भ्लादिमिर पुटिन र सी जिन्पिङ: रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिले एकअर्काबाट के चाहेका छन्

    • Author, बीबीसी मोनिटरिङ
    • Role, विश्लेषण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङ दुवै यो साता दुर्लभ विदेश यात्रामा गएका छन्। उज्बेकिस्तानमा आयोजित एउटा सम्मेलनका क्रममा उनीहरूबीच भेट पनि भएको छ।

भारत, पाकिस्तान, टर्की र इरान (एवम् अन्य देशहरू) समेत शाङ्घाई सहकार्य सङ्गठन (एससीओ) को सम्मेलनमा १५-१६ सेप्टेम्बरमा समरकन्दमा छन्। 

तर क्रेम्लिनले चिनियाँ नेतासँगको भेटलाई "विशेष महत्त्व"को रूपमा प्रस्तुत गरेको छ। 

रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक चिनियाँ राष्ट्रपतिसँग भएको प्रत्यक्ष भेटघाटपछि पुटिनले उक्त घटनाप्रति चीनको "चासो" आफूले बुझेको बताएका छन्। चीनले रुसले युक्रेनमा गरेको अतिक्रमणको समर्थन गरेको छैन।

तर उज्बेकिस्तानमा बोल्दै उनले "सन्तुलित स्थान" का लागि चीनलाई धन्यवाद दिए भने "एकध्रुवीय विश्व बनाउने अमेरिकाको प्रयास" असफल हुने बताए।

यसअघि गत फेब्रुअरीमा ती दुई नेताबीच शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा भेटेका थिए। त्यसपछि उनीहरूले एउटा संयुक्त वक्तव्य प्रकाशित गर्दै द्विपक्षीय सम्बन्धको "कुनै सीमा नभएको" जनाएका थिए। 

त्यसको केही दिनमा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो। तर त्यसले केही कुरा फेरियो त?

बीबीसी मोनिटरिङले यस भेटमा मस्कोले खोजेको खास विषय र बेइजिङले समेत चाहेका केही विषयबारे हेर्न खोजेको छ। 

"बहुध्रुवीय विश्व"

राष्ट्रपति पुटिनका लागि बेइजिङसँगको निकट सम्बन्ध राख्नु भनेको उनको दृष्टिको "बहुध्रुवीय" विश्व सिर्जना हुनु हो जहाँ रुस र चीनजस्ता देशले विश्वभरि पश्चिमा प्रभावलाई छायामा पार्नेछन्।

यस नीतिले पुटिनका निम्ति शासनको आधारभूत पक्ष तयार गर्छ जसका लागि उनले वर्षौँदेखि काम गर्दै आएका छन्। 

तर यो विषय क्रेम्लिनका लागि अहिले झन् बढी महत्त्वको बनेको छ। 

युक्रेनमाथि अतिक्रमण गरेपछि भ्लादिमिर पुटिनलाई पश्चिमा विश्वले आफूबाट अलग्ग्याएको छ।

त्यसैले उनी विश्वका प्रभावशाली नेता सी जिन्पिङसँग भेटेको देखिन चाहन्छन्। 

यद्यपि रुसी राष्ट्रपतिका लागि चिनियाँ नेता यति धेरै महत्त्वपूर्ण हुने विषय बाहिर देखिनेभन्दा ठूलो अर्थको छ। 

महत्त्वपूर्ण समयमा चिनियाँ लगानी

युक्रेन युद्धले रुसमा आर्थिक प्रतिबन्धको अनपेक्षित लहर सिर्जना गरिदिएको अवस्थामा पुटिन चिनियाँ लगानी, प्रविधि र द्विपक्षीय व्यापारका लागि निकै इच्छुक हुनेछन्।

पश्चिमा कम्पनीहरूले रुस छाडेपछिको रिक्ततालाई भ्लादिमिर पुटिनले चिनियाँ कम्पनीहरूबाट पूर्ति गर्न चाहेका देखिन्छन्। 

