स्वास्थ्य: शल्यक्रिया गर्दा अरू कस्ता स्वास्थ्य जटिलता देखिन्छन्?

शल्यक्रिया

तस्बिर स्रोत, MANMOHAN TRANSPLANT CENTRE

गत साउन ३१ गते, वीर अस्पतालमा एक जना महिलाको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा दाँत निकालिएको बारे समाचारहरू प्रकाशित भए। उक्त खबरबारे सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरूमा विभिन्न टिका टिप्पणी भइरहेका छन्।

केहीले चिकित्सकको लापरबाही भएको बताएका छन् भने कतिले अस्पताल प्रशासनलाई प्रश्न गरिरहेका छन्।

स्वास्थ्यकर्मीहरूले भने शल्यक्रियाको क्रममा बिरामीलाई बेहोस बनाउँदा इन्ट्यूबेशन अर्थात् श्वासनलीमा पाइप राखिने प्रक्रियामा हल्लिएका वा कमजोर भएका दाँत भाँच्चिन वा झर्न सक्ने बताएका छन्। यसबारे शल्यक्रिया अघि बिरामीका आफन्तलाई जानकारी गराउने गरेको उनीहरूको दाबी छ।

वीर अस्पतालका शल्य चिकित्सक इन्द्रकुमार झाले पनि शल्यक्रियाको क्रममा दाँतमा असर पर्नुलाई अपेक्षित जटिलताको रूपमा व्याख्या गरेका छन्। उनले बीबीसीसँगको कुराकानीमा "मानिसको शरीरमा धेरै किसिमको शल्यक्रिया गर्नु पर्ने हुन्छ र शरीरको प्रकार र शल्यक्रियाको प्रकृति अनुरूप फरक फरक जटिलताहरू देखिन सक्ने" बताएका हुन्।

"श्वासनलीमा पाइप राखेर कृत्रिम ढङ्गमा सास फेराउनु पर्छ। प्राय बिरामीको मुख वा घाँटीको बनावट सानो हुँदा पाइप राख्नै अप्ठ्यारो हुन्छ तर राख्नै पर्ने भएकाले कतिपय अवस्थामा कमजोर भएका दाँतहरू झर्न सक्छन्।"

घटनाबारे के भन्छ अस्पताल?

सम्भावित जटिलताबारे बिरामीको आफन्तलाई लिखित जानकारी दिएको वीर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतको दाबी छ।

"त्यो दुर्घटना हो। शल्यक्रियाको क्रममा विभिन्न समस्याहरू देखिन सक्छन्। त्यस्तो अवस्थामा बिरामीको उपचार र यस्ता अन्य जटिलताहरूको व्यवस्थापन अस्पतालले गर्छ," उनले भने।

कस्तो अवस्थामा जटिलता?

शल्यक्रिया गर्नुअघि विभिन्न परीक्षणहरू गरिए पनि केही असरहरू शल्यक्रिया गर्ने क्रममा आइलाग्ने विज्ञहरू बताउँछन्। शल्य चिकित्सक इन्द्रकुमार झाका अनुसार शरीरको कुनै पनि अङ्गको शल्यक्रिया गर्ने तयारीका क्रममा, शल्यक्रिया लगत्तै र शल्यक्रिया भएको केही समयपछि असरहरू देखिन सक्छन्।

"समय लिएर, स्वास्थ्य जाँच गरेर, सम्भावित जोखिम कम गर्ने तयारीपछि गरिने शल्यक्रियाहरू पनि हुन्छन्। तर आकस्मिक शल्यक्रियाको क्रममा परीक्षण र तयारी गर्ने समय नै हुँदैन," उनले भने।

"त्यस्तो अवस्थामा रक्तचाप, मधुमेहलगायतको सन्तुलन मिलाउन गाह्रो हुन्छ र जटिलताहरू अपेक्षित हुन्छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यान्सर उपचारमा कोभिड-१९ ले यसरी सघाएको हुनसक्छ

औषधिहरूले सबै मानिसको शरीरमा उस्तै प्रभाव नपार्ने भएकाले फरक फरक समस्या देखिन सक्ने डा. झाको भनाई छ।

शल्यक्रियाको क्रममा देखिने असरहरू कस्ता?

