अफगानिस्तानः तालिबानलाई अवज्ञा गर्दा जेल परेकी महिला जो दोस्रो पटक देश छोड्न बाध्य भइन्

तालिबानले सत्ता कब्जा गर्नुअघि वाहिदा अमिरी एउटा पुस्तकालयमा काम गर्थिन्। तर तालिबानले महिलाहरूको अधिकार खोस्न थालेपछि उनीहरूविरुद्धबोल्न आँट गर्ने व्यक्तिमध्ये उनी पनि थिइन्। उनले बीबीसीकी सोदाबा हैदरसँग तालिबान शासनविरुद्ध बोलेकै कारण आफू गिरफ्तारमा परेको र पछि देश छोड्न बाध्य भएको बताएकी छन्।

"तालिबानले मलाई जासुस ठहर गर्‍यो, तालिबानविरुद्ध विद्रोह सुरु गर्न सघाएको र चर्चामा आउन सडकमा गएको आरोप ममाथि लगायो," अमिरीले भनिन्।

उनीहरूमध्ये एकले मलाई भने, "घर जाऊ र खाना पकाऊ।"

तर म अफगान महिलाहरूका लागि समान अधिकार चाहन्थेँ। सत्य यही हो। उनीहरूको पढ्न पाउने अधिकार, काम गर्ने र सुनिने अधिकार।

के मेरो माग अस्वाभाविक थियो र?

उनीहरू हामीलाई गिरफ्तार गर्न आएको दिन काबुलमा डरलाग्दो शून्यता छायो।

त्यतिखेर तालिबानविरुद्ध प्रदर्शन गर्ने धेरै महिलाहरूलाई लगिँदै थियो। त्यसैले हामीलाई सुरक्षित घरमा सारिएको थियो।

तालिबानले अफगानिस्तान कब्जा गरेपछिका केही महिना म उनीहरूको विरोध गर्न सडकमा देखिने आँटिली महिला थिएँ।

मैले उनीहरूका आँखामा हेरेर भनेकी थिएँ, "तिमीहरूले मलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्न पाउँदैनौ। म महिला हुँ र म तिमीहरू बराबर हुँ।"

अहिले म लुकेर बाँचिरहेकी छु। मेरो अपराध के हो थाहा छैन, तर उनीहरू मलाई खोज्दै यहाँ पनि आउन सक्छन्।

एक्कासि भवनको बाहिर गाडीको रोकिएको आवाज सुनियो।

मैले त्यहाँ उपस्थित गाडी वा सिपाहीहरूको सङ्ख्या गन्न सकिनँ।

तयारी देख्दा लाग्थ्यो - उनीहरू आफ्नो देशमा स्वतन्त्र रूपमा बाँच्न पाउने मागसहित आन्दोलनरत केही महिलाहरूलाई मात्र होइन पूरै गाउँलाई पक्राउ गर्न आएका हुन्।

उनीहरू कोठामा छिर्दा मेरा साथीहरूको चिच्याहटबीच मैले सुनेँ: "के यहाँ वाहिदा अमिरी छिन्? के तिमीहरूले उनलाई देख्यौ? उनी कहाँ छिन्?"

मलाई लाग्यो, "अब सबै कुरा सकियो। म मर्छु।"

पुस्तकहरू र त्यो सुखद ठाउँ

म एक साधारण महिला थिएँ।

मैले कानुन विषयमा स्नातक गरेकी थिएँ र ३३ वर्षको उमेरमा मैले काबुलको केन्द्रमा एउटा पुस्तकालय चलाएकी थिएँ।

पुस्तकालय मेरो लागि खुसीको ठाउँ थियो जुन महिलासहित सबैका लागि खुला थियो।

कहिलेकाहीँ हामीहरू सुकुमेल मिसाएको परम्परागत अफगान चिया पिउँदै नारीवादजस्ता विषयमा छलफल गर्थ्यौँ।

ती दिनहरूमा अफगानिस्तान पूर्ण थिएन तर हामीसँग स्वतन्त्रता थियो।

मलाई पुस्तकहरूमा गहिरो रुचि थियो किनकि २० वर्षको उमेरसम्म म आफू स्वयं पढ्न सक्दिनथेँ।

