।
डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिडबाट मुक्त हुने रणनीति भनेको "खोप मात्र हुने" बताएका थिए।
नेपालको दक्षिणी छिमेकी भारतमा समेत बिहीवारको एउटा बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्य सरकारहरूलाई अक्सिजनका सिलिन्डर र भेन्टिलेटरसहितका अस्पतालका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए।
उनले आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेका थिए।
भारतमा गुजरात तीनवटा र उडिसामा एउटा नमुनामा बीएफ.७ नामको ओमिक्रोन सबभेरिअन्ट जुलाई र नोभेम्बरको बीचमा देखा परेको थियो।
ती सबै सङ्क्रमितहरू भाइरसमुक्त भइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।