शल्यक्रिया गर्दा बिरामीलाई दुखेको महसुस नहोस् भन्ने हेतुले एनेस्थेसिया प्रयोग गरिन्छ। त्यसलाई कति र मानिसको शरीरको कुन भागमा प्रयोग गरिन्छ भन्ने कुराले असरहरू निर्धारण गर्ने बताउँछन् शल्य चिकित्सक समाज नेपालका महासचिव डा. विकल घिमिरे।

उनका अनुसार रिजनल एनेस्थेसियाको प्रयोग गर्दा, अर्थात् शल्यक्रिया गर्ने भागमा मात्र लट्ठ्याउने औषधि प्रयोग गर्दा हजारौँमध्ये सीमित मानिसहरूमा डाबरहरू आउने, सुई लगाएको भागमा निलो डाम बस्नेजस्ता समस्या देखिन्छन्। यस्तो प्रकृतिको एनेस्थेसिया प्रयोग गर्दा निकै कम मानिसलाई मात्र गम्भीर समस्या देखिन सक्ने डा. घिमिरेले बताए।

त्यस्तै केही बिरामीलाई मेरुदण्डमा सुई लगाएर शल्यक्रिया अघि बढाउनु पर्ने उनले सुनाए। यद्यपि, ढाडमा सुई लगाएर औषधि दिने प्रक्रिया सबैको हकमा प्रभावकारी नहुने उनले जिकिर गरे।

"केही मानिसलाई रगतहरू जमेर दाग बस्ने, मेरुदण्डबाट तरल पदार्थ बगेर टाउको दुख्ने, रिँगटा लाग्ने, वयस्क पुरुषहरूमा पिसाब रोकिनेजस्ता समस्याहरू देखिन सक्छन्," उनले सम्भावित असरहरूबारे भने।

"त्यस्ता असर कम गर्नकै लागि आवश्यक ठाउँ मात्र लट्ठ्याउने कुराको प्रयोगमा जोड दिन्छौँ।"

बिरामीलाई पूर्ण बेहोस बनाएर शल्यक्रिया गर्नु पर्दा चाहिँ बढी असरहरू देखिने उनले बताए। त्यस प्रक्रियामा प्राय बिरामीको मुखबाट कुनै नली राखेर श्वासप्रश्वास गराइने भएकाले कहिलेकाहीँ बिरामीको दाँत श्वास नलीमा पुग्ने जोखिम उच्च हुने उनको कथन छ।

त्यस्तै औषधिको असर धेरै हुँदा बिरामीको नसा सुन्निने, दुख्ने, डाबरहरू आउने र 'एनाफाइल्याटिक शक'को सम्भावना रहने बताए।

एनाफाइल्याटिक शकले बिरामीको प्रतिरक्षा प्रणालीमार्फत् रसायनहरू निकाल्छ जसका कारण बिरामीको रक्तचाप अचानक घट्ने र श्वासनली साँघुरो हुने, सास फेर्न अवरोध सिर्जना हुने, ढुकढुकीको गति द्रुत वा निकै सुस्त हुनेजस्ता समस्या देखिने चिकित्सकहरू बताउँछन्।

"केही मानिसको छालामा दाग बस्ने र वाकवाकी लाग्नेजस्ता लक्षणहरू देखिन्छ। तर यो कसलाई हुन्छ र कसलाई हुँदैन यसै भन्न सकिँदैन। हजारौँ मानिसमध्ये केही सय मानिसमा मात्र यस्ता जटिलता देखिन्छन्," डा. घिमिरेले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध जम्मा गर्न ‘मिल्क ब्याङ्क’ सुरु भएको छ।

