नेपाल खेलकुद: पोखरामा नवौँ राष्ट्रिय खेलकुद सुरु

एक सातासम्म चल्ने राष्ट्रिय खेलकुदमा ३६ वटा खेलका विभिन्न प्रतिस्पर्धामा ७ वटा प्रदेशका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अनि गैरआवासीय नेपाली सङ्घका गरी झन्डै ७ हजार खेलाडी सहभागी हुने जानकारी आयोजकले दिएका छन्।

खेलकुद प्रतियोगितामा अपेक्षाअनुसार नतिजा ल्याउन पर्याप्त प्रशिक्षणको आवश्यता पर्छ तर यसपटक त्यो सम्भव नभएको सहभागी खेलाडीहरूले बताएका छन्।

गण्डकी प्रदेशबाट चार सय मिटर रिले दौडमा सहभागी भएकी मनिषा अधिकारीले पर्याप्त तालिम लिन नसकिएको हुनाले छोटो अवधिको तालिममा केही प्राविधिक कुराहरू मात्र सिक्ने अवसर पाइएको बताइन्।

वाग्मती प्रदेशबाट ५ किमी दौड प्रतियोगितामा भाग लिन आएका विश्वराम कुँवर अभ्यासका लागि छोटो समय भए पनि राम्रै नतिजा ल्याउने आशामा रहेको बताउँछन्।

बिदाले असर

गण्डकी प्रदेशका स्वयंसेवक प्रशिक्षक गोपाल अधिकारी यस्ता प्रतियोगितामा खेलाडीहरूले भाग लिनका लागि कम्तीमा तीन महिना शारीरिक तथा मानसिक तयारी गर्न बन्द प्रशिक्षण दिइनुपर्ने तर दशैँ बिदाले त्यस्ता तालिममा असर परेको बताउँछन्।

खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशाला भए पनि केही खेलहरू गण्डकी प्रदेशका अन्य सातवटा जिल्लाहरूमा हुँदैछन्।

चार सयभन्दा बढी स्वर्ण पदकका लागि खेलाडीहरूले आपसमा प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको मिति पटकपटक सारिए पनि केही खेलकुदका लागि मैदानको उचित व्यवस्थापन हुन नसकको खेलाडी र टीम प्रशिक्षकहरूको गुनासो छ।

झन्डै ४० वर्षपछि पोखरामा

गण्डकी प्रदेशले दुई वर्षअगाडि १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको थियो।

पोखरामा बृहत् राष्ट्रिय खेलकुदको आयोजना यसअघि उनन्चालीस वर्ष पहिले भएको थियो।

देशभरि खेल संरचना निर्माण गर्ने अनि खेल प्रतिभा पहिचान गर्ने उद्देश्य राखेर प्रत्येक दुई-दुई वर्षमा विभिन्न प्रदेशमा पालैपालो आयोजना हुने बृहत् राष्ट्रिय खेलकुदले उसको लक्ष्य पूरा गर्न भने सधैँ कठिनाइ भोग्दै आएको देखिन्छ।

यो वर्ष पनि पटक पटक आयोजनाको मिति पछाडि धकेलिँदा अन्योल मात्र छाएन, खेलाडी छनोटमा भएको ढिलाइ र खेल सामग्रीको अभाव जस्ता विषयले प्रतियोगितामा असर परेको समेत देखिएको खेल विश्लेषकहरूले बताउँदै आएका छन्।

सङ्क्षेपमा नवौँ राष्ट्रिय खेलकुद

  • मिति: असोज २८ गतेदेखि कार्तिक ३ सम्म
  • स्थान: गण्डकी प्रदेशका सात जिल्ला
  • खेल सङ्ख्या: ३६
  • इभेन्ट्स: ४०४
  • प्रदर्शनी खेल: राफ्टिङ एन्ड क्यानोइङ र ठेलो
  • नारा: एकताबद्ध देश, खेलकुदको सन्देश
  • मस्कट: कस्तुरी मृग
  • सहभागी टोली: ११ टोली (७ प्रदेश, ३ विभाग, १ एनआरएनए)
  • पदक सङ्ख्या: १,३८६