एमसीसी: सडक आयोजनामा 'नयाँ प्रविधि प्रयोगमा ल्याइने', के कारण अरूभन्दा भिन्न

राष्ट्रिय गौरव आयोजना अन्तर्गतको मध्य पहाडी पुष्पलाल लोकमार्गको पोखरा बाग्लुङ सडकखण्ड

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

यसै साता प्रतिनिधिसभाले "व्याख्यात्मक घोषणा" सहित अनुमोदन गरेको अमेरिकी अनुदान सम्झौता एमसीसीअन्तर्गत रहेको सडक मर्मत आयोजनामा नेपालमा "नयाँ प्रविधि प्रयोगमा ल्याउन" लागिएको मिलेनीअम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपाल विकास समितिका प्रमुखले बताएका छन्।

उनका अनुसार उक्त प्रविधि पछि नेपाललाई हस्तान्तरण गरिने योजना छ।

झन्डै ६० अर्ब रुपैयाँ बराबरको उक्त सम्झौताबाट पाँच वर्षभित्र करिब ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र ७७ किलोमिटर सडक मर्मत सम्भार गर्ने योजना रहेको एमसीए नेपाल विकास समितिले जनाएको छ।

पाँच करोड २२ लाख अमेरिकी डलर लगानीमा अघि बढाइने सडक मर्मत आयोजनाअन्तर्गत बढीमा ३०५ किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मत सम्भारमा खर्च गर्न सकिने व्यवस्थाअनुरूप ७७ किलोमिटर सडक 'नयाँ प्रविधि' प्रयोग गरी मर्मतसम्भार गरिने योजना बनाइएको हो।

कहाँ हुनेछ नयाँ प्रविधिको प्रयोग?

आयोजना अन्तर्गत लुम्बिनी प्रदेशको राजधानीस्थित भालुवाङबाट महेन्द्र राजमार्ग अन्तर्गतको पश्चिमतर्फ जाने सडकलाई मर्मत गर्ने योजना बनाइएको विष्टले जानकारी दिए।

नयाँ प्रविधिको प्रयोग गरेर हाल १२ मिटर चौडाइ रहेको सडकलाई १४ मिटरमा स्तरोन्नति गरिने योजना बनाइएको छ।

GETTY
एमसीसी- नेपाल बजेट

  • $५० करोडनेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच सन् २०१७ मा हस्ताक्षर भएको थियो

  • $३९.८२ करोडविद्युत् ट्रान्समिसन लाइन आयोजना

  • $५.२३ करोडसडक सुधार आयोजना

  • $४ करोड कार्यक्रम सहायता

  • $ ९५ लाख अनुगमन तथा मूल्याङ्कन

Source: Millennium Challenge Corporation

सडक मर्मत आयोजनाले प्रथम चरणमा परीक्षणका रूपमा झन्डै ४० किलोमिटरको पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही सडक खण्डको मर्मत सम्भार कार्य गर्ने एमसीए नेपालको वेबसाइटमा उल्लेख छ।

त्यसपछि उक्त राजमार्गको लमही-शिवखोला खण्ड (३७ किमि) को मर्मत कार्य अगाडि बढाइनेछ। उक्त सडकखण्ड अर्घाखाँची र दाङ जिल्लामा पर्छ।

"कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व यो प्रविधिको परीक्षण गरिएको सुनिश्चित गर्न आयोजना तयारीको एक अंशका रूपमा प्रविधिको परीक्षण र मूल्याङ्कन गरिनेछ। ती परीक्षणका नतिजासम्बन्धी जानकारीलाई नियोजित रणनीतिक सडक मर्मत कार्यको कार्यक्रम डिजाइन गर्नमा प्रयोग गरिनेछ," एमसीए नेपालको वेबसाइटमा उल्लेख गरिएको छ।

नयाँ प्रविधि के हो?

महेन्द्र राजमार्गअन्तर्गत दाङको धानखोला देखि बाँकेको शिवखोलाबीच ७७ किलोमिटर लामो सडकखण्डमा 'फुल डेप्थ रिक्लेमेशन' (एफडीआर) प्रविधिको प्रयोग गरी सडक मर्मत गरिनेछ।

यो प्रविधिमा कालोपत्र गरिसकिएको सडकलाई लगभग ३० सेन्टिमिटर खनेर निकालिएका तत्त्वलाई पिस्ने अनि तताएर पुनः प्रयोगयोग्य बनाइने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए।

त्यसपछि सिमेन्ट वा अन्य तत्त्व मिश्रित घोलन तयार पारेर "एकदमै उच्च गुणस्तरमा" बेस कोर्सलाई (जग) साह्रो पार्दै 'सुपरपेभ' गरेर माथिल्लो भागमा कालोपत्रे गरिने उनले बताए।

एमसीसी कम्प्याक्टको प्रारम्भिक चरणदेखिका महत्त्वपूर्ण घटनाक्रम

प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा नेपाल एमसीसीको थ्रेसहोल्ड कार्यक्रमका लागि छनोट