अन्य समस्याहरू

धुवाँ, धुलोमा नियमित काम गर्ने वा धूम्रपान गर्ने बिरामीहरूको छातीमा शल्यक्रियापछि निमोनिया देखिन सक्ने जानकारहरू बताउँछन्।

त्यस्तै अधिकांश बिरामीको शल्यक्रियाको घाउ पाक्ने जोखिम उच्च हुने बताइन्छ। प्राय सङ्क्रमणका कारण त्यसरी घाउ पाक्ने डा. घिमिरे बताउँछन्। उनका अनुसार आन्द्रा वा पिसाबको नली नखोलेको अवस्थामा भने त्यस्तो सङ्क्रमणको सम्भावना कम हुन्छ।

"शरीरको भित्री अङ्गहरू खोलेको छैन भने सङ्क्रमणको सम्भावना एकदेखि चार प्रतिशत मात्र हुन्छ। खोलेको छ भने त्यो सम्भावना १० देखि १२ हुन्छ र सङ्क्रमण धेरै भएको अवस्थामा घाउ पाक्ने सम्भावना २० देखि २५ प्रतिशत पुग्छ," उनले भने।

जति सतर्कता अपनाए पनि सङ्क्रमण हुने र घाउ पाक्नेजस्ता समस्याहरूको सम्भावना यथावत् रहने उनको दाबी छ।

बिरामीको जीवन बचाउनका लागि यस्तै साना लाग्ने तर धेरै असर गर्ने समस्याहरू समाधान गर्नु पर्ने उनको तर्क छ।

"तर नेपालमा त्यस्ता जटिलतासँग जुध्न अपनाइने विधिहरूलाई लापरबाहीको रूपमा हेरिन्छ। एउटा चिकित्सकको लागि त बिरामीको श्वासनलीमा दाँत पर्न नदिन त्यसलाई निकाल्नु नै उचित उपाय हो नि," उनले भने।

सर्जिकल चेकलिस्टको अवधारणा

निर्देशन

तस्बिर स्रोत, NMC

नेपालमा शल्यक्रिया गर्दा देखिन सक्ने जटिलता न्यूनीकरण गर्नका निम्ति नेपाल मेडिकल काउन्सिलले केही मार्गदर्शनहरू लागू गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको सुझावलाई आधार बनाएर उक्त "सर्जिकल चेकलिस्ट" तयार पारिएको हो।

उक्त सूचीमा बिरामीले शल्यक्रिया प्रक्रियाका निम्ति अनुमति दिनु पर्ने, एनेस्थेसिया सम्बन्धी औषधि र उपकरणहरू जाँच गरिनु पर्ने, बिरामीको ढुकढुकी, एलर्जी वा रक्तस्राव हुने जोखिमबारे जाँच गर्नु पर्ने उल्लेख गरिएको छ।

त्यस्तै शल्यचिकित्सक जोखिमपूर्ण स्थितिहरूको आकलन गर्नु पर्ने, एनेस्थेसियन र नर्सिङ समूहले पनि निश्चित विषयहरूको जाँच गर्नु पर्ने भनिएको छ।

काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले अस्पतालहरूलाई शल्यक्रिया गर्दा देखिन सक्ने न्यूनतम समस्याहरू कम गर्न उक्त चेकलिस्ट लागू गराउन निर्देशन दिएको जानकारी दिए।

उनले भने,"सामान्य निर्देशनहरू हुन् तर निकै महत्त्वपूर्ण छन्।"

शल्यक्रिया वा अन्य उपचारहरूबारे वर्षमा ५० देखि ६० वटा गुनासाहरू आउने गरेको उनले बताए। त्यस्ता गुनासा वा उजुरीहरू कम गर्न निर्देशनहरू उपयोगी भएको उनले बताए।

यद्यपि, वीर अस्पतालमा भएको पछिल्लो घटनाबारे कुनै उजुरी नपरेको उनले बताए।