नेपाल स्वास्थ्यः अक्सिजनेटर नहुँदा विभिन्न अस्पतालमा मुटुको शल्यक्रिया 'रोकियो', के भन्छ सरकार

मुटुको शल्यक्रिया गर्दै चिकित्सकहरू

तस्बिर स्रोत, ManmohanCardiothoracicVascular&Transplant Centre

मुटुको शल्यक्रिया गर्दा प्रयोग हुने 'अक्सिजनेटर' नामक उपकरणको अभाव देखिएकाले देशभरि विभिन्न अस्पतालमा शल्यक्रिया प्रभावित भएको चिकित्सक र अधिकारीहरूले बताएका छन्।

मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोलाई सक्रिय राख्न उक्त उपकरण आवश्यक पर्ने भएकाले त्यो उपकरणबिना उपचार गर्न सम्भव हुँदैन।

काठमाण्डूस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उक्त उपकरण अभावकै कारण कम्तीमा ४० बिरामी फर्किएको विवरणहरू सार्वजनिक भएका छन्।

यद्यपि समस्या एउटा अस्पतालमा मात्र सीमित नरहेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको दाबी छ।

"अक्सिजनेटर गङ्गालाल अस्पतालसँग मात्र होइन, पूरा नेपालमा छैन। यो विश्वव्यापी आपूर्तिसँग जोडिएको समस्या हो," उनले बीबीसीसँग भने।

कसरी भयो अभाव?

कोरोनाभाइरस महामारी फैलिएपछि उक्त उपकरणका लागि आवश्यक पार्टपुर्जाको उत्पादन सुस्त हुनु र हाल युक्रेन युद्धका कारण ढुवानी प्रभावित हुनुलाई उनले अभावको मूल कारण ठानेका छन्।

"अस्पताल प्रशासनले आवश्यक सामग्री किन्न नसकेको वा ढिला गरेको भने होइन। हवाई ढुवानी निकै महँगो हुँदो रहेछ। पानीजहाजमार्फत् आउन समय लागेको हो," अधिकारीले भने।

उनका अनुसार उपकरण उपलब्ध भए शल्यक्रियाको लागि आवश्यक जनशक्ति तयार छ र अभावको अवस्थाबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जानकारी दिइसकिएको छ।

हार्ट-लङ मशीन

तस्बिर स्रोत, Getty Images

के भन्छ मन्त्रालय?

स्वास्थ्य मन्त्रालयले भने "हार्ट-लङ मशीन" पनि भनिने उक्त उपकरण खरिदको जिम्मेवारी अस्पतालको हुने भएकाले यस विषयमा "सरकारलाई नमुछ्न" आग्रह गरेको छ।

स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले बीबीसीसँगको कुराकानीमा भने,"उपचारमा आवश्यक आर्थिक अधिकार अस्पताललाई हुने भएकाले के कारण अभाव भयो भन्ने कुरा मन्त्रालयलाई थाहा हुँदैन।"

उनका अनुसार "खरिद प्रक्रियामा संलग्न अस्पताललाई प्रश्न गर्नुपर्छ र यस विषयमा सरकारलाई मुछ्न मिल्दैन।"

अभाव हुनुमा अस्पतालको गल्ती भएको उनको दाबी छ।

"विश्वव्यापी अभावको अवस्था थियो भने उहाँहरूले अगाडि नै मन्त्रालयसँग समन्वय गर्नुपर्थ्यो। सामान सकिएपछि पहल गर्न मिल्दैन," सचिव पोख्रेलले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मुटु कसरी जोगाउने?

आपूर्तिका चुनौती कस्ता?

उनका अनुसार मन्त्रालयले अस्पताललाई बजेट उपलब्ध गराउँछ। अस्पतालले २० करोड रुपैयाँसम्मको सामग्री खरिद गर्न सक्छ।

अक्सिजनेटर खरिद गर्नका निम्ति अस्पतालले टेन्डर आह्वान गर्छ र उत्पादकमार्फत् सीधै नेपाल ल्याउँछ। यस प्रक्रियामा नेपालमा चिकित्सकीय उपकरणहरूको व्यापार गर्ने कम्पनीहरू मध्यस्थकर्ता बन्ने जानकारी एक व्यवसायी विशाल पण्डितले दिए।

उनका अनुसार विश्वव्यापी रूपमा तीनवटा कम्पनीले अक्सिजनेटर उत्पादन गर्छन्।

इटालीका एक र अमेरिकाका दुई कम्पनीले उपकरणमा आवश्यक निश्चित पार्टपुर्जा तेस्रो पक्षसँग किन्छन्। तिनै पार्टपुर्जाको उत्पादन घट्नुले नेपालमा अस्पताल एवं सामान आपूर्ति गर्ने कम्पनीहरूले मगाएको सामान आयात हुन नसकेको उनको दाबी छ।

