तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पार्टी एकतातर्फ प्रचण्ड-माधव नेपालको पाइला, वरिष्ठ नेताको नजरमा 'तत्काल असम्भव'
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावी तालमेल गर्ने सहमति सुनाउँदा अर्को कुरा पनि खोले, "माधव (नेपाल) जीहरूसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ।"
त्यसबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल कोभिड भएर घरमै आराम गरिरहेका थिए।
प्रचण्डले 'आन्तरिक सहमति' सार्वजनिक गरेको भोलिपल्ट नेकपा एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले पनि एकता संयोजन समिति बनाउने निर्णय गरिएको तर व्यक्तिबारे टुङ्गो नलागेको जानकारी दिए।
तर पार्टी बैठकको भनिएको उक्त निर्णयले दलभित्रै एक खालको तरङ्ग पैदा गरेको देखिन्छ।
"अहिले माओवादीसँग पार्टी एकता सम्भव नै छैन," एकीकृत समाजवादीका एक वरिष्ठ नेता मुकुन्द न्यौपानेले बीबीसीसँग भने।
प्रचण्ड-नेपालको संयुक्त कदम?
सुरुमा प्रचण्ड र नेपालबीच समिति बनाउनेबारे सहमति भएको बुझिन्छ।
शुक्रवारको पार्टी बैठकमा पनि प्रचण्डले त्यसबारे चर्चा गरेका थिए।
माओवादी नेताहरूका भनाइमा वामपन्थी एकताको निम्ति पार्टीको तर्फबाट सहज वातावरण बनाउन प्रचण्ड दृढ सुनिन्छन्।
नेता हरिबोल गजुरेलले भने, "हिजोको पुरानै ठाउँबाट माओवादी चलाएर हुँदैन, माओवादीलाई नयाँ ठाउँमा पुर्याउनुपर्छ, विभिन्न धारहरूको अनुभवलाई पनि संश्लेषण गरेर नयाँ शिराबाट एकताको प्रयास गर्नुपर्छ भन्नुभयो।"
"माओवादी केन्द्र मात्रै समाएर बसेर मात्रै यो चल्दैन।"
एकीकृत समाजवादीका उपमहासचिव तुलाधरले अध्यक्ष नेपाल र नेता झलनाथ खनाल रहने गरी समिति बनाउन पार्टीको तर्फबाट सुझाव दिइएको बताए।
त्यसको ढाँचाबारे भने निर्क्योल हुन बाँकी रहेको माओवादी नेता गजुरेलको पनि भनाइ छ।
आलोचकहरूका बुझाइमा प्रचण्ड र नेपाल दुवैलाई यही अवस्थामा रहँदा आफ्नो दल राजनीतिमा हस्तक्षेपकारी भूमिकामा टिकी रहन नसक्ने त्रास छ त्यसैले साना ठूला जो सुकैसँग उनीहरूले एकता वा सहकार्यको प्रयास गर्नु स्वाभाविक हो।
भित्री उद्देश्य अरू पनि छन्?
सत्तापक्षीय गठबन्धनभित्र चुनावी तालमेलको निम्ति भइरहेको सिट बाँडफाँटको प्रयाससँग पनि यसलाई जोडेर हेरिएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससामु आफ्नो दललाई वजनदार देखाउने प्रयासमा रहेको ठानिएको छ।
उनको दलभित्र वाम एकता वा सहकार्यको निम्ति विवाद छैन।
तर एकीकृत समाजवादीभित्र माओवादीसँग बढी निकटता र एमालेसँगको पानी बाराबारको सम्बन्धलाई मन नपराउनेहरू पनि छन्।
तैपनि नेपालले किन खुला रूपमै त्यो अग्रसरता लिए त? एक थरीका बुझाइमा तीन वटा सम्भावित कारण छन्।
एक-अन्ततः पछि एउटै पार्टी बन्ने हो भनेर गठबन्धनमा बढी सीट माग गर्दा प्रचण्डको समर्थन जुटाउने,
दुई- माओवादीसँग मिल्न थाले भनेर एमालेभित्र दबाव सृजना गर्ने,
तीन-'एकता गरेरै भए पनि पार्टी पछि ठूलै बन्छ' भन्ने सन्देश दिएर कार्यकर्तालाई एमालेतिर फर्किन नदिने।
'फेरि दुई महिनामा उछिट्टिने?'
एकीकृत समाजवादीका वरिष्ठ नेता न्यौपानेका भनाइमा एकीकरणका थुप्रै बाधाहरू छन् त्यसमा राजनीतिक, वैचारिक र सैद्धान्तिक पक्षहरू पर्छन्।
त्यसमा गम्भीर बहस र छलफल गरेर दुई जना अध्यक्ष रहने सहमति गरेर नेकपा बनाइएको बताउँदै उनले त्यसै कारण नै एकता नटिकेको धारणा सुनाए।
माओवादीसँग मात्र नभई अहिले कसैसँग एकता सम्भव नरहेको बताउँदै उनले भने, "कहिल्यै विगतको समीक्षा नगर्ने, अनि एकता-एकता भन्ने फेरि दुई महिनामा झगडा गरेर उछिट्टिने?"
तर प्रचण्ड र नेपाल निकटस्थ कतिपय नेताहरूले अहिलेको अग्रसरतालाई दीर्घकालीन लक्ष्य सहितको बताउने गरेका छन्।
यसले कालान्तरमा नेकपा एमाले सहितको वाम एकताको आधार तयार गर्छ भन्ने उनीहरूको बुझाइ पाइन्छ।
तर नेकपा एमालेका नेताहरूले पछिल्लो प्रयासलाई कांग्रेससँग मोलमोलाइ गर्ने उद्देश्य र अस्तित्व जोगाउने छटपटीको परिणाम भन्दै आलोचना गर्ने गर्छन्।