महारानी एलिजाबेथ द्वितीया: विश्वका नेताहरूको सम्झनामा 'दयालु रानी'

    • Author, टिफनी वर्टहाइमर
    • Role, बीबीसी न्यूज

विश्वका नेता तथा उच्च अधिकारीहरूले ९६ वर्षको उमेरमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन्।

महारानीको आफ्नो कर्तव्यप्रतिको गम्भीर बोध र लचिलोपनाका साथै उनको हास्यचेत र करुणाभावप्रति उनीहरूले सम्मान व्यक्त गरेका छन्।

फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले श्रद्धाञ्जलि अर्पणको अगुवाइ गर्दै उनलाई "फ्रान्सकी मित्र" को सङ्ज्ञा दिँदै "एक दयालु रानी" को सम्झना गरे ।

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले महारानीले "सम्मान, भव्यता र अथक व्यावसायिक नैतिकताद्वारा निर्दिष्ट शासन" मार्फत् 'विश्वलाई मोहित पारेको' टिप्पणी गरे।

"जसरी उनले ठूला समारोहहरूमा पनि सरल हास्यचेतबाट परिस्थितिलाई शोभायुक्त तुल्याउँथिन् र मानिसहरूलाई सहज महसुस गराउँथिन्, हामी उनको आत्मियताबाट बारम्बार प्रभावित भयौँ," विभिन्न अवसरमा महारानीसँग भेट गरेका ओबामाले शोक वक्तव्यमा उल्लेख गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले "केवल एक रानीमात्र नभई उनले युगलाई परिभाषा दिएको" भन्दै महारानीप्रति सम्मान व्यक्त गरे।

राष्ट्रपतिको रूपमा सन् २०२१ मा आफूले गरेको संयुक्त अधिराज्यको भ्रमणको व्याख्या गर्दै बाइडनले भने, "उनले आफ्नो तीक्ष्णताबाट हामीलाई मुग्ध पारिन्, करुणाभावबाट प्रभावित तुल्याइन् र उदारतापूर्वक आफ्नो ज्ञान बाँडिन्।"

आफ्नो शासनकालमा महारानी एलिजाबेथ द्वितीयाले १४ जना अमेरिकी राष्ट्रपतिहरूसँग भेट गरेकी थिइन्।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूले महारानीको सहृदयी मैत्री, उच्च ज्ञान र अद्भुत हास्यचेत आफूले कहिल्यै भुल्न नसक्ने बताएका छन्।

"उनी साँच्चिकै महान् र सुन्दर नारी थिइन्- उनीजस्तो अर्को छैन," उनले आफ्नो अनलाइन ट्रूथ सोशलमा लेखेका छन्।

महारानीको शासनकालमा क्यानडामा १२ प्रधानमन्त्री भए। महारानीको निधन भएको घोषणालगत्तै बोल्ने क्रममा भावुक बनेका जस्टिन ट्रूडोले क्यानडावासीहरूका निम्ति महारानीसँग स्पष्ट रूपमा गहिरो र स्थायी प्रेम रहेको बताए।

"जटिल विश्वमा उनको दह्रो अनुकम्पा र सङ्कल्पले हामीसामु सहजतामा ल्यायो," ट्रूडोले आफूहरूको "वार्तालाप" सधैँ सम्झिने बताए जस क्रममा उनी "चिन्तनशील, बौद्धिक, विलक्षण, सहयोगी, रमाइली र अरू धेरै थिइन्।"

"उनी मेरा निम्ति संसारकै एक खास व्यक्ति थिइन्, त्यसैले म उनलाई सधैँ सम्झिनेछु," आँसु रोक्दै ट्रूडोले भने।

'एक असाधारण व्यक्तित्व'

महारानीका टाढाका नातेदार समेत रहेका द नेदरल्यान्ड्सका राजा विलियम अलेक्जान्डरले आफू र रानी मेक्सिमाले "गहिरो सम्मान र उच्च अनुराग" का साथ "अटल र धीर" महारानीको रूपमा सम्झिने बताए।

बेल्जियमका राजा फिलिप र रानी माटिल्डले उनी "एक असाधारण व्यक्तित्व... जसले आफ्नो शासनकालभरि निष्ठा, उत्साह र सम्मान" देखाएको बताइन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक ब्रिटेनको भ्रमण गर्दा ताका महारानीसँग "स्मरणीय भेट" भएको सम्झना गरे।