पश्चिमा विश्वले रुसमा उत्पादित तेल र ग्यासमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहँदा मस्कोको जोड त्यसलाई पूर्वतर्फ, चीनमा निर्यात गर्ने हुनेछ। 

मस्को युक्रेनमा कमजोर बनिरहेको आफ्नो कारबाहीका लागि अस्त्र आपूर्तिका लागि समेत व्यग्र देखिन्छ। 

तर रुसलाई सघाइरहेको भन्ने आम बुझाइबीच चीन अगाडि सरेर रुसलाई सहायता गरेको देखिने कुरामा सावधान छ। 

प्रतिस्पर्धी

यद्यपि चीनसँग निकट सम्बन्ध राख्ने यस नीतिले रुसी नेतालाई कैयौँ घाटाहरू समेत पुर्‍याउन सक्छ। 

यी दुई देशहरू भूराजनीतिक रूपमा प्रतिद्वन्द्वी समेत हुन्। 

अनि आन्तरिक रूपमा राष्ट्रपति पुटिनमाथि पूर्वी रुसमा चिनियाँ प्रभाव बढ्न दिइएको आरोप समेत लाग्ने गर्छ। 

सी जिन्पिङको उज्बेकिस्तान (र काजकस्तान) भ्रमण सन् २०२० मा कोभिड-१९ को महामारी सुरु भएपछिको पहिलो विदेश यात्रा हो।

सीको लागि कस्तो अवसर

उनको भ्रमण १६ अक्टोबरमा हुने चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निकै संवेदनशील २०औँ न्याश्नल कङ्ग्रेसअघि भएको छ। 

उक्त कङ्ग्रेसबाट सी अभूतपूर्व तेस्रो कार्यकालका लागि फेरि पनि निर्वाचित हुने ठानिएको छ। 

ताइवान र हङ्‌कङका सञ्चारमाध्यमहरूले उक्त सम्मेलनमा सीको उपस्थिति आफ्नो पार्टी र देशमा आफ्नो पूर्ण नियन्त्रण रहेको सङ्केत विश्वलाई दिनु रहेको लेखेका छन्। 

ताइवानको सरकारी सेन्ट्रल न्यूज एजेन्सीले भ्रमण युक्रेनको पछिल्लो विकासक्रमसँग जोडिएको भन्दै त्यो "लज्जाजनक" हुनसक्ने जनाएको छ। 

युक्रेनमा यसअघि रुसको नियन्त्रणमा रहेका विशाल क्षेत्रबाट रुसी सैनिकहरू फर्किन बाध्य भएका छन्। 

चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जिचीले हालै कार्यकाल सकेर फर्किन लागेका रुसी राजदूत आन्द्रे डेनिशोभसँगको कुराकानीमा मस्कोप्रति बेइजिङको ऐक्यबद्धतामा जोड दिएका छन्। 

सीपीसीका ली चाङ्शूले समेत सेप्टेम्बरको सुरुमा रुसको "सद्भावना भ्रमण" गरेका थिए। 

याङ र ली दुवैले चीनले रुससँगको सम्बन्धलाई थप विस्तार गर्ने आशा गरेका छन्। 

बेइजिङ यद्यपि युक्रेन मामिलामा "तटस्थ भूमिकामा" काम गर्न सजग देखिन्छ।

पश्चिमा दबाव बढ्ने चिन्ताबीच बेइजिङलाई मस्कोको साथ चाहिएको छ तर पुटिनसँग धेरै नजिक भएको देखिन भने चाहेको छैन। 

युक्रेनमा पुटिनद्वारा सञ्चालित युद्धले नराम्रो मोड लिइरहेको देखिन्छ।

उनको राजीनामाको माग गर्दै दर्जनौँ रुसी सहरका काउन्सिलरहरूले ट्विटरमा आह्वान गरेका बेला यस भेटघाटलाई चासोपूर्वक हेरिएको छ।

अब सीले रुसी नेतासँग दूरी राख्लान् वा उनलाई एक्लिन नदिन सहयोगको प्रस्ताव गर्लान्?

यो पनि हेर्नुहोस्