तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: सानादेखि ठूला दलका नेता अनि स्वतन्त्र उम्मेदवारहरू उत्रिए मैदानमा
निर्वाचन आयोगले दिएको समयसीमाभित्रै मनोनयनपत्र दाखिला गराउन देशैभरिका निर्वाचन कार्यालयहरू आइतवार व्यस्त भएका छन्।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाको १६५ अनि प्रदेशसभाहरूको ३३० सिटका लागि सयौँ आकाङ्क्षीहरूले रीत पुर्याएर उम्मेदवारी दर्ता गराएका छन्।
ठाउँठाउँमा बाजागाजा, नाराबाजी तथा नाचगानसहित उम्मेदवारहरूले मनोनयपत्र दर्ता गराए।
को कहाँबाट उठ्दै?
धेरैजसो प्रमुख नेताहरूले कहाँबाट उठ्ने भन्ने निकै अगाडिदेखि नै निश्चित् ठानिए पनि अन्तिम समयमा केही हेरफेर भएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नं ३ बाट मैदानमा होमिने चर्चा लामो समयदेखि चल्दै आएको थियो।
तर त्यसविपरीत उनले आइतवार गोरखाको निर्वाचन क्षेत्र नं २ बाट मनोनयनपत्र दाखिला गराएका छन्।
चितवनकै क्षेत्र नं २ बाट भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दिएका छन्।
चितवनमा अरू पनि चर्चित उम्मेदवारहरू उत्रिएका छन्।
त्यहाँको क्षेत्र नं १ र २ बाट नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष विश्व पौडेल अनि राज्यमन्त्री उमेश श्रेष्ठलाई उतारेको छ।
अर्थविद् पौडेलको टक्कर एमालेका पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हुने भएको छ।
चितवनबाटै कांग्रेसका तर्फबाट अर्थविद् स्वर्णिम वाग्लेले टिकट पाउने आकाङ्क्षा राखेको बताइएको थियो।
काठमाण्डूमा को को?
राजधानी काठमाण्डूमा १० वटा निर्वाचन क्षेत्र रहेको छ।
क्षेत्र नं ४ बाट कांग्रेस महामन्त्री गगन थापा उठेका छन्।
काठमाण्डू क्षेत्र नं ५ मा भने एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल उम्मेदवार बनेका छन्।
क्षेत्र नं १ मा हालै विवेकशील साझा त्यागेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले उम्मेदवारी दिएका छन्। त्यही क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह अनि पूर्वप्रहरी अधिकृत रमेश खरेल मैदानमा अघि सरेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले काठमाण्डू ७ बाट माओवादीको समर्थनमा उम्मेदवारी दिएकी छन्।
भक्तपुर क्षेत्र नं २ बाट एमालेका महेश बस्नेत अघि सरेका छन् भने ललितपुर क्षेत्र नं ३ मा माओवादीकी पम्फा भुषाल मैदानमा उत्रिएकी छन्।
ओली र देउवा आफ्नै थलोबाट
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाटै उठ्दैछन्।
उनको मनोनयनपत्र पत्नी आरजु राणा देउवाले दाखिला गराएकी छन्।
कांग्रेसका नेता शेखर कोइरालाले मोरङ ६ मा उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले झापा क्षेत्र नम्बर ५ मा मनोनयनपत्र दाखिला गराएका छन्।
उनीसँग असन्तुष्ट रहेका घनश्याम भूसाल टिकट नपाएपछि एमाले त्यागेर रुपन्देहीको क्षेत्र नं १ बाट स्वतन्त्र उठेका छन्।
झापाको क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले उम्मेदवारी दर्ता गराइसकेका छन् भने उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका कृष्ण सिटौला हुनेछन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र नं २ रोजेका छन् भने सोही क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउत पनि उठेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरीको क्षेत्र नं ३ बाटै उठेका छन्।
एमालेको समर्थनमा मकवानपुर क्षेत्र नं १ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापा उठेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ मा उठेका छन् भने पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ नै रोजेका छन्।