तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रतिनिधिसभातर्फ सुदूरपश्चिममा माओवादी र कर्णाली प्रदेशमा एमाले 'शून्य', कांग्रेस पहिलो
- Author, प्रकाश पन्त
- Role, बीबीसी न्यूज नेपाली, सूर्खेत
प्रतिनिधिसभा अन्तर्गत सूदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा क्रमश: नेकपा माओवादी केन्द्र र नेकपा एमालेले खराब परिणाम ल्याएका छन्।
विसं २०७४ सालको निर्वाचनका क्रममा प्रदेश र प्रतिनिधिसभा दुवैमा कर्णाली प्रदेशबाट नेकपा एमाले पहिलो पार्टी बनेको थियो।
त्यसबेला उसले प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १२ मध्ये ६ सिट र प्रदेश सभाका २४ मध्ये १४ सिट जितेको थियो।
तर यसपालि भने प्रदेशसभामा मुस्किलले ५ सिट जिते पनि एमाले प्रतिनिधिसभामा शून्य भएको छ।
कर्णालीमा कांग्रेसले पाएको सफलता
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको कांग्रेस भने पहिलो पार्टी बन्न सफल भएको छ।
अघिल्लो चुनावमा कर्णाली प्रदेशमा कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुनै पनि सिट जितेको थिएन।
उसले प्रदेश सभामा प्रत्यक्षतर्फ एक मात्र सिट जितेको थियो।
यसपालि उसले प्रतिनिधिसभामा ४ र प्रदेश सभामा ९ सिट जितेको छ।
कांग्रेसले सुर्खेत क्षेत्र नम्बर १ र २ तथा दैलेख क्षेत्र नम्बर २ र मुगु जितेको छ।
विसं २०७४ सालमा प्रदेशसभामा ९ सिट र प्रतिनिधिसभा सभामा ५ सिट जितेको माओवादीले यस पटक आफ्नो प्रभाव कायमै राखेको छ।
सो दलले प्रदेश सभामा ९ र प्रतिनिधिसभामा ४ सिट हात पारेको छ।
गठबन्धनमा माओवादीको भागमा परेको जुम्ला भने राप्रपाले खोसेको छ।
परम्परागत रूपमै माधवकुमार नेपाल निकट नेताहरूको प्रभाव क्षेत्र मानिने कर्णालीमा आफ्नो भागमा परेका ३ वटै क्षेत्र जोगाउन नेकपा एकीकृत समाजवादी पार्टी सफल भएको छ।
एमालेबाट फुटेर गठन भएको सो दलले पहिलो पटक आम चुनाव लडेको हो।
सल्यान, डोल्पा र दैलेख क्षेत्र नम्बर १ बाट समाजवादीका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
दैलेखमा झिनो मतान्तरले पछि परेपनि अरू जिल्लामा भने एमालेका उम्मेदवारहरू फराकिलो मतान्तरले पराजित भएका छन्।
सुदूरपश्चिममा माओवादीलाई क्षति
कर्णालीमा जस्तै सुदूरपश्चिम प्रदेशमा पनि एमालेले नराम्रो पराजय भोगेको छ।
२०७४ मा प्रतिनिधिसभा सभामा ११ सिट जितेको एमाले यसपालि २ सिटमा खुम्चिन पुग्यो। एमालेले कञ्चनपुर १ र बैतडीमा जितेको छ।
बाम गठबन्धन गर्दा अघिल्लो पटक प्रतिनिधिसभामा ३ सिट जितेको माओवादी केन्द्र भने यसपालि सुदूरपश्चिम प्रदेशमा शून्यमा झरेको छ।
प्रतिनिधिसभामा कैलाली २ र ३, कञ्चनपुर १ र बैतडीबाट लडेका माओवादी उम्मेदवार पराजित भएका छन्।
र प्रदेश सभामा भने माओवादीले ८ सिट जितेको छ।
कर्णाली र सुदूरपश्चिममा अघिल्लो पटक तेस्रो स्थानमा रहेको कांग्रेस यसपालि पहिलो भएको छ।
अघिल्लो चुनावमा प्रतिनिधिसभा सभामा एक मात्र सिट जितेको कांग्रेसले यसपालि कम्तीमा ७ सिट जितेको छ।
कैलाली १ मा पराजित भएपनि कांग्रेसले डडेलधुरा, कैलाली ४ र ५, कञ्चनपुर २ र ३, दार्चुला र अछाम २ मा जितेको छ।
बाजुराको नतिजा भने आउन बाँकी छ।
डोटी, बझाङ र अछाम १ आफ्नो भागबन्डामा पाएको समाजवादीले सबै क्षेत्र जितेको छ।
झण्डै १० महिना अघि खुलेको नागरिक उन्मुक्ति पार्टीले थारु समुदायको बाहुल्यता रहेको कैलालीका तीन क्षेत्र जित्न सफल भएको छ।
प्रदेश सभा तर्फ कांग्रेसले सबैभन्दा बढी ११, नागरिक उन्मुक्ति पार्टीले ५, नेकपा एमालेले ३, समाजवादी पार्टीले २ सिट जितेका छन्। डडेलधुराको एक प्रदेशसभा सिट स्वतन्त्र उठेका तारा जोशीले जितेका छन्।
दुई ठूला पार्टी एक हुँदा अर्को पार्टी पछि पर्नु स्वभाविक भएको राजनीतिक विश्लेषकहरु बताउँछन्।
विश्लेषकहरू यसो भन्छन्
मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा.अर्जुन अयडी सुदूरपश्चिम र कर्णाली प्रदेशका मतदाताहरूले ठूला पार्टीसँगको आबद्धता नछाडेले ठूला पार्टी एक हुँदा पहिला कांग्रेस र अहिले एमालेको अवस्था कमजोर भएको बताउँछन्।
"यो अवस्था भने सधैँ रहँदैन," उनी भन्छन्, "नेताहरूको अझै पनि चेत खुलेन भने भोलिका दिनमा यो भन्दा थप सङ्कट आउन सक्छ।"
पत्रकार डीआर पन्त सत्ताधारी दलहरूबीचको गठबन्धन, एमालेको विभाजन र अन्तर्द्वन्द्वको कारण सुदूरपश्चिममा एमालेले पराजय भोगेको बताउँछन्।
प्रदेश सभामा ८ सिट जिते पनि प्रतिनिधिसभा सभामा भने कांग्रेसको भोट 'ट्रान्स्फर' नहुनु, नागरिक उन्मुक्ति पार्टीको प्रभाव क्षेत्र भाग पर्नु र कमजोर उम्मेदवार उठाउनु जस्ता कारणले माओवादीले पनि राम्रो प्रदर्शन गर्न नसकेको पन्तले बताए।
माओवादीको सङ्गठन नै कमजोर रहेको बैतडीमा कांग्रेसका पुराना नेता केशव चन्दा बागी उठ्दा माओवादी उम्मेदवारले पराजय भोग्नु परेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि असन्तुष्ट रहेका भीम रावल निकटका धेरै नेता कार्यकर्ताले पनि एमालेका उम्मेदवारलाई यसपालि भोट नहालेको तर्क उनीहरूको छ।