नेपाल निर्वाचन: मनीषा कोइराला राप्रपाको चुनावी अभियानमा, बीपीसँग नाम जोड्नु उचित हो?

मनीषा कोइराला

तस्बिर स्रोत, RSS

नब्बेको दशकका चर्चित हिन्दी चलचित्रहरूमा काम गरेर मनीषा कोइराला बलिवूडमा स्थापित भइन्। उनी एक कुशल अभिनेत्रीको रूपमा चिनिइन्।

यद्यपि, उनको परिचयसँग प्राय: जोडिएर आउने फुर्को बन्यो- नेपाली कांग्रेससँगको पारिवारिक विरासत।

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी भएपनि उनले धेरैपछिसम्म आफ्नो राजनीतिक विचारधारा अभिव्यक्त गरेकी थिइनन्।

आसन्न निर्वाचनको प्रचारप्रसार तीव्र भइरहँदा कोइराला शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पक्षमा चुनावी अभियानमा सहभागी भइन्।

राजधानीको वसन्तपुरमा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै मनीषाले बीपी कोइरालाको पनि नाम लिइन्।

"अरूले बिर्सिए होलान् तर राजेन्द्रजीले बिर्सिनुभएको छैन बीपीबा लाई," कोइरालाले भनिन्।

राजेन्द्र लिङ्देनको भ्रस्टाचार नगर्ने नीतिबाट प्रभावित भएर आफू चुनावी अभियानमा सहभागी भएको बताइन्।

बीपीले पनि राजासँग मेलमिलापको नीति लिएको स्मरण गर्दै उनले राजासँग सहकार्य गर्ने मौका आएको दाबी गरिन्। ‍

त्यसअघि बिहीवार उनले ट्विटरमार्फत् आफ्नो व्यस्तताका बावजुद "राजेन्द्र लिङ्देनजस्तो युवा, प्रगतिशील तथा दूरदर्शी नेता"को साथमा उभिने घोषणा गरेकी थिइन्।

उनले लेखेकी छन्,"राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतप्रति उनको बुझाइका कारण उनी देशका अन्य समकालीन राजनीतिज्ञहरू भन्दा फरक छन्।"

आफू राजनीतिमा र राष्ट्रिय कर्तव्यप्रति बीपी कोइरालाबाट प्रेरित भए पनि देशको संरक्षणका लागि "राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिने" विचार मनीषाले अघि सारेकी छिन्।

मनीषा राप्रपामा खुलेपछि के प्रतिक्रिया आए

उनको ट्विट सार्वजनिक भएपछि उनीमाथि प्रश्न सोझिएका छन् र उनको अभिव्यक्तिको विरोधमा टिकाटिप्पणी भएका छन्।

ट्विटर प्रयोगकर्ता मातृका पौडेलले "प्रजातन्त्र ल्याउन जीवन लगाएका पुर्खाको सन्तानले राजतन्त्रको समर्थन" गर्नु माथि प्रश्न गरेका छन्।

बीपी कोइरालासँग बाल्य अवस्थामा मनीषा

तस्बिर स्रोत, KOIRALA FAMILY

तस्बिरको क्याप्शन, भारतको बनारसस्थित सारनाथमा बीपी कोइरालासँग बाल्य अवस्थामा मनीषा

नेपाली कांग्रेसले "बीपीको नीति र सिद्धान्त सबै त्यागेकाले उनका सन्तानहरू लाखापाखा लागेको" विचार राखेका छन् लेखक बद्री विनोद खनालले।

पेशल पोखरेल नाम गरेका ट्विटर प्रयोगकर्ताले, राप्रपालाई समर्थन जनाएकै कारण "मनीषा कोइरालालाई हरेक वर्ष गाली वर्षन सक्ने" अनुमान गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

केहीले भने उनलाई समर्थन जनाएका छन्। साधक अमर नाम गरेका व्यक्तिले "कांग्रेसले प्रचण्डपथ बोकेर हिँडेपछी बीपी मार्गलाई जोगाउन उनकी नातिनीले राप्रपालाई समर्थन गरेको" धारणा राखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

