तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन-ताइवान: बेइजिङले गरेको सैन्य अभ्यासबाट हामी के बुझ्न सक्छौँ
अमेरिकी नेत्री न्यान्सी पलोसीको ताइपेई भ्रमणका कारण ताइवान र चीनबीच तनाव चुलिएको छ। स्वशासित ताइवानलाई चीनले आफ्नो भूभाग मान्छ।
प्रतिक्रियास्वरूप चीनले उक्त टापुवरपर गरेको सैन्य अभ्यासको अर्थ र त्यसप्रति दुई पक्षको दृष्टिकोण बीबीसी संवाददाताहरूले केलाएका छन्।
नयाँ सामान्य अवस्था
स्टीभन मक्डोनल, बेइजिङ
चिनियाँ कम्युनिस्ट पार्टीका कट्टरपन्थी नेताहरू न्यान्सी पलोसीको भ्रमणका कारण परेको प्रभावबाट सम्भवतः खुसी नै भएको हुनुपर्छ।
पलोसीले एउटा अवसर दिइन् र उनीहरूले त्यसलाई प्रयोग गरे।
चीनले उक्त क्षेत्रमा आफ्नो "स्वीकार्यता"का लागि यतिखेर ताइवानवरपर चरम सैन्य उपायहरू थालेको छ।
टापुमाथि क्षेप्यास्त्र प्रहार गर्ने जस्ता कदमहरू यतिखेर "स्वीकार्य" भएका छन्। अन्तर्राष्ट्रिय समुदायको अनुमोदन नगरे पनि बेइजिङ उम्किसकेको छ।
प्रत्येक पटक चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए)का लडाकु विमानहरू नजिक पुग्दा वा धेरै सङ्ख्यामा ताइवान स्ट्रेटमा देखिँदा त्यो नयाँ मापदण्ड बनिदिन्छ।
कुनै दिन मुख्यभूमि चीनले ताइवानमा आक्रमण गरेर बलपूर्वक उक्त भूभागलाई कब्जा लिन सक्ने सम्भावनालाई यतिखेर धेरै चिनियाँ नागरिकले स्वीकारेका छन्।
अनि त्यसो होस् भन्ने चाहने मानिसका लागि यो एउटा जितजस्तै भएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीको भनाइमा "मातृभूमिमा फर्काउन" अन्य थप शान्तिपूर्ण रणनीतिबारे अहिले छलफल भएको छैन वा त्यसको स्वरूपबारे सोचिएका छैन।
वास्तविक शस्त्रास्त्रसहित पीएलएले गरेको यो विशाल प्रदर्शनको अर्को फाइदा भनेको चीनको बढ्दो सैन्य क्षमता अजेय रहेको धारणालाई विश्वभरि फैलिन दिनु पनि हो। यसबाट सम्भवतः साउथ चाइना सीमा आफ्नो दाबी गर्ने दक्षिणपूर्वी एशियाली देशहरूलाई दबाव परेको छ।
यी विशाल सैन्य अभ्यासहरूका लागि केही योजना गरेको हुनुपर्थ्यो। पलोसीको ताइवान भ्रमणको योजना चुहिएपछि बल्ल उच्चपदस्थ सैन्य अधिकारीहरूले अचानक त्यसबारे सोचे भनेर कल्पना गर्न कठिन छ।
सम्भावित कुरा के हो भने उनीहरूसँग योजना तयार थियो र अवसर आउनासाथ उनीहरूले त्यसलाई कार्यान्वयन गरे।
बेइजिङमा गत साता एउटा अन्तर्वार्तामा एक राष्ट्रवादीले भनेका थिए, "धन्यवाद कमरेड, पलोसी!"
