चीन-ताइवान: दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटतर्फ अघि बढ्दै

दुई अमेरिकी युद्धपोतहरू ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेको अमेरिकी नौसेनाले घोषणा गरेको छ।

अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीको अगस्ट महिनाको सुरुमा भएको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ यस्तो पहिलो अभ्यास हुन लागेको हो। 

सो भ्रमणको विरोधमा चीनले उक्त क्षेत्रमा सैन्य अभ्यास गरेको थियो। 

सो जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अन्य पश्चिमा नौसेनाले नियमित रूपमा आउजाउ गर्ने गरेका छन्। 

वासिङ्टनका अनुसार ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने अधिकार प्रयोग गर्दैछन्। 

बेइजिङले त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ र ताइवान टापुलाई चिनियाँ भूभागको अभिन्न अङ्ग मान्छ। 

चीनले के भन्यो?

आइतवार चिनियाँ सेनाले ती दुई युद्धपोतका यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको जनाएको छ। 

रोयटर्स समाचार संस्थाका अनुसार चिनियाँ सेनाले जस्तोसुकै उक्साहटलाई परास्त गर्न तयार रहेको जनाएको छ। 

अमेरिकी नौसेनाले एक विज्ञप्तिमा ताइवान स्ट्रेट हुँदै गरिने यात्राले "स्वतन्त्र र खुला हिन्द-प्रशान्त क्षेत्रका लागि अमेरिकी प्रतिबद्धता" प्रस्तुत गर्ने जनाएको छ। 

विज्ञप्तिमा थप भनिएको छ, "ती पानीजहाजहरू उक्त स्ट्रेटमा त्यस्तो जलमार्गबाट अगाडि बढेका छन् जुन कुनै तटीय राज्यको जल सीमाभन्दा बाहिर पर्छ।" 

ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेको र आफ्ना फौजले त्यसलाई निगरानी गरेको भए तापनि "सामान्य अवस्था रहेको" जनाएको छ।

चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै आवश्यक परे बलपूर्वक फिर्ता ल्याइने बताउने गरेको छ।

तर आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको स्वशासित टापु ताइवानले आफूलाई चीनभन्दा भिन्न ठान्छ।

अमेरिकाको ताइवानसँग कस्तो सम्बन्ध छ?

अमेरिकाले सो टापुबारे मध्यमार्ग समातेसँगै पछिल्ला वर्षहरूमा ताइवान वासिङ्टन र बेइजिङबीचको सङ्घर्ष प्रकट हुने नयाँ विषय बनेको छ।

अमेरिकाले "एक चीन" नीतिप्रति प्रतिबद्धता जनाएको छ। तर वासिङ्टनले ताइवानसँग समेत "बलियो अनौपचारिक" सम्बन्ध कायम गरेको छ।

जसअन्तर्गत ताइवानलाई उसको प्रतिरक्षाका लागि हतियारहरू बेच्ने काम समेत गर्छन्।

दुई देशबीचको अवस्थामाझ कूटनीतिक रूपमा एउटा मात्र चिनियाँ सरकारलाई समर्थन गर्न सम्भव छ।

र अमेरिकाको ताइवानसँग नभईकन बेइजिङसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध छ।

चीन-ताइवान सम्बन्ध

  • किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
  • के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।

यो पनि हेर्नुहोस्