दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिक्रिया स्वरूप समुद्रमा क्षेप्यास्त्र प्रहार

    • Author, नेथन विलियम्स
    • Role, बीबीसी न्यूज

उत्तर कोरियाले जापानी आकाशसम्म क्षेप्यास्त्र पठाएको प्रतिक्रिया स्वरूप दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेका छन्।

कोरियाली प्रायःद्वीप एवं जापानको बीचमा पर्ने 'इस्ट सी'मा दक्षिण कोरिया र अमेरिकाले क्षेप्यास्त्रहरू प्रहार गरेका हुन्। 'इस्ट सी'लाई 'सी अफ जापान'को रूपमा पनि चिनिन्छ।

सन् २०१७ यता पहिलो पटक प्योङयाङले मङ्गलवार जापानमाथि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।

त्यसको प्रतिक्रिया स्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले शक्ति प्रदर्शन गर्ने हिसाबले संयुक्त सैन्य अभ्यास गरिरहेका छन्।

'तयारी अवस्थामा'

एउटा वक्तव्यमा जनाइएअनुसार दक्षिण कोरिया र अमेरिकाले अमेरिकामा निर्मित 'आर्मी ट्याक्टिकल मिसाइल सिस्टम' भनिने क्षेप्यास्त्रहरू बुधवार प्रहार गरेका छन्।

"उत्तर कोरियाले गर्ने उक्साहटपूर्ण कार्यप्रति प्रतिक्रिया जनाउन अमेरिका र उसका साझेदारहरूको सैन्य सामर्थ्य तयारी अवस्था रहेको देखाउनका निम्ति क्षेप्यास्त्रहरू प्रहार गरिएको"अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्‌का प्रवक्ता जोन किर्बीले सीएनएनलाई बताएका छन्।

दक्षिण कोरियाले प्रहार गरेको क्षेप्यास्त्र केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो। तर त्यसबाट कुनै हताहती नभएको सेनाले जनाएको छ।

जापानमाथि मङ्गलवार क्षेप्यास्त्र पठाउने प्योङयाङको निर्णयलाई टोक्यो र वाशिङ्गटनको ध्यान आफूतिर तान्नका लागि जानाजान गरिएको उक्साहटपूर्ण कार्यको रूपमा हेरिएको छ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले त्यसलाई "हिंसात्मक व्यवहार"को सङ्ज्ञा दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले किशिदासँग गरेको एक टेलिफोन कुराकानीका क्रममा जापानको प्रतिरक्षाबारे वाशिङ्गटनको "दृढ प्रतिबद्धता"लाई दोहोर्‍याए।

मङ्गलवार उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि उत्तरी क्षेत्रका केही स्थानमा मानिसहरूलाई साइरन र लिखित सन्देशमार्फत्‌ सजग रहन अनुरोध गरिएको थियो।

संयुक्त राष्ट्रसङ्घले बलिस्टिक क्षेप्यास्त्र तथा परमाणु अस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ।

चेतावनी अथवा सरसल्लाहविना कुनै देशतिर अथवा उसको आकाशमा क्षेप्यास्त्र पठाउनु अन्तर्राष्ट्रिय कानुनविपरीत मानिन्छ।

उत्तर कोरियाले मङ्गलवार प्रक्षेपण गरेको क्षेप्यास्त्र एक साताभित्र गरिएको पाँचौँ परीक्षण थियो।

गत सेप्टेम्बरमा उत्तर कोरियाले आफू परमाणअस्त्र सम्पन्न राष्ट्र भएको घोषणा गर्ने एउटा कानुन पारित गरेको थियो।