कार्डियोपल्मोनरी बाईपास गर्दा अक्सिजनेटरले फोक्सोले जसरी काम गर्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कार्डियोपल्मोनरी बाईपास गर्दा अक्सिजनेटरले फोक्सोले जसरी काम गर्छ

"सामग्री उत्पादन गर्ने कच्चा पदार्थ नै अभाव भएपछि सामान कसरी समयमा आउँछ? त्यसमाथि रुस र युक्रेन युद्धका कारण ढुवानीमा धेरै समस्या देखिएका छन्," पण्डितले भने।

आफूसँग भएको करिब ५० वटा अक्सिजनेटर गत असार महिनामा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई उपलब्ध गराएको उनको दाबी छ।

"निकै संवेदनशील उपकरणको अभाव भएको छ। हामीसँग भएको भए जसरी पनि अस्पतालहरूलाई उपलब्ध गराउँथ्यौँ। नौ महिनाअगाडि अमेरिकाबाट मगाएको सामग्री २५ जुलाईमा सिङ्गापुर आइपुग्छ। त्यहाँबाट हवाई ढुवानी गर्ने कि भन्नेबारे हामी व्यवसायीहरूबीच छलफल हुँदै छ," उनले भने।

यस्तो अवस्थामा अस्पतालहरूले एकअर्कासँगको समन्वयमा काम गर्नुपर्ने उनले बताए।

मनमोहन अस्पतालको अवस्था कस्तो छ?

कार्डियोथोरासिक शल्य चिकित्सक डा. भगवान् कोइरालाका अनुसार हालसम्म मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट केन्द्रमा पर्याप्त अक्सिजनेटर छ।

केही समयभित्र अस्पतालले मगाएको उक्त उपकरण नेपाल आइपुग्ने भएकाले पछि पनि अभाव नहुने उनले ठानेका छन्।

"एउटा अस्पतालमा अभाव हुँदा अर्कोमा चाप बढ्छ। त्यो धान्न गाह्रो पनि हुन्छ। तर हामी आपत्कालीन अवस्थाका बिरामीहरूलाई यहाँ सेवा दिन्छौँ," उनले बताए।

युद्धबाट ढुवानी प्रभावित भएको र खर्च बढेको हुनाले यो उपकरणको अभाव विश्वभरि भइरहेको उनको बुझाइ छ।

मुटु र फोक्सो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शल्यक्रिया गर्दा मुटु बन्द गरिएको बेला शरीरमा रक्तप्रवाह कायम राख्न हार्ट-लङ मशीन अर्थात् अक्सिजनेटर प्रयोग गरिन्छ

के हो अक्सिजनेटर?

शल्यक्रिया गर्दा मुटुलाई बन्द गर्नुपर्छ। मुटु बन्द गर्दा फोक्सो र शरीरको अन्य भागमा रक्त प्रवाह हुँदैन।

त्यस अवस्थामा रक्तप्रवाह जारी राख्न चाहिने उपकरण नै अक्सिजनेटर हो। यसलाई कृत्रिम फोक्सो समेत भन्न मिल्ने डा. कोइरालाले बताए।

उनका अनुसार मुटु बन्द पारेर गरिने हरेक शल्यक्रियामा उक्त उपकरण आवश्यक पर्छ र एक पटक प्रयोग गरेपछि नष्ट गरिन्छ। बालबालिका र वयस्कहरूको लागि भिन्नाभिन्नै आकारको अक्सिजनेटर प्रयोग हुन्छ।

गङ्गालाल अस्पतालमा अहिले बालबालिकाको शल्यक्रियामा प्रयोग हुने झन्डै १५० वटा अक्सिजनेटर बाँकी रहेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए। अहिले बालबालिका र अक्सिजनेटर नचाहिने शल्यक्रिया प्रभावित नभएको उनले बताए।

"शल्यक्रिया रोकेर हामीलाई पनि फाइदा छैन। बिरामीले दुःख पाएका छन् हामीलाई पनि नराम्रो महसुस भएको छ। तर बजारको समस्याका कारण एउटा व्यक्ति वा संस्थालाई दोष दिनु उचित हो जस्तो लाग्दैन," अधिकारीले भने।

भारतमा कस्तो छ अवस्था?

टाइम्स अफ इन्डियाका अनुसार ठूला सहरहरूमा पनि अक्सिजनेटरको अभाव देखिएको छ।

विज्ञलाई उद्धृत गर्दै प्रायः सबै उपकरणहरू अमेरिका वा युरोपेली देशबाट ल्याउने जनाइएको छ।

उक्त पत्रिकाका अनुसार अस्पतालहरूले आफूलाई आवश्यक उपकरण भारत भित्र्याउनका लागि सरकारसमक्ष लबिङ गरिरहेका छन् र आपूर्ति सुनिश्चित गर्न दबाव दिइरहेका छन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यान्सर उपचारमा कोभिड-१९ ले यसरी सघाएको हुनसक्छ