तालिबानले अफगानिस्तानमा पहिलो पटक आफ्नो कालो र सेतो रङ्गको झण्डा फहराउँदै आउँदा मैले भर्खरै विद्यालय जान सुरु गरेको थिएँ। यो सन् १९९६ को कुरा हो।

उनीहरूले सुरुमै दिएका आदेशमध्ये बालिकाहरूको निम्ति विद्यालय बन्द गराउनु पनि थियो।

त्यतिबेला हाम्रा सबै आफन्तहरू उत्तरी पहाडी उपत्यका र हाम्रो मूल घर पन्जशीर फर्किए। तर मेरो बुबाले यहीँ बस्ने निर्णय गर्नुभयो । मेरी आमाको मृत्युपछि बुवाले दोस्रो विवाह गर्नुभयो।

त्यसपछिका वर्षहरू साह्रै पीडादायी थिए।

हामी पाकिस्तानमा बसाइँ सर्‍यौँ, त्यहाँ घरको सबै काम र जिम्मेवारीहरू मेरो काँधमा आयो।

मैले दिनभरि पकाउने, सरसफाइ गर्ने र भुइँ पुछ्ने काम गरेँ। मैले मेरो जीवन त्यस्तै हुने ठानेँ।

त्यसपछि सन् २००१ को सेप्टेम्बर ११ आयो। मैले टीभीमा ट्वीन टावर ढलेको भएको दृश्य देखेँ।

नाइन-इलेभनको घटनाले हामीजस्ता साधारण अफगानहरूको जीवनमा कति परिवर्तन ल्यायो भन्ने कुरा बुझ्न मलाई धेरै समय लागेन।

केही समयपछि हामीले पाकिस्तानबाट बिदा लियौँ।

किनकि तालिबान पराजित भएको थियो र घर फर्कनु हाम्रो लागि सुरक्षित थियो। मैले सोचेकी थिएँ- हामी फेरि कहिल्यै शरणार्थी बन्नेछैनौँ र मैले कहिल्यै पाकिस्तान फर्किनुपर्नेछैन।

हामी काबुल फर्कँदा म १५ वर्षकी थिएँ र मैले तालिबान सत्तामा नहुँदा जीवन कति फरक हुँदो रहेछ भन्ने कुरा भोगेँ।

केटीहरू विद्यालय जान्थे, काम गर्न सक्थे। तर त्यो परिवर्तन मेरो लागि थिएन। मेरो हकमा घर सफा राख्नु र पाहुनापाछाको सत्कार गर्नु शिक्षाभन्दा बढी महत्त्वपूर्ण थियो।

त्यसको पाँच वर्षपछि मेरो आफन्तले विद्यालय भर्ना हुन मद्दत नगरेसम्म मैले घर सम्हालेँ। पुस्तकमा अक्षरहरू अनौठो आकारका देखिन्थे। शब्दहरूले मलाई नै हेरिरहेका छन् कि जस्तै लाग्थ्यो।

म घरको भुइँ पुछ्ने र परीक्षा दिने काम एकसाथ गर्थेँ। त्यसरी म हरेक पटक असफल भएँ। उत्तीर्ण नभएसम्म मैले कोसिस गर्न भने छोडिनँ।

म कानुन पढ्न विश्वविद्यालयमा भर्ना हुनु कुनै चमत्कारजस्तै थियो। त्यतिबेलासम्म म उस्तै लज्जालु र डरपोक स्वभावकी केटी थिएँ।

त्यसपछि मेरो जीवनमा एक महिलाको आगमन भयो। उनको नाम भर्जिनिया वुल्फ थियो। उनको पुस्तक 'अ रूम्स अफ वन्स वन' एउटा घोषणापत्रजस्तो थियो।

त्यो पढेपछि मलाई आफ्नो पुनर्जन्म भएको अनुभूति भयो। यो महत्त्वपूर्ण पुस्तकले मलाई सबै कुरा सिकायो जुन मैले धेरै पहिले नै जान्नुपर्ने थियो।