खिलराज रेग्मी नेतृत्वको सरकार हुँदा चुनौतीहरूको विश्लेषणका लागि नेपाली अर्थशास्त्रीहरूको समूह गठन

सुशील कोइराला नेतृत्वको सरकार रहँदा एमसीसीले नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी प्राप्त

सुशील कोइराला
Image caption सुशील कोइराला Image copyright by GETTY IMAGES

पूर्वसचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन

सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्नेसम्बन्धी सम्झौता

Image copyright by GETTY IMAGES

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व रहेका बेला कम्प्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्नसम्बन्धी सम्झौता

पुष्पकमल दाहाल नेतृत्वको सरकारका बेला द्विपक्षीय वार्ता टोली गठन

Image copyright by RSS

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारद्वारा सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्ने स्वीकृति

Image copyright by Nepal PMO

देउवा सरकारकै पालामा सम्झौतामा हस्ताक्षर गर्न तत्कालीन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने मन्त्रिपरिषद्वारा निर्णय

Image copyright by RSS

प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको बेला मिलेनीअम च्यालेन्ज कम्प्याक्टमा हस्ताक्षर

ओली प्रधानमन्त्री रहँदा एमसीसीलाई अनुमोदनका लागि संसद्‌मा पेस गर्ने र अनुमोदन भएपश्चात् सम्बन्धित दातृनिकायलाई जानकारी गराउने निर्णय

Image copyright by GETTY IMAGES

ओली नेतृत्वकै सरकारद्वारा एमसीसी सम्झौता संसद्‌ सचिवालयमा दर्ता

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको विरोध र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी अवरोधबीच प्रतिनिधिसभामा अमेरिकी अनुदान सम्झौता एमसीसी पेस

Image copyright by RSS

देउवा नेतृत्वको सरकारद्वारा पेस गरिएको एमसीसी सम्झौता र सम्झौतामाथिको १२ बुँदे व्याख्यात्मक घोषणा प्रतिनिधिसभामा छलफलपछि बहुमतद्वारा अनुमोदन

Image copyright by GETTY IMAGES

यो प्रविधि हालको भन्दा पर्यावरणअनुकूल हुने र यसको जग निकै बलियो हुनेहुँदा भार बढी भएका गाडीहरूले असर नपार्ने बताइन्छ।

"दश-बाह्रसम्म खासै मर्मत गर्नुपर्दैन। सडकमा आएका फोहोर सफा गरिरहनुपर्छ पानीको निकासका लागि। सडकको दुई भागमा रहेका नाली सफा गर्नुपर्छ," बिष्टले भने।

''तर यो प्रविधि चाहिँ सडक फुट्ने, चिरा आउने यस्तो चिजलाई … चिराहरू सबै भरिएको हुन्छ र सडक मेटल (धातु) जस्तो हुन्छ भनेर यो प्रविधि ल्याउने हो।''

सामान्यतया कच्ची सडकमा सडकको खस्रोपन मापन गर्ने आईआरआई मापदण्डका हिसाबले हेर्दा आईआरआई सातदेखि आठ हुने बिष्ट बताउँछन्।

त्यस्तै काठमाण्डूका तुलनात्मक रूपमा राम्रा सडकको आईआरआई "तीनदेखि चार" हुन्छ।

"यो हामीले बनाउन लागेको आईआरआई भनेको १.२ हो। निकै चिल्लो सडक। यो चाहिँ मोटरमा बसेर पत्रिका समेत पढ्न सकिने खालको बनाउने भनेको हो," बिष्टले भने।

यस्तो सडक बनाउँदा गाडीको मर्मतसम्भार कम गर्नुपर्ने र सडक पनि आफैँमा धेरै वर्षसम्म मर्मत गर्नुपर्ने भएकाले प्रविधि ल्याउन लागिएको उनी बताउँछन्।

नेपाल अमेरिका झन्डा

तस्बिर स्रोत, Getty Images

लागतमा कति फरक हुन्छ?

हाल सडक निर्माणमा लाग्ने लागतको तुलनामा यो नयाँ प्रविधिको प्रयोग महँगो भने हुनेछ।

तर लामो समयसम्म आर्थिक लाभको मूल्याङ्कन गर्दा भने यसको प्रतिफल राम्रो हुने जानकारहरू बताउँछन्।

सरकारले हरेक वर्ष सडक मर्मतका लागि रकम विनियोजन गर्ने गरेकोमा यसले त्यो भार केही कम गर्ने ठानिएको छ।

"त्यस्तै चिल्लो सडकमा गाडी छिटो कुद्ने हुँदा कार्यक्षमता पनि बढी भयो। यो सबै कुरा गरेर एउटा आर्थिक मूल्याङ्कन गर्दा यो राम्रो देखिएको हो," बिष्टले भने।

हाल यो प्रविधि भारतमा पनि प्रयोगमा रहेको र विश्वका विभिन्न देशहरूमा २०-२२ वर्ष देखि प्रयोगमा रहेको उनले जानकारी दिए।