कक्षा १२ नतिजा: भदौ १५ हाराहारीमा, ३५% भन्दा कम ल्याउनेले पुन: परीक्षा दिनुपर्ने

जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गते को हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बीबीसीलाई जानकारी दिएका छन्।

यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन-ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुन: परीक्षा दिनुपर्ने नियम लागु भएको उनले बताए।

के हो नन-ग्रेडिङ?

परीक्षामा निश्चित प्रतिशत अङ्क आउँदा ए प्लस, ए, बी, सी, डी जस्ता ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणालीलाई लेटर ग्रेडिङ भनिन्छ।

"तर कुनै विषयमा ३५% भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन-ग्रेडिङ हुन्छ। नन-ग्रेडिङ पाएका विद्यार्थीले पुन: बोर्ड परीक्षा दिनुपर्नेछ," शर्माले भने।

यसअघिका १२ कक्षा परीक्षामा 'कट-अफ' विन्दु थिएन। तर यसपालिदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको अधिकारीहरूले बताएका छन्।

"डी भन्दा मुनि एनजी वा नन-ग्रेडेड अङ्क दिइन्छ। नन-ग्रेडेड विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउँदैनन्," उनले भने।

अङ्क वर्गीकरण

  • ९० प्रतिशत र सोभन्दा माथि - ए प्लस (सर्वोत्तम)
  • ८०-८९.९ प्रतिशत - ए (अत्युत्तम)
  • ७०-७९.९ प्रतिशत - बी प्लस (उत्कृष्ट)
  • ६०-६९.९ प्रतिशत - बी (उत्तम)
  • ५०-५९.९ प्रतिशत - सी प्लस (सन्तोषजनक)
  • ४०-४९.९ प्रतिशत - सी (ग्राह्य)
  • ३५-३९.९ प्रतिशत - डी (आधारभूत)
  • ३५ भन्दा कम - एनजी (अवर्गिकृत)

नन-ग्रेडेड अङ्क आएमा के गर्ने?

यसपालि कक्षा १२ को बोर्ड परीक्षामा ४ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ती परीक्षार्थीमध्ये दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका निम्ति मौका परीक्षा यही वर्ष दिन पाइनेछ।

"परीक्षाफल आएको डेढ महिनापछि त्यस्तो मौका परीक्षा दिन पाइन्छ। मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटामात्र विषयमा जाँच दिन पाइन्छ। त्योबेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको जाँच दिनुपर्छ," उनले भने।

एनजी भनेको फेल भएको रूपमा बुझ्नु पर्ने उनले बताए।

यसअघि एनजी दिने चलन थिएन। बरु ई ग्रेड दिइन्थ्यो।

विद्यालय शिक्षाका जानकार धनञ्जय शर्मा नयाँ नियमलाई निको मान्दैनन्।

विगतमा एसईईमा पनि उसैगरी फेल गराउने नियम ल्याइन लागेको तर त्यसले धेरैलाई असर पर्ने देखेर बोर्ड पछि हटेको उनी ठान्छन्। तर कक्षा १२ मा चाहिँ फेरि उही नियम ल्याउनु युक्तिसङ्गत नहुने उनले बताए।

"कोभिडका कारण बालबालिकाको पढाइ तथा सिकाइ कम भयो भन्ने छ। फेरि अब फेल भइँदैन भन्ने मनोविज्ञान बालबालिका तथा अभिभावकमाझ भएको बेला यसरी एनजी भनेर फेल गराइदिनु ठीक लागेको छैन," उनले भने।

महामारीका कारण गत वर्ष पनि कैयन् विद्यालयहरूमा पाठ्यक्रम सिध्याउनै चापाचाप परेको थियो।

यसैपनि कम ग्रेड ल्याउनेले माथिल्लो कक्षामा भर्ना नपाउने हुनाले फेल नै गराउनु आवश्यक नभएको भन्दै उनले यो निर्णयले बालबालिकाहरूको मनोविज्ञानमा नकारात्मक असर पर्ने बताए।