मैले जति पढेँ त्यति नै म आफ्नो विचारले बलियो महिला हुँ भन्ने महसुस गरेँ।

जब काबुल ढल्यो

अगस्टको एक गर्मी दिन थियो, मैले पहिल्यै भोगेको एउटा दु:स्वप्न मेरो जीवनमा फर्कियो।

तालिबान फेरि एक पटक कालो र सेतो झण्डो फहराउँदै काबुलमा प्रवेश गर्‍यो। सन् १९९६ को जस्तै दृश्य सन् २०२१ मा दोहोरियो।

यस पटक म बच्चा थिइनँ। म अशिक्षित पनि थिइनँ। आफ्नो जीवन निर्माण गर्न निकै भयावह परिस्थितिबाट गुज्रिएकी थिएँ।

म यस पटक आफ्नो ठाउँ सहजै उनीहरूलाई सुम्पिने पक्षमा थिइनँ। अन्य महिलाहरूको पनि उस्तै विचार भएको थाहा पाएपछि मलाई निकै राहत मिल्यो।

हामी सबैलाई तालिबानविरुद्ध बोल्नुको जोखिम थाहा थियो तर हामी सबैको मत 'विरोध गर्ने' पक्षमा थियो।

हामीले हाम्रो समूहको नाम दियौँ: अफगानिस्तानका विद्रोही महिलाहरूको स्वतःस्फूर्त आन्दोलन।

यस बिन्दुमा पुग्दासम्म तालिबानले आफ्नो वास्तविक रूप देखाइसकेको थियो।

उनीहरूले महिलाहरूलाई काममा फर्किन र बालिकाहरूलाई विद्यालय जान दिने आफ्नो वाचा तोडिसकेका थिए।

उनीहरूले आफ्नो नयाँ 'सरकार' घोषणा गरे र त्यसमा एकजना पनि महिला थिएनन्।

सुरुका ती दिनहरूमा हामी आफ्नो अधिकारको मागसहित सडकमा निस्कियौँ।

तालिबान सैनिकहरूले हामीलाई घेरे। उनीहरूले हामीमाथि अश्रुग्यास प्रहार गरे र हावामा गोली हाने। उनीहरूले केही महिलाहरूलाई कुटपिट पनि गरेका थिए।

त्यसपछि उनीहरूले विरोध प्रदर्शनमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाए।

जोखिमपूर्ण स्थितिका कारण धेरैजसो महिलाहरूले आन्दोलन छोड्ने निर्णय गरे। तर उनीहरूले मलाई रोक्न सकेनन्।

मैले आन्दोलनलाई निरन्तरता दिएँ। प्रत्येक आन्दोलनको अघिल्लो रात म निदाउन सकिनँ।

ममा छटपटी थियो र डर पनि।

मलाई लाग्थ्यो -भोलि मेरो जीवनको अन्तिम दिन हुनेछ।

अनि पक्राउ

अफगानिस्तानमा कुनै महिलालाई पक्राउ गर्नु उनको प्रतिष्ठामा आँच पुर्‍याउनु जस्तै हो।

त्यहाँ कुनै महिला बलात्कृत भएकी छन् भने त्यो उनका लागि सबैभन्दा लाजको विषय हो भन्ने धारणा बनेको सामान्य छ।

सन् २०२२ को फेब्रुअरीको त्यस दिन तालिबानले हामीलाई गिरफ्तार गर्न हाम्रो आश्रयस्थलमा धावा बोलेपछि हामीलाई मोबाइल हस्तान्तरण गर्न लगाइयो।

मैले सास फेर्न सकिनँ। मेरो मनमा अब के हुन्छ? भन्ने प्रश्न उठ्यो। तिनीहरूले मलाई मार्छन् वा मलाई सामूहिक बलात्कार गर्छन् वा मलाई यातना दिन्छन्?

