डेङ्गी नेपालः 'सिकिस्त' बनेर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बढ्दै, के भन्छ सरकार

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण भएर सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।
सिकिस्त बिरामीको सङ्ख्या बढेसँगै कतिपय अस्पतालमा आईसीयू र भेन्टिलेटरमा राखेर पनि बिरामीको सङ्क्रमितको उपचार गर्नुपर्ने अवस्था आएको उनीहरूले बताए।
सिकिस्त भएर क्रिटिकल केअरमा राखिएका केही बिरामीको निधन समेत भएकाले डेङ्गी सङ्क्रमणबाट बच्नका लागि विशेष सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
डेङ्गी सङ्क्रमण हुँदा आवश्यक पर्ने सिटामोल तथा अन्य औषधिको अभाव भएको र केही अस्पतालमा क्रिटिकल केअर युनिटमा बिरामीलाई भर्ना गर्न स्थान अभाव भएको विवरण पनि आउन थालेका छन्।
तर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले चाहिँ सरकारले डेङ्गी नियन्त्रणका लागि सरकारले "यथासक्दो प्रयास गरिरहेको" बताएका छन्।
नेपालमा डेङ्गीको अवस्था कस्तो छ
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा पहिलो पटक २०६१ मा पहिलो पटक डेङ्गी फेला परेको पुष्टि भएको थियो।
त्यसयता नेपालमा बर्सेनि डेङ्गी देखा परिरहेको छ। अहिले मनाङमा बाहेक नेपालका ७६ जिल्लामा डेङ्गी पुगिसकेको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वर्ष मात्रै मङ्गलवारसम्म २७,५६९ जना डेङ्गीबाट सङ्क्रमित भएका छन्।
मङ्गलवारसम्म डेङ्गीका कारण नेपालमा ३२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। सोमवार नेपालमा एकैदिन हालसम्मकै सबैभन्दा बढी १,०५१ जनामा डेङ्गी पुष्टि भएको थियो।
काठमाण्डू उपत्यका र बागमती प्रदेशमा अहिले यो रोग प्रकोप बनेर फैलिएको छ।

तस्बिर स्रोत, RSS
अस्पतालमा बिरामीको सङ्ख्या
अधिकारीहरूका अनुसार उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा डेङ्गीका बिरामीको चाप निकै बढेको छ।
अस्पतालको आकस्मिक कक्ष र आईसीयू र भेन्टिलेटरमा पनि बिरामी रहेको बताइएको छ।
अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन अस्पतालमा यसरी बिरामीको सङ्ख्या बढ्नुको अर्थ देशैभरि डेङ्गीका बिरामीको सङ्ख्या धेरै भइरहेको छ भन्ने सङ्केत भएको बताउँछन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पनि दैनिक रूपमा डेङ्गी सङ्क्रमित आउने क्रम बढेको उक्त अस्पतालका चिकित्सकहरूले बताएका छन्।
त्यसरी आउनेमध्ये कैयौँ सिकिस्त बिरामीहरू पनि रहेको उक्त अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत चिकित्सक डा. हेमराज पनेरुले बताएका छन्।
नेप्लिज सोसाइटी अफ क्रिटिकल केअरका महासचिवसमेत रहेका डा. पनेरुले भने, "डेङ्गीका बिरामी आईसीयूमा पनि आइरहेका छन्। भेन्टिलेटरमा पनि बिरामी छन्। क्रिटिकल केअरमा कोभिडको जस्तै अवस्था त भइसकेको छैन तर मृत्युका घटना पनि भइसकेका छन्।"
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोगका प्राध्यापक डा. जनक कोइरालाका अनुसार उक्त अस्पतालमा पनि करिब दुई सातादेखि सिकिस्त भएर आउने बिरामीको सङ्ख्या बढेको छ।
"अहिले पनि दैनिक १०/१२ जना अस्पताल नै भर्ना हुने खालका बिरामी आइरहेका छन्," उनले भने।
त्यसमध्ये केहीलाई आईसीयू र भेन्टिलेटरमा पनि राख्नुपर्ने अवस्था आउन थालेको छ।
सरकार के गर्दै छ?
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सरकारले "आफ्नो स्थानबाट डेङ्गी नियन्त्रणका लागि सक्दो प्रयत्न गरिरहेको" बताए।
मङ्गलवार बिहान बीबीसीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले भने, "चिकित्सकहरूको सुझावअनुसार सरकारले लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाइरहेको छ।"
खापुङले स्थानीय तहसँग मिलेर सरकारले नयन्त्रणका उपायहरू गरिरहेको बताए।
त्यस्तै हालै प्रमुख जिल्ला अधिकारीहरूलाई पनि परिचालन गर्ने निर्णय भएको उनको भनाइ छ।

