अमेरिका समुद्री आँधी: फ्लोरिडामा तुफान र बाढीको सङ्कटबीच करोडौँ डलर बराबरको क्षति अनुमान

समुद्री आँधी

तस्बिर स्रोत, Getty Images

अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्।

ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्।

हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्।

अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ।

उक्त सेन्टरले उत्तरपूर्वी फ्लोरिडाको तटीय क्षेत्रलगायत जोर्जिया र साउथ क्यारोलाइनामा पनि घातक आँधी आउनसक्ने जनाएको छ।

क्षति

शक्तिशाली तुफानसहितको आँधीका कारण उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ। त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन्।

उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन्।

उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ।

अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्‌तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराएका थिए।

उक्त राज्यभरि २५ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन्।

पछिल्लो अवस्था

इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन "नराम्रो अवस्था"का लागि तयार रहन चेतावनी दिएका छन्।

आँधी

उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

कर्फ्यु घोषणा

आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ।

बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु "अर्को सूचना नभएसम्म" कायम रहने काउन्टीले जनाएको छ।

आँधीका कारण पेट्रोल स्टेशनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो।

काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश "कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने" बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए।

आँधी

उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।

उनले फोर्ट मायर्स समुदाय "केही हदसम्म ध्वस्त भएको" बताएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दक्षिण चीनमा टोर्नेडोले यसरी मच्चायो उत्पात

तर "त्यस क्षेत्रमा भएको चरम क्षति"को आकलन गर्न केही समय लाग्ने बताइएको छ।

अझै खतरनाक अवस्था आउने चेतावनी

फ्लोरिडाकै टम्प सहरकी मेयरले आउँदो २४ घण्टा सबैभन्दा खतरनाक हुने भन्दै रातभरि मानिसहरूलाई सुरक्षित स्थलमा शरण लिन आग्रह गरेकी छन्।

मेयर जेन क्यास्टरले बुधवार साँझ भनिन्, "हामीले ठूलो वर्षा र तीव्र वेगको हावा बेलुका आठ बजेबाट सामना गर्नेछौँ र त्यो रातभर रहनेछ।"

"यसले अझै बाढी निम्त्याउनेछ," उनले भनिन्।

तर उनका भनाइमा दक्षिणी फ्लोरिडाको जस्तो त्यहाँ चाँडै बाढीको स्तर बढ्ने छैन।

त्यस्तै उनले टम्पमा अहिले कर्फ्यु लगाउने कुनै योजना नरहेको पनि पुष्टि गरिन्।

आँधीको गति

आँधीबारे पूर्वानुमान गर्ने निकायको पछिल्लो बुलेटिन अनुसार इयान हाल ओर्लान्डोबाट ९५ माइल अर्थात् १५० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ।

आँधी

तस्बिर स्रोत, Getty Images

त्यसको गति ११५ माइल प्रतिघण्टा छ।

यो तूफान बिस्तारै उत्तर-पूर्वतर्फ सर्दै छ र लगभग आठ माइल प्रतिघण्टाको गतिमा त्यता जाँदैछ।

यो बुधवार राति वा बिहीवार बिहानसम्म एट्लान्टिक महासागरमा देखापर्ने पूर्वानुमान गरिएको छ।

इयान अहिले तेस्रो श्रेणीको आँधी रहेको बताइएको छ। यस्तो आँधी केन्द्रबाट ५० माइलसम्म बाहिर फैलिन्छ।

शुक्रवार जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने उसले जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हावा नचलीकनै धुलोको भुमरी उडेको देख्नुभएको छ?