मेरो शरीर त्यहीँ थियो तर आत्माले छोडे जस्तो भयो।

हामीलाई ट्रकमा राखेर आन्तरिक मामिला मन्त्रालयमा लगियो।

हामीले रातो कार्पेट ओछ्याएको हल काट्यौँ र एउटा सानो कोठामा पुग्यौँ। त्यहाँ राष्ट्रिय झण्डा थियो र भित्तामा देशको विशाल नक्सा।

हामीलाई त्यहाँ १९ दिनसम्म राखिँदै थियो।

हाम्रो गिरफ्तारीको भोलिपल्ट एक तालिबान सैनिक ढोका खोलेर भित्र पस्यो। ऊ अग्लो थियो र उसको अनुहारमा आक्रोश देखिन्थ्यो।

उसले सरर कोठा वरपर हेर्‍यो र जब म उसको आँखामा परेँ तब उसले निकै अपमानजनक शब्दहरू बोल्यो।

उसले मलाई 'फोहोरी' र 'अपवित्र'को सङ्ज्ञा दिँदै भन्यो, "तैँले विगत छ महिनादेखि [इस्लामिक] इमिरेट्सको अपमान गर्दैछेस्। कोसँग मिलेकी छस्?'

मैले आफैँले गरेको बताएँ। त्यसपछि उसले मलाई एउटा कलम र कागजको टुक्रा दिएर भन्यो, "तँ जासुस होस्। तेरा सबै सहयोगीहरूको नाम लेख्।"

म तालिबानविरुद्ध प्रतिवाद गरेका कारण चिनिएको पन्जशीर प्रान्तकी भएकोले उनीहरूले मलाई उत्तरमा उनीहरूविरुद्ध लडिरहेको सशस्त्र समूहको समर्थक ठानेका थिए।

त्यसपछिका दिनहरू सुस्त भए। एकपछि अर्को महिलाहरू रिहा भए तर म भइनँ।

एक दिन उनीहरूले क्यामरा ल्याए र त्यहाँ बाँकी रहेका हामीलाई लेन्समा हेरेर उनीहरूको प्रश्नको उत्तर दिन लगाए।

किन उक्त छायाङ्कन गरिएको हो भनेर जान्न खोज्दा उनीहरूले त्यसलाई औपचारिकता मात्रै भएको र मन्त्रालयको अभिलेखमा राखिने बताए।

हामीलाई हाम्रो नाम, हाम्रो प्रदेशका र हामीलाई कसले सहयोग गरिरहेको विषयमा सोधे।

उनीहरूले हामीलाई जबरजस्ती विदेशमा रहेका अफगानी अभियन्ताको आडमा आन्दोलन गरेको भन्न लगाए।

त्यो सबैले हामीलाई प्रचारको निम्ति आन्दोलनरत र अफगानिस्तानबाट निकालिन मद्दत खोजेको रूपमा स्थापित गर्छ भन्ने पछिमात्र थाहा पायौँ।

करकापमा लिइएको बयान उनीहरूले केही समयपछि सञ्चारमाध्यममार्फत् जारी गरे।

हामीले भित्रैबाट ती भिडिओ प्रसारण भएको हेर्‍यौँ। सबै जना निकै रोयौँ र हामी विचलित भएका थियौँ।

त्यसपछि सबैले हाम्रो गिरफ्तारीबारे थाहा पाएका थिए। उनीहरूले हामीलाई बलात्कार गरेनन् तर धेरै मानिसहरूले त्यो भएको ठाने।

दुई दिनपछि उनीहरूले हामीलाई छोडिदिए।

त्यसका लागि हामीले मूल्य चुकाउनुपर्‍यो। हामीले फेरि कहिल्यै विरोध प्रदर्शन नगर्ने वाचा गर्नुपर्‍यो।

काबुलमा चिसो थियो। सडकहरू खाली थिए।

घर जाँदै गर्दा मेरो जेठो दाइले मलाई गाली गरिरहे। उनले भनेका थिए, "के सोचेकी थियौ वाहिदा? के तिमीले साँच्चै तालिबानलाई हराउने कल्पना गरेकी थियौ?"

