तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चार्ल्स शोभराज: एकपछि अर्को हत्यामा संलग्न भएका व्यक्तिलाई रिहा गर्दा खतरा नहुने निर्क्योल के आधारमा गरिन्छ
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी वर्ल्ड सर्भिस
"एकपछि अर्को अपराध गर्ने व्यक्तिलाई जेलबाट कहिल्यै पनि रिहा गर्नुहुँदैन," ८५ वर्षका अवकाशप्राप्त प्रहरी अधिकारी मधुकर झेंडेले भने।
सन् १९८६ मा भारतको गोवामा चार्ल्स शोभराज गिरफ्तार हुँदा सुरक्षाकर्मीको टोलीको नेतृत्व उनैले गरेका थिए।
सन् १९७५ मा नेपालको काठमाण्डूमा दुईजना पर्यटकहरूको हत्या गरेको अभियोगमा शोभराजले १९ वर्ष जेलमा बिताएका छन्।
तर सन् १९७० को दशकमा अन्य कैयौँ पर्यटकहरूको हत्या गरेको र फ्रान्सका पर्यटकहरू सवार एउटा बसका यात्रुहरूलाई विष खुवाएको आरोपमा उनले भारतमा पनि २० वर्ष जेलमा बिताएका थिए।
सन् १९७२ देखि सन् १९८२ सम्म २० भन्दा बढी हत्यामा उनी जोडिएका छन्।
अधिकांश मारिने 'हिप्पी ट्रेल'का लागि निस्किएका पश्चिमाहरू थिए जसलाई भारत र थाइल्यान्डमा लागूपदार्थ दिएर, धारिलो हतियारले हानेर, पिटेर वा जलाएर हत्या गरिएको थियो।
उनको अपराधलाई हालै बीबीसी र नेटफ्लिक्सले संयुक्त रूपमा निर्माण गरेको सिरिज द सर्पेन्टले धेरै जनासम्म पुर्याएको थियो।
तीन दिनअघि नेपालको सर्वोच्च अदालतले ७८ वर्षका फ्रान्सेली नागरिक शोभराजलाई उनको उमेर र असल चालचलनका कारण रिहा गर्ने आदेश दियो।
आफ्नो पछिल्लो ४० वर्षको अधिकांश समय जेलमा बिताएर शोभराज रिहा भइरहँदा झेंडेले बीबीसीलाई एकपछि अर्को हत्यामा संलग्न उनीजस्ता व्यक्ति भविष्यमा रिहा हुन नपाउन भन्ने सुनिश्चित गर्न थप कदमहरू चालिनुपर्ने बताए।
सिरीअल किलर भनिने 'शृङ्खलाबद्ध हत्या'मा दोषी ठहर भएका व्यक्तिहरूलाई रिहा गर्ने निर्णय कसरी गरिन्छ?
जघन्य अपराध
लामो समय जेलमा बिताएका व्यक्तिका वकिलहरूले आफ्नो पक्षका कैदीको उमेर, जेलमा बिताएको समय र खराब स्वास्थ्यको कारण देखाउँदै रिहाइका लागि माग गर्ने गर्छन्।
अधिकांश अवस्थामा अभियोजक र पीडितका परिवारले यसप्रति असहमति जनाउँछन्।
यस्तो संवेदनशील विषयमा कानुनविद्हरूमा समेत जघन्य प्रकृतिका कसुरमा दोषी ठहर भएका व्यक्तिलाई कहिले र कुन आधारमा रिहा गर्न सकिन्छ भन्नेमा एकमत पाइदैँन।
नेपालको सर्वोच्च अदालतले शोभराजलाई मुटुको रोगको निरन्तर उपचार गराइरहनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनलाई 'निरन्तर थुनामा राख्नु कैदीको मानवअधिकारको मापदण्ड अनुकूल नदेखिएको' फैसलामा उल्लेख गरेको एएफपी समाचार संस्थाले जनाएको छ।
तर झेंडे अदालतको आदेशबाट सन्तुष्ट छैनन्।
उनले भने, "मैले उनीजस्तो अपराधी देखेको छैन। उनले धेरै देशमा गरेर ४० भन्दा बढी महिलाको हत्या गरेको स्वीकार गरेका छन्।"
उनले थपे, "उनको विगतको अभिलेखले एउटा शैली देखाउँछ। उनले युवतीहरूसँग मित्रता गर्छन्, उनीहरूलाई आकर्षित गर्छन्, नशामा डुबाउँछन् र हत्या गर्छन्। उनी समाजको लागि खतरा हुन्।"
