सिङ्गापुर रोजगारी: गर्भवती परिचारिकाको रोजगारी खोस्ने वायुसेवा प्रदायकको त्यो नियम

    • Author, एनाबेल लियाङ
    • Role, बीबीसी न्यूज

 ''उडान गराउनु मैले गरेको पहिलो काम थियो। त्यस कारण मसँग अन्य क्षेत्रसँग तुलना गर्ने कुनै आधार थिएन। यो नियम सबैमा लागु हुने भएकाले के म माथि विभेद भएको छ? भन्ने विषयबारे मैले धेरै सोचिनँ।''

आफू गर्भवती भएको थाहा पाएसँगै क्लारा फुको खुसी एक छिनमा चिन्तामा बदलियो। 

सिङ्गापुर एअरलाइन्सकी पूर्व विमान परिचारिकालाई अब जागिर छोड्नुपर्ने हुन्छ भन्ने कुरा थाहा थियो।

कम्पनीको नियमअनुसार गर्भवती विमान परिचारिकाले पहिलो तीन महिनाको अन्त्यसम्ममा राजीनामा गर्नुपर्ने हुन्थ्यो।

केही समयपछि उनले फेरि पुरानै जागिर पाइन्। तर उनले फेरि आफू गर्भवती भएको थाहा पाइन्। 

आम्दानी गर्ने परिवारको एक मात्रै सदस्य भएकाले जागिर छोड्न सक्ने आफ्नो अवस्था नभएको फुले बीबीसीलाई बताइन्।

त्यसै कारण उनले आफू गर्भवती भएको कुरा लुकाइन् र पाँच महिनासम्म उडानका क्रममा आफ्नो काम जारी राखिन्।

एकजना यात्रुले उनको पेट देखेपछि मात्रै राजीनामा गरिन्।

"त्यस्तो गर्न निकै गाह्रो थियो। मैले सकुन्जेल सामान्य रूपमै काम गरे,'' फु भन्छिन्।

आधा शताब्दी देखि लागु रहेको त्यस्तो नियम गत जुलाईमा सिङ्गापुर एअरलाइन्सले हटाएको छ।

सिङ्गापुरमा भेदभावविरोधी कानुन नभएकाले यस्तो व्यवस्था कानुन अनुरूप नै रहेको सीमन्स एन्ड सीमन्स ल फर्मका क्लरेन्स डिङले बीबीसीलाई बताए।

''तर यसको अर्थ सिङ्गापुर एअरलाइन्सको नीतिमा कुनै समस्या छैन भन्ने भने होइन। [सिङ्गापुरको श्रमसम्बन्धी नियम] मा रोजगारदाताले 'फेयर इम्प्लोइमेन्ट प्रयाक्टिस' लागु गर्नुपर्ने उल्लेख छ,'' उनले थपे।

डिङका अनुसार उक्त नीतिले कानुनका रूपमा मान्यता भने प्राप्त गर्दछन् र उक्त नीति पालना नगर्दा कुनै किसिमको जरिवाना पनि तोकिएको छैन।

जनशक्तिसम्बन्धी मामिला हेर्ने मन्त्रालय मिनिस्ट्री अफ म्यानपावरले सबै रोजगारदाताले उक्त नीति पालना गर्नुपर्ने भन्दै ताकेता गर्ने गरेका कारण मात्रै कम्पनीहरूले यो नियमको पालना गर्ने डिङ बताउँछन्।

सिङ्गापुर एअरलाइन्स (एसआईए) ले पछिल्लो परिवर्तनको कुनै कारण दिएको छैन।

तर कोभिड महामारीका बेला सामूहिक रूपमा कर्मचारी कटौती गरेका कारण विश्वभर वायुसेवा प्रदायकहरूले कर्मचारी सङ्ख्या पूर्तिमा समस्या खेपिरहेको अवस्था देखिन्छ। 

नयाँ नियमअनुसार गर्भवती परिचारिकाहरूले जन्म दिएपछि पुरानै भूमिकामा फर्किने गरी नौ महिनासम्म कम्पनीकै अन्य शाखामा काम गर्नका लागि आवेदन दिन पाउँछन्।

