एमसीसी नेपाल: निर्माणसम्बन्धी काम सुरु हुन अझै एक वर्ष लाग्ने, कारण यस्तो

प्रसारण लाइन

तस्बिर स्रोत, Getty Images

विक्रम संवत् २०७४ सालमा सम्झौता हस्ताक्षर भएर लामो समय विवादमा परेको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी अनुदान आयोजना नेपालको संसद्ले अनुमोदन गरेको पनि झन्डै ६ महिना पुग्न लागिसकेको छ।

तर उक्त आयोजनाअन्तर्गतका विद्युत् प्रसारण लाइन तथा सडक स्तरोन्नतिका मुख्य कामहरू अर्को वर्षमात्र सुरु हुने एमसीसी कार्यान्वयन गर्न गठित मिलेनीअम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले बिहीवार जनाएको छ।

"विभिन्न पूर्वतयारीका काम पूरा गरेर सन् २०२३ को अगस्टमा एमसीसीका निर्माण काम सुरु हुनेछन्। त्यसपछि पाँच वर्षभित्र सन् २०२८ को अगस्ट महिनासम्म ती सबै सम्पन्न भइसक्नेछन्," एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए।

किन ढिलो सुरु?

गत फागुन १५ गते संसद्ले 'व्याख्यात्मक घोषणा'सहित एमसीसी अनुमोदन गरेयता खासगरी जग्गा प्राप्ति, रूख कटानी तथा निर्माण क्षेत्रमा पहुँचका व्यवस्थाहरूसम्बन्धी काम भइरहेको एमसीए नेपालले जनाएको छ।

एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन, तीनवटा सबस्टेशन, तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नतिजस्ता निर्माण कार्यहरू छन्।

नेपालमा एमसीसीको विरोध हुने गरेको छ

तस्बिर स्रोत, Getty Images

"संसद्ले अनुमोदन नगरेसम्म केही समय अनिश्चयको अवस्था थियो। अनुमोदनपछि हामीले खासगरी प्रसारण लाइनको रेखाङ्कन लगभग सकाएका छौँ भने सबस्टेशनको डिजाइन सम्पन्न भएको छ। रूख गणना, दुई लाख रूखमा टाँचा लगाउने तथा कटानीको लागि अनुमतिका काम भइरहेका छन्," विष्टले भने।

ती सबै पूर्वतयारीका कामहरू सकिएपछि मात्र खास निर्माणको चरण प्रारम्भ हुने उनले बताए।

"हामी यो हिउँदमा पुस-माघतिर विभिन्न ठेक्कापट्टाका आह्वान गर्ने सोचमा छौँ... ताकि अर्को एक वर्ष पुग्दाखेरि सबै सहज किसिमले निर्माण अघि बढ्छ," उनले भने।

निर्माणको काम प्रारम्भ भएपछि एमसीसीको नियमानुसार पाँच वर्षभित्र सबै सम्पन्न भइसक्नुपर्नेछ। नत्र पैसा फिर्ता जानेछ।

GETTY
एमसीसी- नेपाल बजेट

  • $५० करोडनेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा हस्ताक्षर भएको थियो

  • $३९.८२ करोडविद्युत् ट्रान्समिसन लाइन आयोजना

  • $५.२३ करोडसडक सुधार आयोजना

  • $४ करोड कार्यक्रम सहायता

  • $ ९५ लाख अनुगमन तथा मूल्याङ्कन

Source: Millennium Challenge Corporation

विवादको असर परेको छ?

अमेरिकी अनुदानलाई सामरिक रणनीतिसँग जोडेर उठेका कैयौँ प्रश्नहरूको घेरामा परेपछि एमसीसी निकै विवादमा पर्‍यो।

पछि सत्तारूढ दलका नेताहरूले व्याख्यात्मक घोषणासहित फागुनमा एमसीसी अनुमोदन गराए।

त्यसपछि पनि कतिपय समूहहरूले एमसीसीको विरोध गर्दै आएका छन् तथा अवरोधका धम्की समेत दिएका छन्।

तर पूर्वतयारीका कामहरूमा अहिलेसम्म त्यस्तो ठूलो विरोध झेल्नुनपरेको विष्टले सुनाए।