शोभराजलाई एकजना अमेरिकी महिला र उनका क्यानडाली साथीको हत्या गरेको अभियोगमा २० वर्ष सजाय तोकिएको थियो।
भारतको पुनेबाट कुरा गर्दै भारतीय पूर्व प्रहरी अधिकारीले आफूले गरेको अपराधअनुसार शोभराजले दु:ख झेल्नु नपरेको बताए।
उनले थपे, "मदिरा, धन, महिला आदि कारणले पुरुषले हत्या गर्छन्। यदि कुनै व्यक्तिले एक वा दुई हत्या गरेको छ भने लामो कारावासले उसलाई सुधार्न सक्छ।"
"तर सिरीअल किलरको हकमा यो हुँदैन। केही अपराधीहरू कहिल्यै पनि फेरिँदैनन्।"
'प्रतिशोध समाधान होइन'
तर मानवअधिकार रक्षकहरूले फौजदारी न्याय प्रणालीमा कैयौँ विकास देखा परेका र जस्तालाई त्यस्तै अवधारणाबाट पुरानो भइसकेको बताउँछन्।
नयाँ दिल्लीस्थित न्याश्नल ल युनिभर्सिटीका फौजदारी कानुन कार्यक्रमका प्राध्यापक एवं ३९ ए नामक परियोजना कार्यकारी निर्देशक अनुप सुरेन्द्रनाथले भने, "हामीले निश्चित अपराधमा दोषी ठहर भएका सबै व्यक्तिहरू कुनै पनि परिस्थितिमा जेलबाट रिहा हुनुहुँदैन भनेर तर्क गर्न मिल्दैन। सुधार र पुनर्स्थापनाको प्रतिबद्धतालाई गम्भीरतापूर्वक लिनुपर्छ।"
उनका अनुसार भारतमा अधिकांश अवस्थामा कठोर र लामो सजायका लागि दबाब दिने गरिन्छ।
उनले भने, "यो दुर्भाग्यपूर्ण अवस्था हो। हामीलाई थाहा छ कि हाम्रा बन्दीगृहहरूले उपयुक्त ढङ्गले सुधार र पुनर्स्थापनाका लागि सहजीकरण गर्दैनन्। तर हामी राज्यको विफलतालाई निश्चित अपराधमा सजाय पाएका व्यक्तिहरू रिहा गरिनुहुँदैन भनेर तर्क गर्न प्रयोग गरिरहेका छौँ।"
डाक्टर सुरेन्द्रनाथ दण्ड मात्रै न्यायको उपाय नभएको बताउँछन्।
"राज्य र समाजले पीडित र अपराधी दुवैलाई असफल बनाएको अवस्थामा एउटा अपराध हुन्छ। राज्यको जिम्मेवारी पीडित र कसुरदार दुवैप्रति हुन्छ र राज्यले पीडितको पीडालाई प्रतिशोधलाई निर्देशित हुने फौजदारी न्याय प्रणाली अवलम्बन गरेर मात्रै गर्न सक्दैन।"
'हामीले परिवारप्रति संवेदनशील हुनैपर्छ'
यूकेको नोटिङ्घम ट्रेन्ट युनिभर्सिटिकी मनोविज्ञानसम्बन्धी वरिष्ठ लेक्चरर सेरेना सिम्मोन्स शोभराजको हकमा उनी रिहा हुन नहुने बताउँछिन्।
"यो पूर्ण रूपमा पीडितका परिवारप्रतिको मानमर्दन हो। उनी स्पष्ट रूपमा खतरनाक व्यक्ति हुन्, जसले हत्यालाई आफ्नो करिअर बनाए र त्यसो गर्दा सन्तुष्टि प्राप्त गरे।"
सिमोन्सले एकपछि अर्को हत्यामा संलग्न भएका धेरै 'सिरीअल किलर'को मानसिक अवस्था बारेमा अध्ययन गरेकी छन्।
"यस्ता सिरीअल किलरहरू पुरुष हुन्छन् र उनीहरूको उमेर औसतमा २३ देखि ३५ वर्ष हुन्छ। उनीहरू ज्यादै तीक्ष्ण हुन्छन्। पीडितहरूलाई आकर्षित गर्न निश्चित प्रकारको गुण आवश्यक पर्छ। त्यसका लागि सिरीअल किलरहरू आफ्नो शैलीमा उत्कृष्ट हुन्छ र पीडितहरूलाई आफूतर्फ आकर्षित गर्न झन् झन् सफल हुन्छन्।"
उसो भए के सिरीअल किलरहरूलाई कहिल्यै रिहा गर्नु हुँदैन?