लामो समयसम्म कायम राखिएको नियम

आधा शताब्दीअघि स्थापना हुँदादेखि नै एसआईएमा चालक दलका सदस्य (परिचारिका) को भूमिका महत्त्वपूर्ण मानिन्छ।

''सिङ्गापुर गर्ल'' का रूपमा प्रवर्धन गरिएका उनीहरू दक्षिण पूर्वी एशियाका केही क्षेत्रमा महिलाले लगाउने परम्परागत पोसाकको एक प्रकार पेरानेकनमा सजिएका हुन्छन्।

परिचारिकाहरूको उक्त पोसाक फ्रान्सेली डिजाइनर पिएर बाल्मेनले तयार पारेका हुन्।

कम्पनीमा काम सुरु गरेका नयाँ कर्मचारीले आफूलाई कसरी प्रस्तुत गर्ने, खाना तयार पार्ने अनि आपत्कालीन अवस्थामा प्रतिक्रिया जनाउने लगायतका विषयमा १४ हप्ता लामो तालिम लिनुपर्ने हुन्छ।

सन् १९८० को दशकमा एसआईएमा काम गरेकी एलिजाबेथ लोका अनुसार कम्पनीमा परिचारिकाका रूपमा काम गर्ने धेरैले विशेषाधिकार प्राप्त महसुस गर्थे।

''गर्भवती हुने विकल्प कसैका लागि पनि थिएन। यसबारे सबै जानकार रहेकाले कसैले त्यसो गरेनन्। कि त तपाइँले आफ्नो पारिवारिक जीवन त्याग गर्नुपर्छ वा करिअर,'' उनले थपिन्।

सन् २०११ मा काम गरेको दुई वर्षभन्दा कम समयमा गर्भवती भएका कारण यास्ली होङ्गले एसआईए छाडिन्।

सुरक्षाका लागि गर्भवती महिलालाई उडान भर्नबाट रोक्नुपर्ने उनको विश्वास रहे पनि कम्पनीमा बस्ने विकल्प दिइएको भए हुन्थ्यो भन्ने उनको चाहना छ।

'विभेदकारी र लिङ्गभेदी'

सिङ्गापुरको एसोसिएसन फर विमिन फर याक्सन एन्ड रिसर्च (अबेर) ले यस्तो चलनबारे एक दशकभन्दा लामो समयदेखि आवाज उठाउँदै आएको छ।

आफूहरूले काम छोड्न बाध्य पारिएका परिचारिकाहरूबाट गुनासो प्राप्त गरेको उक्त समूहले जनाएको छ।

''गर्भवती हुँदा राजीनामा गर्नुपर्ने एसआईएको नियम अस्वीकार्य थियो। यो विभेदकारी अनि लिङ्गभेदी थियो,'' अबेरका कार्यकारी निर्देशक कोरीना लीमले बीबीसीसँग भनिन्। 

''यो कसैगरी कानुनी रूपमा स्वीकार्य भए पनि गर्भवतीहरूको रक्षार्थ बनाइएको कानुनको मर्म विपरीत छ।

सिङ्गापुरमा विद्यमान उक्त कानुनले आमाहरूलाई काममा लागि पर्न अनि जीविकोपार्जनमा सहयोगी भूमिका निर्वाह गर्छ,'' उनले थपिन्।

सन् २०१० मा एसआईएले कडा काम हुने भएकाले उडान भर्ने सबै कर्मचारी शारीरिक रूपमा चुस्त हुनुपर्ने हुँदा गर्भवती महिलाले राजीनामा गर्नुपर्ने तर्क गरेको थियो।

"जिम्मेवार रोजगारदाताको हैसियतले हामी गर्भवती परिचारिका र उनीहरूको गर्भमा रहेका शिशुको शारीरिक स्वास्थ्यमा सम्झौता गर्ने बारे सोच्न सक्दैनौ," स्ट्रेट्स टाइम्स अखबारमा प्रकाशित प्रतिक्रियामा सिङ्गापुर एअरलाइन्सले भनेको छ।

