नेपाल: दुर्घटनापछि प्याराग्लाइडिङबारे सुरक्षा चिन्ता

पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा भएको प्याराग्लाइडिङ दुर्घटनामा परी एकजना खेलाडीको निधन भएपछि प्याराग्लाइडिङ उडान सुरक्षा राष्ट्रिय चिन्ता र चासोको विषय बनेको छ।

सफा मौसमका बाबजुद अप्रत्याशित रूपमा भएको प्याराग्लाइडिङ दुर्घटनापश्चात् मूलत: उडान सुरक्षाको जिम्मेदार निकाय नागरिक उड्डयन प्राधिकरणले हतारहतार अर्को व्यवस्था नहुँदासम्मका लागि प्याराग्लाइडिङको मनोरञ्जनात्मक व्यावसायिक तथा खेलकुदजन्य गतिविधिमाथि देशभरि नै रोक लगाएको प्राधिकरणका प्रवक्ताले बताएका छन्।

तर पोखराका प्याराग्लाइडिङ व्यवसायीहरूले चाहिँ प्राधिकरणको रोक लगाउने कदमको विरोध गरेका छन्।

प्याराग्लाइडिङको दुर्घटना बढ्दो

पोखरामा प्याराग्लाइडिङको उडान सुरु भएको करिब पच्चिस वर्ष भएको छ।

यो अवधिमा कहिले मानिसको ज्यानै जाने गरी त कहिले घाइते हुने गरी पोखराको आकाशमा भइरहेका दुर्घटना नियमित आकस्मिकता बनेका छन्।

यसअघि चैत २०७७ मा नेपाली सेनाका एक जवानको प्याराग्लाइडिङ प्रशिक्षणको क्रममा निधन भएको भनी नेपाली सेनाले आधिकारिक जानकारी गराएको थियो। दुखद संयोग भनौँ पछिल्लो दुर्घटनामा पनि नेपाली सेनाका कुशल खेलाडीले ज्यान गुमाएको कास्की प्रहरीले जानकारी दिएको छ।

दुर्घटना व्यावसायिक उडान टेन्डमभन्दा एकल सोलो उडानमा धेरै बढी भएको दावी गर्दै नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष कृष्ण भण्डारी यसतर्फ प्राधिकरणले ध्यान दिनुपर्ने मत राख्छन्।

प्याराग्लाइडिङ सिकाउने पहिलो स्कूलका सञ्चालक एवं अनुभवी पाइलट सानबाबु सुनार मौसमको ख्याल नगर्नु, हेलचक्रयाईँ गर्नु अनि उपकरणको कमजोरी आदिका कारण दुर्घटना हुने बताउँछन्।

यद्यपि पछिल्लो दुर्घटना कसरी भयो भन्ने थाहा हुन सकेको छैन।

प्राधिकरणको योजना

"सुरक्षा प्राथमिक विषय हो। त्यो प्राधिकरणको मूल जिम्मेवारी हो। प्याराग्लाइडिङ उडानसम्बन्धमा विद्यमान ऐन नियम तथा प्रावधानहरूबारे समग्ररूपमा अवलोकन गरेरमात्र उडान पुनर्सतञ्चालन गरिने छ," नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बीबीसीलाई बताए।

दशैँको लगातार झरीपछि पोखराको आकाश खुलेको छ।

हिमाल खुलेर तालमा पौडेको देख्न पाइने याम पनि यही हो।

यतिवेला पोखराको आकाशमा रंगीचंगी प्याराग्लाइडिङ यत्रतत्र उड्न थालेका थिए।

तर पछिल्लो दुर्घटनाले करीब ६० वटा प्याराग्लाइडिङ कम्पनीका सञ्चालक र झन्डै ४०० व्यावसायिक पाइलट बेरोजगार मात्र बनेका छैनन् स्वच्छ आकाशबाट मनोरम दृश्य हेर्दै उडान भर्ने आन्तरिक र बाह्य पर्यटकको योजनामा पनि धक्का लागेको छ।

प्याराग्लाइडिङ उडानलाई सुरक्षित बनाउँदै शीघ्र सञ्चालन गर्नुपर्ने पर्यटन क्षेत्रको माग छ।