यदि चीन सरकार आक्रामक कुरा गर्न मात्र व्यस्त भएमा तथा उसले ताइवानलाई नियन्त्रणमा लिनुलाई कठिन, रक्तपातयुक्त र विनाशकारी कार्य नभई निकै सजिलो मान्न थालेमा खतरनाक परिस्थिति आउन सक्थ्यो।
केही विश्लेषकहरूले यस घटनाक्रमले ताइवानी र अमेरिकी सेनालाई आफ्ना प्रतिरक्षा रणनीतिहरू बनाउँदै मुख्यभूमिबाट हुने जुनुकुनै आक्रमण सामना गर्न तयारी गर्न सघाउने समेत ठानेका छन्।
तर ती अभ्यासहरू राष्ट्रपति सी जिन्पिङको सरकारका लागि पर्याप्त छैनन्।
शुक्रवार राति विदेश मन्त्रालयले गरेको घोषणाअनुसार चीनले अमेरिकासँग लागुऔषध र जलसुरक्षा समेटिने सीमापार अपराधमा अमेरिकासँगको सहकार्य भङ्ग गरेको छ।
अनि चीन र अमेरिकाबीच सबै उच्चस्तरीय सैन्य संवादहरू तत्कालका लागि अघि नबढाउने समेत बताएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी रक्षामन्त्री लोइड अस्टिन र अमेरिकी सेनाध्यक्ष मार्क मिलीको सम्पर्क गर्ने प्रयासलाई चिनियाँ पक्षले जबाफ दिएको छैन।
महत्त्वपूर्ण रूपमा बेइजिङले वाशिङ्टनसँगको जलवायु परिवर्तन सहकार्य अहिलेलाई रोकेको छ।
विश्वका सबैभन्दा ठूला यी कार्बन उत्सर्जक राष्ट्रहरू आपसी संवादमा छैनन्।
पलोसीको भ्रमणपछि तनाव स्वाभाविक रूपमा बढेको छ।
तर कम्तीमा अहिलेका लागि सीको सरकारले त्यसलाई मन पराएको देखिन्छ।
वाक्युद्ध
रुपर्ट विङ्फील्ड-हायस, ताइवान
विगत केही दिनमा धेरैको ध्यान ताइवान वरपर भएका सैन्य अभ्यासमा गयो। तर सैन्य अभ्यास जत्तिकै महत्त्वपूर्ण त्यस बेला बेइजिङबाट आएका शब्दहरू छन्।
चीनका विदेशमन्त्री वाङ यीले ताइवानी राजनीतिज्ञहरूको एउटा सानो समूहलाई इङ्गित गर्दै उनीहरूलाई "ताइवानी पृथक्तावादी फौज" भने।
उक्त सूचीको सुरुमै ताइवानकी राष्ट्रपति साइ यिङ-वेन छिन्। उनी चीनको कटु आलोचनमा परेकी छन्।
मन्त्री वाङले उनलाई "चिनियाँ राष्ट्रको अयोग्य सन्तान" र अर्को शब्दमा "गद्दार" को सङ्ज्ञा दिएका छन्।
त्यसको उद्देश्य ताइवानी जनतालाई एउटा सानो "समूह"बाट अलग्गै राखेर बेइजिङले तिनलाई शत्रु नमानेको देखाउन खोजिएको छ।
उसले उक्त "समूह"ले ताइवानलाई मातृभूमिबाट पर लैजाने प्रयास गरिरहेको बताएका छन्।
तर ताइवानप्रतिको यो धारणा वास्तविकताभन्दा नितान्त भिन्न छ। बेइजिङको लागि यो समस्या हो।
पछिल्लो मत सर्वेक्षणका अनुसार धेरैजसो ताइवानीहरू चीनसँग जुनकुनै खालको एकताको विपक्षमा छन्।
अनि उनीहरू आफू "चिनियाँ" नभनई "ताइवानी" भएको ठान्छन्।
वाङ यीका अनुसार साइ यिङ-वेनको सरकारले सबै तरिकाले चिनियाँ संस्कृति, पहिचान लगायतका पक्ष मेट्न खोज्दै "दुईवटा चीन" वा "एक चीन, एक ताइवान" बनाउन खोजिरहेको छ।
त्यसैले हामीले फ्रान्सका लागि चिनियाँ राजदूतले चीनसँग ताइवान "पुनरेकीकृत" भएपछि ताइवानी जनतालाई "पुर्नशिक्षा आवश्यक पर्ने" भनेको सुनेका छौँ।
उनका अनुसार आफू चिनियाँ भएकोमा विश्वास नगर्न उनीहरूको मनस्थितिलाई बलपूर्वक फेरिएको छ। त्यो पनि वास्तविकताभन्दा पूरै भिन्न छ।
ताइवान खुला समाज हो जहाँ मानिसहरू आफूलाई आवश्यक पर्ने कुरा पढ्न, आफूले चाहेको कुरा सोच्न र आफूलाई मन पर्नेलाई मतदान गर्न स्वतन्त्र छन्। अहिलेको प्रश्न यसको प्रभाव कस्तो पर्ला भन्ने हो।
बेइजिङको उद्देश्य सन् २०२४ को निर्वाचनमा ताइवानीहरूलाई राष्ट्रपति साइको दलविरुद्ध मतदान गर्न दबाव दिने देखिन्छ। उनीहरूले थप चीनमैत्री केएमटी (क्वोमिन्ताङ)लाई शक्तिमा फिर्ता ल्याउनेछ।
चिनियाँ मुख्यभूमिमा ठूलो लगानी रहेका ताइवानी शीर्ष व्यापारीहरूलाई पनि चीनले तर्साएको छ।
उनीहरूलाई "सही पक्ष चयन गर्न" भनिएको छ।
बेइजिङले यस्तो उपाय विगतमा समेत चालेको थियो तर त्यो खासै सफल हुन सकेन।
खासगरी फलफूल किसानसहित विभिन्न व्यवसाय गर्नेहरू बेइजिङको प्रतिबन्धबाट प्रभावित हुनेछन्। मुख्यभूमिबाट ताइवान आउने पर्यटकलाई बेइजिङले लगाएको प्रतिबन्धका कारण त्यहाँको पर्यटन उद्योग प्रभावित भइसकेको छ।
तर पछिल्ला केही दिनका घटनाक्रमलाई हेर्ने हो भने बेइजिङप्रतिको ताइवानी दृष्टिकोण थप कडा हुने देखिन्छ।
चीन-ताइवान सम्बन्ध
- किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
- ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
- के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।