विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

बिरामीसँग शल्यचिकित्सक

तस्बिर स्रोत, University of Maryland School of Medicine

आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन्।

चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन।

"प्रत्यारोपण गर वा मरको अवस्था थियो," ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए।

"मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।"

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो।

प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ।

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई "अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने" बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ।

OrganDonor.gov का अनुसार सङ्कटको अर्थ अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ।

त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अनुहार र दुइटै हातको सफल प्रत्यारोपण गराएका विश्वकै पहिलो व्यक्ति के भन्छन्

माग पूरा गर्न जनावरको अङ्ग प्रयोगको सम्भावनाबारे लामो समयदेखि विचार गरिँदै आएको हो र सुँगुरको मुटुको भल्भ प्रयोग गर्ने विषय सामान्य भइसकेको छ।

सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए।

त्यतिबेला उक्त शल्यक्रिया सबैभन्दा विकसित प्रयोग थियो।

यद्यपि, त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने कुनै आशा थिएन।

अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्।

शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए। मुटुमा समस्या देखिएपछि उनलाई जीवित राख्न त्यसो गरिएको थियो।

"निको भएपछि ओछ्यानबाट बाहिरिने अपेक्षामा म छु," उनले गत बिहीवार भनेका थिए।

अब के हुनेछ भन्ने ठ्याक्कै स्पष्ट छैन। प्रत्यारोपणमा प्रयोग गरिएको सुँगुरलाई आनुवंशिक रूपमा परिवर्तन गरिएको थियो।

ग्रिफिथले उनहरूले "सावधानीपूर्वक उक्त प्रक्रिया" चालेको र बेनेटलाई पनि अनुगमन गरिरहेको बताए।