म लज्जित थिएँ। मैले जागिर र स्वतन्त्रता दुवै गुमाइसकेकी थिएँ। अनि आन्दोलनलाई निरन्तरता दिन सकिनँ भने जीवनको अर्थ पनि गुमाएकी थिएँ।

एक दिन मैले अर्की महिला प्रदर्शनकारीसँगको अन्तर्वार्ता पढेँ। नाम नखुलाउने सर्तमा उनले हामी हिरासतमा रहँदा तालिबानले हामीलाई कुटपिट गरेको बताएकी थिइन्।

तर उनीहरूले त्यसो गरेका थिएनन्।

मेरो परिवारले मलाई काबुल छोड्न बिन्ती गर्‍यो किनकि उनीहरूलाई तालिबानहरू त्यो अन्तर्वार्ता पढेर क्रोधित हुने र मलाई खोज्दै आउने चिन्ता थियो।

मेरो रिहाइको दुई महिनापछि मैले एउटा सानो झोलामा लुगा र मेरो मन पर्ने पुस्तकहरू पोको पारेँ र मेरो मातृभूमिबाट बिदा लिएँ।

घर छोडेँ र पुन: एक पटक पाकिस्तान पुगेँ।

मैले मेरो पुस्तक राख्ने दराज छोडेँ। मेरो पुस्तकालय छोडेँ। काबुलको सत्तामा फेरि तालिबान आउनुभन्दा एक दिनअघि अर्थात् अगस्ट १४ मा मात्र म त्यहाँ पुगेकी थिएँ। कहिलेकाहीँ ती पुस्तकहरू त्यहाँ छन् कि छैनन् होला भनेर सोच्छु।

म पहिला लाइब्रेरियन थिएँ, अहिले शरणार्थी हुँ।

नयाँ जीवन

म पाकिस्तानमा अरू धेरै परिवारहरूसँग बस्छु। म मेरा किताबहरूतर्फ आँखा लगाउँछु तर मसँग पानाहरू पल्टाउने ऊर्जा छैन। म फसेको महसुस गर्छु।

मेरो देशमा अझै पनि महिलाहरूलाई बोल्न निषेध छ। धेरै मानिस तालिवानको खुलेर विरोध गर्न सक्दैनन्। म शान्ति खोज्दै पार्कसम्म पुग्छु तर मेरो देशका सर्वसाधारण मानिसको बारेमा चिन्ताले सताउन छोड्दैनI

मलाई मेरो घरको, परिवार र बिरालोको निकै याद आउँछ।

मलाई थोरै राहत र घरको न्यास्रो मेटाउन सघाउन नजिकै एउटा अफगान रेस्टुराँ छ। हिजोआज म स्थानीय पुस्तकालयमा समय बिताउँछु।

विद्रोहमा उत्रिएका महिलाहरूबारेमा केही लेख्ने कोसिस गर्छु।

हाम्रो जीवन र तालिबानका कारण भएको परिवर्तनहरूबारे लेख्छु।

मैले जे लेखिरहेको छु त्यसले एक दिन पुस्तकको आकार पाउने कुरामा आशावादी छु।

म संसारभरिका महिलाहरूले यो थाहा पाऊन् चाहन्छु - अफगान महिलाहरूले सहजै हार मानेनन्, उनीहरू लडे र जब उनीहरू चुप लागे तब मात्र पराजित भए।

उनीहरू कुनै न कुनै ढङ्गमा फेरि उठे।

म मेरो बाँकी समय जर्मनीदेखि अमेरिकासम्म रहेका अफगान महिलाहरूसँग तालिबानविरुद्धको विश्वव्यापी आन्दोलनलाई व्यवस्थित गर्नमा खर्चन्छु।

मेरो उद्देश्य भनेको अन्तर्राष्ट्रिय समुदायले उनीहरूलाई आधिकारिक सरकारको रूपमा कहिल्यै मान्यता नदेओस् भन्ने हो।

म चाहन्छु कि उनीहरूले तालिबानलाई विद्यालयहरू फेरि खोल्न, हाम्रा छोरीहरूलाई सिक्न दिन र हामीलाई आफ्नै देशमा स्वतन्त्र भएर बाँच्न दिन दबाव देऊन्।

मैले पढ्न नपाएर धेरै समय बरबाद भएको छ।

आजसम्म केही अक्षरहरू छन् जसको म उच्चारण गर्न सक्दिनँ। म मेरो देशको भावी पुस्ताले यो सबै भोग्न परोस् भन्ने चाहन्न।"

तस्बिरहरू: मुनज्जा अन्वर र मुसा यवरी