"हाम्रा चालक दल सदस्य स्थायी नभएर पाँच वर्षका लागि अनुबन्धनमा हुन्छन्। र, यो माथि उल्लेखित कारणहरूले गर्दा गर्भावस्थाको पहिलो त्रैमासिक पछि महिला चालक दलका सदस्यको रोजगारी बन्द गरिन्छ," प्रतिक्रियामा कम्पनीले थपेको छ।

द इन्टरन्याशनल एअर ट्रान्सक्रिप्ट एसोसिएसनले ''यी निश्चित कम्पनीको मानव संसाधन नीति अन्तर्गत रहेका कारण'' आफूहरूको कुनै सुझाव नरहेको बीबीसीलाई बताएको छ।

अन्य प्रमुख वायु सेवा प्रदायकले भने गर्भवती चालक दलका सदस्यले राजीनामा गर्नुपर्ने नियम लागु गरेका छैनन्।

ब्रिटिस एअरवेज, कतार एअरवेज र क्वान्टसमा काम गर्ने गर्भवती महिलाले उडानको साटो अन्य काम गर्न पाउने व्यवस्था छ।

त्यस्तै हङ्कङ्को क्याथे प्यासेफिकमा कार्यरत महिलाहरूले त्यस्तो अवस्थामा ''कम्पनीमै अन्य काम गर्न पाउने वा वैधानिक रूपमा सुत्केरी बिदा सुरु नहुँदासम्म बेतलबी बिदा लिन पाउने प्रावधान छ।''

परिचारिकाहरूको शारीरिक अवस्थासम्बन्धी एसआईएको प्रावधानबाट लीम अझै चिन्तित छन् जसमा बडी मास इन्डेक्स (बीएमआई) सम्बन्धी तोकिएको व्यवस्था पनि पर्छ।

यस्तो प्रावधानले ''काममा फर्कन चाहने आमा वा अन्य जोकोहीलाई अवसरबाट विमुख गर्न सक्ने'' उनको बुझाइ छ।

एसआईएले प्रतिक्रिया जनाउँदै आफूहरूले ''सबै चालक दलका सदस्यका लागि वृत्तिविकास मापदण्ड" कायम गरेको जनाएको छ।

बदलिँदो समय

सन् २०२१ मा सिङ्गापुरका प्रधानमन्त्री ली सियान लुङले कार्यस्थलमा हुने भेदभावलाई नियमन गर्ने सहरको निर्देशिकालाई कानुनको रूप दिने योजना बनाइएको बताएका थिए।

''सैद्धान्तिक रूपमा नीतिहरूलाई कानुनमा परिणत गर्नु प्रमुख कदम हो। यसले हामीले कार्यस्थलमा हुने भेदभाव सहन गर्दैनौ भन्ने सङ्केत गर्छ,'' लीले भनेका थिए।

उनले लिङ्ग, राष्ट्रियता, उमेर, वर्ण, धर्म र अपाङ्गताका आधारमा हुने भेदभावलाई सम्बोधन गर्न न्यायाधिकरण गठन गरिने बताए।

हाल फार्मास्युटिकल उद्योगमा कार्यरत फु यो परिवर्तनलाई स्वागत गर्छिन्।

प्रत्येक पाँच वर्षमा एसआईएले आफ्ना कर्मचारीलाई दिने झन्डै ११,००० अमेरिकी डलर बराबरको प्रोत्साहन भत्ता गर्भवती भएकै कारण आफूले नपाएको उनी बताउँछिन्।

''मेरा अभिभावक अनि सासू-ससुरा सहयोगी भएकाले म आफूलाई भाग्यमानी महसुस गर्छु। त्यस्तो नभएको भए निकै कठिन हुने थियो,'' फुले भनिन्।

''राष्ट्रिय ध्वजावाहकका रूपमा एसआईएले साँच्चै महिला अनि तीनका परिवारलाई सहयोग गर्नुपर्छ। थप साथ समर्थन भएको भए मैले त्यहीँ काम गर्थे होला।''