कुनै राजनीतिक दलको लागि खुलेर मत मागेको यो पहिलो पटक भए पनि उनले यसअघि पनि आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधर रहेको सङ्केत गरेकी थिइन्।

गत वर्ष पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा आयोजित एक कार्यक्रमको अवसरमा छापिएको प्रचार सामग्रीमा उनको पनि नाम र हस्ताक्षर समावेश थियो।

उक्त पत्रलाई आफ्नो सामाजिक सञ्जालमार्फत् साझा गर्दै उनले लेखेकी थिइन्: "आउनुहोस् राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि पृथ्वीनारायण शाहप्रति कृतज्ञता र श्रद्धाञ्जली अर्पण गरौँ।"

कतिपयले मनीषाको त्यस अपील पृथ्वी जयन्तीलाई राष्ट्रिय मान्यता दिने अभियानको अंश भएको विश्लेषण गरेका थिए।

'व्यक्तिगत स्वतन्त्रता हो'

यसरी घोषित रूपमै कुनै राजनीतिक दलको समर्थन गर्नु वा त्यसमा आवद्ध हुनु हरेक मानिसको स्वतन्त्रता र अधिकारको विषय भएको बताउँछन् राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम।

कुनै व्यक्तिले पारिवारिक दबाव वा प्रभावमा आएर विचार बनाउनुभन्दा आफ्नो रोजाइ अनुरूप पक्षधरता लिन पाउने उनको तर्क छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो निर्वाचनमा तपाईँ मत खसाल्न पाउनुहुन्छ कि हुन्न?

"मनीषा कोइराला एक व्यक्ति हो। उहाँले आफ्नो विवेक र स्वेच्छाले राप्रपालाई समर्थन जनाउनु भएको हो। यसमा विरोध जनाउनु पर्ने कुनै कारण नै छैन," उनले बीबीसीसँग भने।

उनले एक मानिसको अर्कोसँग वा कुनै दलसँग विचार मिल्दैन भन्दैमा त्यसका समर्थकहरूलाई गाली वा विरोध गर्नु उचित नभएको बताए।

"आज उहाँ घोषित रूपमा राप्रपा पक्षधर हुनुहुन्छ। अर्को चुनावमा कांग्रेसमा आए पनि केही गलत हुँदैन। किनकि उहाँ एक व्यक्ति हो।"

सैद्धान्तिक आधार बनाएको संस्थाभित्र रहेर त्यसको सिद्धान्त विपरीत मुद्दा उठाउनु भने गलत हुने उनको विचार छ।

मनीषा कोइराला नेपाली कांग्रेसको 'लिगेसी' बोकेको परिवारकी हुनुलाई नै कतिपयले उनीविरुद्ध आलोचनाको आधार बनाएका छन्।

यद्यपि, उनका बुवा प्रकाश कोइरालाले पनि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्ने बताइन्छ। त्यस्तै उनका काका शंशाक कोइरालाले पनि नेपाली कांग्रेसभित्रै रहेर हिन्दु राष्ट्रको विषयमा मत राख्दै आएका छन्।

विश्लेषक गौतम भन्छन्,"कांग्रेस संस्थागत हिसाबले नै विचलित भएको छ। दलका मानिसहरू चाहे त्यो कोइराला परिवारका हुन् वा गणेशमान सिंहका सन्तान, उनीहरू माओवादीलाई भोट मागिरहेका छन्। यो मिल्ने कुरा हो?"

सिद्धान्त विपरीत गतिविधिहरू भएको अवस्थामा दलले प्रश्न गर्नु पर्ने उनको धारण छ।

"हिन्दु राष्ट्रको मुद्दा पार्टीले उठाएको छैन भने प्रश्न गर्नु पर्‍यो। होइन भने महाधिवेशन वा महासमितिमार्फत् त्यो मुद्दा बोक्नु पर्‍यो। तर एउटा व्यक्तिको राजनीतिक एवं वैचारिक रोजाइलाई अन्यथा लिनु भएन।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, जान्नुहोस् तपाईँको मतको महत्त्व, यसरी चुनिनेछन् प्रतिनिधि र प्रदेशसभा