पहिलोपटक जीवित दाताको फोक्सो कोभिड बिरामीमा प्रत्यारोपण

फोक्सो

तस्बिर स्रोत, Getty Images

जापानकी एक जना महिला जीवित दाताको फोक्सो प्रत्यारोपण गरिने प्रथम महिला बनेकी छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण फोक्सो प्रभावित भएपछि उनले आफ्ना छोरा र श्रीमानबाट फोक्सोको अंश प्राप्त गरेकी हुन्।

चिकित्सकहरूले उनी छिट्टै पूर्ण रूपमा निको हुने आशा व्यक्त गरेका छन्।

मृत दाताबाट फोक्सो प्राप्त गरी प्रत्यारोपण गर्नका लागि कुरिरहेका बिरामीहरूको सङ्ख्या जापान सहित सबै देशहरूमा उच्च रहेको छ।

क्योटो युनिभर्सिटी हस्पिटलमा प्रत्यारोपण सम्पन्न गर्न करिब ११ घण्टा लागेको थियो।

ती महिला र दुवै दाताको अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

मृत दाताबाट चीन, युरोपेली देशहरू र अमेरिकामा दर्जनौँ प्रत्यारोपण भइसकेका छन्।

जापानमा फोक्सो प्रत्यारोपणका लागि कुरिरहेका बिरामीहरूको सङ्ख्या निकै धेरै रहेको अस्पतालले जनाएको छ।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण

अन्य स्वास्थ्य समस्या नरहेकी ती बिरामीको फोक्सो प्रत्यारोपण गरिनुपर्ने विषय स्पष्ट भएपछि उनका छोरा र श्रीमान्‌ले आफ्नो फोक्सोको अंश दिने निर्णय गरेका थिए।

उनीहरूलाई फोक्सोको क्षमता घटेपछि देखिन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमबारे जानकारी गराइएको थियो।

''यो उपचारले धेरै आशा जगाएको छ किनकि यसले नयाँ विकल्प सृजना गरिदिएको छ,'' प्रत्यारोपणमा संलग्न चिकित्सक प्राध्यापक हिरोसी डेटले भनेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर