सन्दीप लामिछाने: निलम्बित क्रिकेट कप्तान नेपाल फर्किने घोषणाबारे प्रहरी के भन्छ

तस्बिर स्रोत, Getty Images
एक नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपसहित उजुरी परेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले आगामी साता नेपाल फर्केर आत्मसमर्पण गर्ने बताएका छन्। विवादमा परेर निलम्बित हुनुअघि उनी नेपाली राष्ट्रिय टोलीका कप्तान थिए।
उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै निर्दोष रहेको दाबी गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ताले आरोपित व्यक्तिलाई नेपालको सीमा प्रवेश गरेपछि पक्राउ गरेर बयान लिने बताएका छन्।
काठमाण्डू प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले प्रशासनमा आत्मसमर्पण गर्ने लामिछानेको घोषणालाई प्रहरीले सकारात्मक मानेको बताए।
तीन सातादेखि "अज्ञात" स्थानमा रहेका लामिछानेले शनिवार फेसबुकमा आफू असोज २० गते नेपाल फर्किन लागेको लेखेका छन्।
सन्दीप लामिछानले के भने?
"ठूलो आशा र तागत बटुलेर म अक्टोबर ६ मा आफ्नो देश नेपाल फर्किन लागेको छु र ममाथि लगाइएका झूटा आरोप विरुद्ध कानुनी लडाइँका लागि म प्रशासनसमक्ष उपस्थित हुनेछु," उनले फेसबुकमा अङ्ग्रेजीमा लेखेका छन्।
आफू निर्दोष रहेको दाबी दोहोर्याउँदै उनले अदालत र प्रहरीबाट आफूमाथिको अभियोग छानबिनमा निष्पक्ष व्यवहार हुने अपेक्षा लिएको उल्लेख गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गर्दै मैत्रीपूर्ण टी-२० र एक दिवसीय शृङ्खलाका लागि केन्या पुगेका लामिछाने त्यतैबाट क्यारिबीअन लीग खेल्नका लागि जमैका पुगेका थिए।
उनी नेपालबाहिर गएको बेला एक नाबालिग किशोरीले लामिछानले नेपालमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएको नेपाल प्रहरीले बताएको थियो।
गत भदौ २३ गते काठमाण्डू जिल्ला अदालतले उनीमाथि "थप अनुसन्धान गर्न" पक्राउ पुर्जी जारी गरेको थियो।
लगत्तै भदौ २४ गते ट्वीटमार्फत् लामिछानले आफू केही दिनमै स्वदेश फर्किएर आरोपको कानुनी सामना गर्ने बताएका थिए। तर उनी अझै नेपाल फर्किएका छैनन्।
नेपाल क्रिकेट सङ्घ क्यानले पनि यसबीचमा उनी आफ्नो "औपचारिक सम्पर्कमा नरहेको" बताएको थियो।

तस्बिर स्रोत, supremecourt.gov.np
नेपाल प्रहरी के भन्छ?
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले आरोपित व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान गर्ने बताए।
"प्रहरीले उहाँलाई पक्राउ पुर्जी दिएर कस्टडीमा लिएर उहाँमाथि लागेको आरोपमाथि अनुसन्धान गर्छौँ र बयान लिन्छौँ, त्यसपछि अदालतमा पेस गर्छ," राईले भने।
यसअघि काठमाण्डू प्रहरीका प्रमुख दिनेशराज मैनालीले पनि आरोपित व्यक्ति नेपाल फर्किएपछि कानुनीअनुसार अघि बढ्ने बताएका थिए।
"पहिला आउँछु भन्ने मान्छेलाई आउन दिनुपर्यो नि त। त्यसपछि मात्रै कानुनी प्रक्रिया के छ त्यसअनुसार हुन्छ," उनले भने।
आत्मसमर्पण गर्ने लामिछानेको घोषणालाई प्रहरीले सकारात्मक रूपमा लिएको जनाउ दिँदै उनले भने, "उहाँ आउने राम्रै कुरा हो नि। उहाँ आउनैपर्छ र आफ्नो तरिकाले अनुसन्धानमा सहयोग गर्नुहुन्छ भन्ने हामीले पनि अपेक्षा गरेका छौँ," मैनालीले भने।
"यो त अझ उहाँले विलम्ब गर्नुभयो भन्ने लाग्छ मेरो विचारमा।"
उहाँ आउनैपर्छ र आफ्नो तरिकाले अनुसन्धानमा सहयोग गर्नुहुन्छ भन्ने हामीले पनि अपेक्षा गरेका छौँ
लामिछानेको बारेमा नेपाल प्रहरीको आग्रहमा इन्टरन्याश्नल क्रिमिनल पोलिस अर्गनाइजेशन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको विवरणहरू आएका छन्।
यस्तो नोटिसमा नेपालको प्रहरीले सन्दिग्ध व्यक्तिलाई पक्राउ गर्न खोजिरहेको भन्ने जानकारी इन्टरपोलको सञ्जालबाट अन्य देशका प्रहरीहरूलाई उपलब्ध गराइने इन्टरपोलले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
लामिछानेविरुद्ध डिफ्यूजन नोटिस जारी भएका भन्ने विषयमा सोध्धा मैनालीले आफूलाई त्यसबारे जानकारी नभएको र लामिछानेलाई नेपालसम्म आउन कुनै बाधा नपर्ने आफूले ठानेको बताए।
"आफ्नो देश फर्किन्छु भन्दा सबैले सहयोग गरिहाल्छन् नि! (आउन) नपाउने हुन्छ भन्ने जस्तो पनि मलाई लाग्दैन," मैनालीले भने।

सन्दीप लामिछानेमाथि लागेको आरोप के हो?
उनीमाथि एक नाबालिगलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छिन्।
उनले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएकी थिइन्।
जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नै क्यानको कार्यसम्पादन समितिको निर्णय भन्दै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्।








