चीन-ताइवान तनाव: सैन्य अभ्यासविरुद्ध तयारी गर्दै ताइवान

    • Author, रोबर्ट प्लम्मर
    • Role, बीबीसी न्यूज

अमेरिकी राजनीतिज्ञ न्यान्सी पलोसीको भ्रमण लगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ।

स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ।

ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ।

पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।

सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ।

अभ्यासहरू व्यस्त जलमार्गहरूमा हुने भएकाले यसमा लामो दूरीका प्रत्यक्ष गोलाबारी समावेश हुने बेइजिङले बताएको छ।

संयुक्त राज्य अमेरिकाले यो सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ।

ताइवानले भने यसलाई समुद्री तथा हवाई नाकाबन्दीको रूपमा व्याख्या गरेको छ।

विश्लेषक बोनी लिनले बीबीसीसँग ताइवानका सेनाले सावधानीपूर्वक प्रतिक्रिया जनाउने भए पनि लडाइँको जोखिम रहेको बताइन्।

"उदाहरणका लागि, चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना छ। दुई देशबीच हवाई टक्कर देख्न सक्छौँ। हामीले धेरै फरक परिदृश्यहरू देख्न सक्छौँ," उनले भनिन्।

ताइवानले बुधवार चिनियाँ लडाकु विमानहरूलाई चेतावनी दिनका लागि विमानहरूको आकस्मिक अवतरण गराएको र त्यहाँको सेनाले मुख्य भूमि नजिकै अवस्थित किनमेन टापुमा रहेका अज्ञात विमानहरू धपाएको बताएको छ।

ताइवान सरकारका अनुसार पछिल्ला दिनहरूमा त्यहाँका थुप्रै मन्त्रालयहरूले साइबर हमलाको सामना गरेका छन्।

ताइवानका अधिकारीहरूले विमानहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ तथा छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताइएको छ।

जापानले सैन्य अभ्यास भइरहेका क्षेत्रहरूमा आफ्नो विशेष आर्थिक क्षेत्र (ईईजेड) समावेश हुनेबारे चीन समक्ष चिन्ता व्यक्त गरेको छ।

चिनियाँ सरकारका प्रवक्ताले बेइजिङले जापानको "कथित" ईईजेड स्वीकार नगरेको जवाफ दिइन्।

बुधवार चीनले तटीय झेजियाङ प्रान्तमा एक सन्दिग्ध ताइवानी पृथकतावादीलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आशङ्कामा हिरासतमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

यसैबीच फ्रान्सका लागि चिनियाँ राजदूत लु शायेले फ्रान्सको एक टीभीसँग ताइवानसँग "पुनः एकीकरण" भएपछि, बेइजिङले "पुनः शिक्षा" मा जोड दिने बताए।

यसअघि चीनको उत्तर-पश्चिमी सिनजियाङ क्षेत्रमा रहेका अधिकांश-मुस्लिम अल्पसङ्ख्यकहरूलाई हिरासतमा राख्ने बेला चीनले "पुनः शिक्षा" शब्दको प्रयोग गरेको थियो। तर मानव अधिकार समूहहरूका अनुसार त्यसरी हिरासतमा लिइएका १० लाखभन्दा बढी मानिसहरूलाई जेल चलान गरिएको छ।

पलोसी २५ वर्षमा ताइवान भ्रमण गर्ने सर्वाधिक वरिष्ठ अमेरिकी राजनीतिज्ञ हुन्। उक्त भ्रमण उनको बृहत् एसियाली भ्रमणको एक अंश हो।

चीनले यस भ्रमणविरुद्ध चेतावनी दिएको थियो।

अमेरिकाले "कथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको" आरोप लगाउँदै चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्: "आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।"

पलोसीले भ्रमण पश्चात् विज्ञप्ति जारी गर्दै "चीनले विश्वका नेताहरू वा अरू कसैलाई ताइवानको मौलाउँदो लोकतन्त्र सम्मान गर्न, यस देशका सफलताहरूको चर्चा गर्न र उसलाई निरन्तर सहयोग पुर्‍याउने प्रतिबद्धता पुनः स्पष्ट पार्नका लागि त्यहाँ भ्रमण गर्नबाट रोक्न नसक्ने" बताइन्।

ताइवानबाट फर्किएपछि पलोसी दक्षिण कोरिया पुगेकी छन्। त्यहाँ उनले आफ्ना समकक्षी किम जिन-प्योसँग भेट गरिन्।

उनले अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घ र उत्तर कोरियाको निगरानीमा दुई कोरियाबीचको सीमा नजिक रहेको संयुक्त सुरक्षा क्षेत्रको भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

अमेरिकाले आफ्नो ताइवान नीतिबारे कूटनीतिक कदम चालेको छ।

एकातिर यस देशले "एक चीन" नीतिको समर्थन गर्छ जसले चिनियाँ सरकारलाई मान्यता दिन्छ र यसले ताइवानसँग नभई बेइजिङसँगको सम्बन्धलाई औपचारिक बनाउँछ।

यद्यपि, अमेरिकाले ताइवानसँग "बलियो अनौपचारिक" सम्बन्ध कायम गर्छ जसअन्तर्गत ताइवानलाई प्रतिरक्षाका खातिर हतियार बेच्न सक्छ।

चीन-ताइवान सम्बन्ध

  • सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कूल तीन लाख सैनिक छन्।
  • ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।