खड्गबहादुर विष्ट

उनका अनुसार ३१५ किलोमिटर लामो प्रसारण लाइनको रेखाङ्कन गर्दा करिब ३० किलोमिटर जतिमा चाहिँ स्थानीय किसिमका विरोधहरू आएका छन्।

"कसैको जग्गामाथि परेको वा कुनै पुरानो योजना विकास गर्नुपर्ने ठाउँमा परेको भन्ने खालका गुनासाका कारण केही त्यस्ता ठाउँमा प्रसारण लाइन अलि घुमाउनुपर्ने हुनाले पुनर्सर्वेक्षण गर्न थालेका छौँ।"

त्यस्तै जग्गा प्राप्तिका लागि काम भइरहेको अनि करिब ८५४ वटा टावर पनि बनाउनुपर्ने भएकाले सामान्य जटिलता रहेको उनले बताए।

उनका अनुसार प्राप्ति गरिएको जग्गा एमसीसीको नाममा नभई एमसीए नेपालको नाममा रहनेछ।

"एमसीए नेपाल भनेको एमसीसी कार्यान्वयन गर्न गठित विकास समिति हो जसको अध्यक्ष नेपाल सरकारको अर्थसचिव रहेका छन्," उनले भने।

सबस्टेशन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एमसीसीअन्तर्गत रातमाटे, दमौली र बुटवलमा सबस्टेशन पनि निर्माण गर्ने योजना छ

कति खर्च भइसक्यो?

एमसीसीका लागि अमेरिकी सरकारले ५० करोड डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर थप्नेछ।

त्यसमध्ये पूर्वतयारीको चरणमा करिब १३ प्रतिशत वा आठ करोड डलर जति खर्च हुने बताइएको छ।

"विगतमा अनिश्चयका कारण सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म एमसीसीबाट आउने पैसा रोकिएको थियो। अहिले आइराखेको छ," विष्टले भने।

बीचमा एमसीसीबाट पैसा नआउँदा नेपाल सरकारले पैसा हालिदिएको उनले बताए।

अहिलेसम्म पाँच अर्ब रुपैयाँ जति खर्च भइसकेको बताइएको छ।

एमसीसी कम्प्याक्टको प्रारम्भिक चरणदेखिका महत्त्वपूर्ण घटनाक्रम

प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा नेपाल एमसीसीको थ्रेसहोल्ड कार्यक्रमका लागि छनोट

खिलराज रेग्मी नेतृत्वको सरकार हुँदा चुनौतीहरूको विश्लेषणका लागि नेपाली अर्थशास्त्रीहरूको समूह गठन

सुशील कोइराला नेतृत्वको सरकार रहँदा एमसीसीले नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी प्राप्त

सुशील कोइराला
Image caption सुशील कोइराला Image copyright by GETTY IMAGES

पूर्वसचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन

सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी सम्झौता

Image copyright by GETTY IMAGES

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व रहेका बेला कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्नसम्बन्धी सम्झौता

पुष्पकमल दाहाल नेतृत्वको सरकारका बेला द्विपक्षीय वार्ता टोली गठन

Image copyright by RSS

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारद्वारा सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्ने स्वीकृति

Image copyright by Nepal PMO

देउवा सरकारकै पालामा सम्झौतामा हस्ताक्षर गर्न तत्कालीन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने मन्त्रिपरिषद्वारा निर्णय

Image copyright by RSS

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको बेला मिलेनीअम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर

ओली प्रधानमन्त्री रहँदा एमसीसीलाई अनुमोदनका लागि संसद्‌मा पेस गर्ने र अनुमोदन भएपश्चात् सम्बन्धित दातृनिकायलाई जानकारी गराउने निर्णय

Image copyright by GETTY IMAGES

ओली नेतृत्वकै सरकारद्वारा एमसीसी सम्झौता संसद्‌ सचिवालयमा दर्ता

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको विरोध र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी अवरोधबीच प्रतिनिधिसभामा अमेरिकी अनुदान सम्झौता एमसीसी पेस

Image copyright by RSS

देउवा नेतृत्वको सरकारद्वारा पेस गरिएको एमसीसी सम्झौता र सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणा प्रतिनिधिसभामा छलफलपछि बहुमतद्वारा अनुमोदन

Image copyright by GETTY IMAGES