सिमन्सका अनुसार एकपछि अर्को हत्यामा संलग्न व्यक्तिहरूको रिहाइ गर्दा चारवटा कुरामा ध्यान दिनुपर्छ:
- त्यहाँ कति पीडित थिए?
- त्यहाँ कुनै यौन अपराधको प्रमाण थियो?
- हत्याको योजना र सङ्गठनमा कति शक्ति प्रयोग गरिएको थियो? उनीहरूले आफ्ना कदम लुकाउन वा प्रमाण नष्ट गर्न कतिको प्रयास गरे?
- के मानसिक स्वास्थ्य समस्याको कुनै प्रमाण छ?
सिमन्सका अनुसार माफी दिनुअघि फौजदारी न्यायप्रणाली ज्यादै सचेत हुनुपर्छ।
उनले थपिन्, "सिरीअल किलरहरू जटिल प्रकृतिका हुन्छन् र ज्यादै खतरनाक हुन्छन्। उनीहरूमा हत्या गर्ने गम्भीर खालको हुटहुटी हुन्छ।"
त्यस्ता अपराधीहरूले राम्रोसँग योजना बुनेर काम गर्ने र उनीहरू आफ्नो कसुर लुकाउन सिपालु हुने भन्दै उनले समुदायमा उनीहरूलाई फर्काउन सुरक्षित हुने आफूलाई नलाग्ने बताइन्।
उनले त्यस्ता व्यक्तिहरूमा फेरि हत्या गर्ने भावना आउनसक्ने भन्दै आफूले गरेका अपराधबारे उनीहरूमा पश्चात्ताप नहुने तर्क गरिन्।
उनले भनिन्, "मात्रै उनीहरूमा आफू पक्राउ परेकोमा पश्चात्ताप हुने गर्छ।"
यूकेमा सिरीअल किलरहरूलाई आजीवन जेल सजाय दिने गरिन्छ जसको अर्थ उनीहरू कहिल्यै पनि रिहा हुँदैनन्।
तर सिमन्सका अनुसार धेरै देशहरूमा उनीहरू रिहा हुनसक्छन् किनभने आफूले गरेका प्रत्येक अपराधमा उनीहरूलाई सजाय दिइदैँन।
उनीहरूका अपराधमध्ये केही मात्र सुनवाइको चरणमा पुग्छन् र कतिमा प्रमाणको अभाव र बलियो कानुनी प्रतिरक्षाका कारण उनीहरू रिहा हुने गरेको पाइन्छ।
झेंडे वृद्धावस्था वा स्वास्थ्यका कारण यस्ता अपराधीहरू जेलबाट रिहा हुने अवस्था नआउने गरी भारत र अन्य देशहरूले फौजदारी न्याय प्रणालीमा परिवर्तन गर्नुपर्ने बताउँछन्।
"म पीडितका परिवारको भावना महसुस गर्छु। हामीले शोभराजजस्ता एकपछि अर्को हत्या गर्ने व्यक्ति कहिल्यै पनि जेलबाट नछुट्ने कुरा सुनिश्चित गर्नुपर्छ।"
"जेलमा राख्ने समयको सीमा तोकिनु हुन्न। मृत्यु नभएसम्म जीवनभर जेलमा नै राख्नु सही सजाय हो।"