तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचनः चुनावी तालमेल भविष्यमा लोकतन्त्रका लागि कसरी 'घातक' हुनसक्छ
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
आसन्न स्थानीय तहको चुनावमा राजनीतिक दलहरूले तालमेल वा गठबन्धन गर्ने क्रम जारी छ।
देशभरिका स्थानीय तहमा वैशाख ३० चुनाव हुने तय भएको छ।
सत्तारूढ पाँच दलीय गठबन्धनले तालमेल गर्दै अघि बढ्ने निर्णय गरिसकेको छ भने अन्य दल पनि सोही बाटोमा अघि बढिरहेका छन्।
पछिल्लो पटक बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी तालमेलबारे पाँचबुँदे सहमति भएको छ।
सहमतिअनुसार एमाले र हालै गठित राप्रपा नेपालले सम्भव भएका पालिकाहरूमा तालमेल गरेर उम्मेदवार उठाउनेछन्।
त्यसैगरी राप्रपा नेपालका उम्मेदवारहरूले एमालेको सूर्य चिह्न लिएर स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्नेछन्।
तालमेलबारे कांग्रेस के भन्छ?
गठबन्धन वा चुनावलक्षित तालमेललाई लिएर नेताहरू रक्षात्मक देखिने गरेका छन्।
सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत चुनावी तालमेल/सहकार्य रणनीतिक विषय भएको बताउँछन्।
नेपालको अहिलेको निर्वाचन प्रणालीमा तालमेललाई आवश्यकताको रूपमा पनि उनी हेर्छन्।
"चुनावमा कुनै दलको बहुमत नआउने भयो भने भोलि गएर [चुनावपछि] भिन्न घोषणापत्र भएका दलहरूसँग पनि समझदारी गर्नुपर्ने हुनसक्छ," बीबीसीसँग उनले भने।
"त्योभन्दा त पहिला नै समझदारी गरी अझ न्यूनतम साझा कार्यक्रमका आधारमा मिलेर जाँदा अझ राम्रो हुन्छ नि।"
एमालेको धारणा के छ?
चुनावी चालमेललाई लिएर एमालेका नेता विष्णु रिजाल पनि नेता महतसँग सहमत देखिन्छन्।
राजनीतिक दलहरूबीच हुने चुनावी गठबन्धन अथवा तालमेलले लोकतान्त्रिक अभ्यासमा कुनै नराम्रो असर पार्ने उनी देख्दैनन्।
निर्वाचनमा जाने दलका लागि आफूअनुकूल गठबन्धन गर्ने चलन सबैतिर हुने गरेको रिजालको तर्क छ।
"सामान्यतया दुईथरीको गठबन्धन हुन्छः एउटा चुनावपूर्व र अर्को चुनावपछि। बहुमत आएन भने गठबन्धन सरकार बनाएर दलहरूले सरकार चलाएका हुन्छन्," बीबीसीसँग उनले भने।
"त्यसो भएर गठबन्धन लोकतन्त्रसँग अन्तविरोध भएको अथवा परस्परविरोधी विषय होइन।"
तालमेलबारे राप्रपा के भन्छ?
राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा विभिन्न दल तालमेल गरेर जाने भएपछि उनको दल एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको बताएका छन्।
राष्ट्रियता, आर्थिक समृद्धि र स्थिरताको कारण राप्रपाले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको उनको दाबी छ।
"उम्मेदवार नभएको स्थानमा पनि मतपत्रमा सबै पार्टीको चिह्न रहने भएपछि तालमेल भएको अवस्थामा दुवै चिह्नमा मत प्रयोग भई मत बदर हुने खतरा रहेकोले" सूर्य चिह्न लिएर लड्न लागेको थापाले ट्विटरमा लेखेका छन्।
"चुनावअघि सहमति गरी साझा चिह्न लिनसकिने र जितेपछि आफ्नै दलमा रहन पाउने कानुनी व्यवस्था रहेकोले" पनि तालमेल गरिएको उनको भनाइ छ।
विज्ञहरू के भन्छन्?
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल चुनावी तालमेल वा गठबन्धनलाई दुई तरिकाले हेर्न सकिने बताउँछन्।
"सकारात्मक पक्ष हेर्ने हो भने हाम्रो जस्तो देशमा राजनीतिक दलहरू घट्दै जाने सङ्केत हो यो। प्रतिस्पर्धामा नसक्ने भयौँ भनेर ठूला दलसँग मिल्दै जान्छन्," बीबीसीसँग उनले भने।
नकारात्मक पाटोबारे चर्चा गर्दै पोखरेलले भनेः "दलहरूबीच सधैँ अंशबण्डा राम्रो गर्नुभन्दा सबैको चित्त बुझाउनका लागि नराम्रो अभ्यास भइरहने भयो।"
त्यसबाहेक खासगरी ठूला दलका कार्यकर्तामा त्यसले निराशा निम्त्याउने जोखिम पनि उनी औँल्याउँछन्।
"यो प्रवृत्तिले राजनीतिक दलप्रति नेतृत्वप्रति रहेको कार्यकर्ताहरूको आशालाई कमजोर बनाउन सक्छ," पोखरेलले थपे।
पूर्वकार्यवाहक पूर्वप्रमुख आयुक्त दोलखबहादुर गुरुङ पछिल्लो समय मौलाउँदै गएको चुनावी तालमेल वा गठबन्धनलाई 'सत्ताकेन्द्रित राजनीतिको उपज'को रूपमा लिन्छन्।
"देशको लागि यो एकदम घातक हुनसक्छ। चुनावमा हारजितलाई त स्वाभाविक रूपमा लिनुपर्छ। थोरै सीट आए पनि राम्रा नीति, कार्यक्रम छन् भने जनताले ग्रहण गर्दै जिताउँदै जान्छन् नि," बीबीसीसँग उनले भने।
यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न मतदाताहरू नै जागरुक हुनुपर्ने गुरुङको सुझाव छ।
"अवसर छोप्नेहरूलाई मतदानमार्फत् हराइदिएर मतदाताले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सक्छन्," उनले थपे।
स्थानीय तहमा स्थानीय आवश्यकता एवं प्राथमिकताका साथै स्थानीय उम्मेदवार नै हुने पृष्ठभूमिमा माथि अर्थात् सङ्घबाट सबै कुराको निर्क्योल गर्ने प्रवृत्ति सङ्घीयताकै मर्मविपरीत भएको कतिपय विश्लेषकहरू बताउँछन्।