सिटामोल र अन्य आधारभूत औषधि अभाव भएकोबारे सोधिएको प्रश्नमा उनले "अहिले अभाव नरहेको" दाबी गरे।
यद्यपि अझै पनि बजारमा सिटामोल अभावको गुनासो आइरहेको छ र सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले समेत क्षमताअनुसार उत्पादन गर्न नसकेको बताउने गरेको छ।
"केही दिन अभाव भएको थियो तर हामीले उत्पादकलाई पूर्ण क्षमतामा उत्पादन गर्नू भनेर भनेका छौँ," उनले भने।
अहिले उत्पादन बढेकाले बजारमा अभाव नभएको उनको तर्क छ।
कसैले कृत्रिम अभाव उत्पन्न गरे त्यस्ता व्यक्तिमाथि कारबाही हुने उनले चेतावनी पनि दिए।
अस्पतालमा क्रिटिकल केअरमा उपचार गर्नुपर्ने बिरामी बढ्न थालेकोबारे सोधिएको प्रश्नमा उनले भने, "कोभिडका बेलामा पनि त्यस्ता धेरै पूर्वाधार बनिसकेकाले अहिले उपचार नपाउने अवस्था रहँदैन।"

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
के हो डेङ्गी?
विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई डेङ्गी हुन्छ। यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ।
प्रायः एडीज एजीप्टी र कतैकतै एडीज एल्बोपिक्टस जातका लामखुट्टेको टोकाइबाट डेङ्गी भाइरस सर्छ। यी लामखुट्टेले येलो फिभर, जीका भाइरस र चिकूङ्गून्या पनि सार्छन्।
अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसङ्ख्या अर्थात् चार अर्ब मानिस डेङ्गी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन्।
यो भाइरसको सङ्क्रमण हुँदा ज्वरो आउँछ, शरीरमा डाबर देखा पर्न सक्छ र टाउको तथा पूरै जीउ दुख्न सक्छ।
केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन्।
यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।
तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ।

रोगबाट बच्ने के कस्ता उपाय छन्?
- लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
- खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
- पानी छोपेर राख्ने
- शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
- सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
- दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
- लामखुट्टेको टोकाइ जोगिन लामखुट्टेलाई विकर्षित गर्ने मलम प्रयोग गर्ने

के डेङ्गी भाइरसविरुद्ध खोप छैन?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सनोफी पाश्चर कम्पनीले उत्पादन गरेको डेङ्भ्याक्सिया नामक खोप अहिले उपलब्ध छ। झन्डै २० देशमा उक्त खोपले प्रयोगका लागि मान्यता पाएको छ।
तर नेपालमा यो खोप आइसकेको छैन।
उक्त खोपले सन् २०१५ मा अनुमतिपत्र प्राप्त गरेको थियो।
अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार डेङ्गी सङ्क्रमण भएको पुष्टि प्रयोगशालामा गरिएका परीक्षणबाट भएका र उक्त रोगको प्रकोप भएका क्षेत्रमा बसोबास गर्ने नौदेखि १६ वर्षसम्मका बालबालिका लागि यो वर्ष एउटा उक्त खोपलाई मान्यता दिइएको छ।
तर बाहिरबाट संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तर डेङ्गीको प्रकोप भएका स्थानमा बसोबास नगर्ने मानिसलाई उक्त खोप दिइँदैन।
डेङ्भ्याक्सियाले डेङ्गीका चारवटै सीरोटाइपविरुद्ध प्रतिरोध क्षमता विकास हुन्छ।
उक्त भाइरसमा दुर्बल पारिएको जीवित भाइरस हुन्छ। रिकम्बिनन्ट डीएनए प्रविधि प्रयोग गरेर यो भाइरसको निर्माण गरिएको सीडीसीएको वेबसाइटमा उल्लेख गरिएको छ।

यो पनि हेर्नुहोस्













