चीन-ताइवान: बेइजिङले नयाँ सैन्य अभ्यास गर्ने

ताइवान

तस्बिर स्रोत, Getty Images

चीनको सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने जनाएको छ।

यसअघि आइतवार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो।

चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्।

यसअघि चार दिने अभ्यास अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर बेइजिङको असन्तुष्टिका रूपमा हेरिएका थिए।

ताइवान के भन्छ?

ताइवानले ती अभ्यास चीनले आफ्नो टापुमा अतिक्रमण गर्ने तयारीका रूपमा गरेको आरोप लगाएको छ।

सोमवार ताइपेईले जनाए अनुसार यी अभ्यासमा हालसम्म चिनियाँ विमान र पानीजहाजहरू ताइवानी जलक्षेत्रमा प्रवेश गरेका छैनन्। 

अमेरिकासहित अस्ट्रेलिया र जापानले सैन्य अभ्यासको निन्दा गर्दै त्यसको उद्देश्य ताइवान स्ट्रेटमा यथास्थिति परिवर्तन गर्नु रहेको बताएका छन्। 

ताइवान

ताइवान स्ट्रेट ताइवान टापु र मुख्यभूमि चीनबीचको १८० किलोमिटरमा फैलिएको जलक्षेत्र हो। 

यस अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजहरूले बारम्बार स्ट्रेटको विद्यमान मध्यवर्ती रेखा पार गरेका थिए। 

तर ताइवानको रक्षा मन्त्रालयले सोमवार विद्यमान मध्यवर्ती रेखा सन् १९५० को दशकयता व्यवहारिक रूपमा अस्तित्वमा रहेको र त्यो 'तथ्य' भएको जनाएको छ। 

अमेरिका-चीन सम्बन्ध

वासिङ्टनले बेइजिङको निन्दा गर्दै पलोसीको भ्रमणलाई लिएर चीनले जलवायु परिवर्तन सहितका कैयौँ विषयमा सहकार्य तोडेको आरोप लगाएको छ। 

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एउटा प्रान्त ठान्दै त्यो अन्ततः बेइजिङको नियन्त्रणमा आउने बताउने गरेको छ। 

तर ताइवान स्वशासित टापु हो जो आफूलाई चीनभन्दा भिन्न ठान्छ। 

यद्यपि ताइवानलाई मान्यता दिने खालका कुनै पनि सङ्केतले चीनलाई क्रुद्ध पार्ने गर्छ। 

नयाँ सैन्य अभ्यास

चिनियाँ जल अधिकारीहरूले अन्य क्षेत्रमा समेत सैन्य अभ्यास हुने बताएसँगै ताइवान वरपरका नयाँ गतिविधिबारे विवरण आएको हो। 

चीन र कोरियाली प्रायद्वीप बीचमा पर्ने यल्लो सीमा नयाँ सैन्य अभ्यास दैनिक रूपमा अगस्टको मध्यसम्म हुनेछ।

पाँच त्यस्ता अभ्यासमा वास्तविक गोलीगठ्ठाहरू प्रयोग हुनेछन्। 

त्यसबाहेक चीनको पूर्वी तटतर्फको बोहाई सागरमा आइतवारबाट एक महिना लामो कारबाही सुरु भएको छ। 

यल्लो सीको उत्तरी भागमा एक महिना लामो अर्को सैन्य अभ्यास शनिवार सुरु भएको छ। 

ग्रे लाइन

चीन-ताइवान सम्बन्ध

चीन र ताइवान
  • किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
  • के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।

श्रेणी

ग्रे लाइन

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हवाई आक्रमणबाट जोगिन ताइवानमा यस्तो अभ्यास