"म उनको करुणा र सहृदयीपना कहिल्यै बिर्सिनेछैन," उनले ट्वीट गरेका छन्, "एउटा भेटमा उनले आफ्नो बिहेमा महात्मा गान्धीले दिएको रुमाल मलाई देखाइन्। मैले त्यस बेलाको भाव सधैँ सम्झिरहनेछु।"

जर्मन चान्सलर ओलाफ शोल्ट्जले महारानीको "अद्भुत मनोभाव" प्रति श्रद्धाञ्जलि प्रकट गरे र वक्तव्यमा "दोस्रो विश्वयुद्धको त्रासपछि जर्मन-ब्रिटिश मेलमिलापप्रतिको उनको प्रतिबद्धता अविस्मरणीय रहिरहने" उल्लेख गरेका छन्।

'आश्वस्त पार्ने उपस्थिति'

महारानीका रूपमा सात दशक लामो शासनकालमा एलिजाबेथ असाधारण परिवर्तनको साक्षी बनिन् र त्यो कैयौँ श्रद्धाञ्जलिहरूमा प्रतिबिम्बित भएका छन्।

जस्तो कि बराक ओबामाले लेखेका छन्, "चन्द्रमामा अवतरणदेखि बर्लिनको पर्खाल ढल्दासम्मको सम्पन्नता र गतिहीन अवधि उनले देखिन्।"

आइरिश राष्ट्रपति माइकल डी हिगिन्सले महारानीप्रति सम्मान प्रकट गर्ने क्रममा "दायित्वप्रतिको असाधारण भावना" भन्दै त्यसले "ब्रिटेनको इतिहासमा बेजोड स्थान ग्रहण गर्ने" बताए। I

"उनको ७० वर्ष लामो शासनकालमा असङ्ख्य परिवर्तन भएका छन्। त्यसक्रममा उनले ब्रिटिश जनतालाई आश्वस्त पार्ने असाधारण स्रोतको प्रतिनिधित्व गर्थिन्," लामो वक्तव्यमा उनले भनेका छन्।

"ती आश्वासन इतिहासको कुनै सङ्कीर्ण धारणाभन्दा पनि वर्तमान घटनाको अभिप्रायको यथार्थतामा आधारित हुन्थ्यो।"

आयरल्यान्डका टिशोक मिहअल मार्टिनले महारानीको शासनलाई एउटा "ऐतिहासक अवधि" को रूपमा प्रस्तुत गर्दै उनको निधनलाई "एउटा युगको अन्त्य" को रूपमा व्याख्या गरे।

"सार्वजनिक सेवा र कर्तव्यप्रतिको उनको लगन स्वत: प्रमाणित थियो र उनको बुद्धिमत्ता र अनुभव साँच्चिकै अद्भुत थियो," एउटा वक्तव्यमा मार्टिनले सन् २०११ मा भएको राजकीय भ्रमणका क्रममा उनका "तमाम न्यानो टिप्पणी र विनयभाव" लाई लिएर उनलाई सम्झिए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले महारानी एलिजाबेथ "राष्ट्रमण्डलको उत्थानका साथै अफ्रिका र एशियामा उपनिवेश अन्त्य लगायतका व्यापक परिवर्तन भएका दशकहरूभरि नै आश्वस्त पार्ने उपस्थिति" भएको बताए।

एउटा वक्तव्यमा महासचिव गुटेरशले "आफ्ना नागरिकको सेवामा उनको अटल र आजीवन समर्पण" प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् र उनको नेतृत्व र प्रतिबद्धतालाई विश्वले लामो समयसम्म सम्झिरहने बताएका छन्।

इजरेलका राष्ट्रपति आइजक हर्टसोगले आफ्नो शासनकालभरि महारानीले असङ्ख्य परिवर्तनहरू देखेको तर उनी "स्थिर र उत्तरदायी नेतृत्वको प्रतीक अनि नैतिकता, मानवता र देशभक्तिको निम्ति पथप्रदर्शक"को रूपमा रहेको जनाए।

महारानीले इजरेलको भ्रमण गरेकी थिइनन् तर चार्ल्स, एड्वर्ड, विलियम र दिवङ्गत राजकुमार फिलिपले (जसकी आमालाई जेरुसलेममा समाधिस्थ गरिएको थियो) इजरेलको भ्रमण गरेका थिए।

राष्ट्रपति हर्ट्सोगले लेखेका छन्, "महारानी एलिजाबेथ ऐतिहासिक पात्र थिइन्: उनी इतिहासमा रहिन्, उनले इतिहास बनाइन् र निधनसँगै उनले भव्य र र प्रेरणादायी विरासत छाडेर गएकी छन्।"