ताइवान: चीनको सैन्य अभ्यास जारी, अमेरिकाद्वारा चर्को आलोचना

चिनियाँ लडाकु विमान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बेइजिङले आइतवारसम्म ताइवाननजिकै ‍आकाश र समुद्रमा सैन्य अभ्यास गर्ने अनुमान गरिएको छ
    • Author, जोर्ज राइट
    • Role, बीबीसी न्यूज

चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ।

ताइवानले चिनियाँ सैन्य अभ्यासको "यथोचित" प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो।

ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान "यथास्थिति फेर्न" प्रयास गरिरहेको छ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको नेतृत्वमा एउटा अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ।

चीनले उक्त भ्रमणलाई ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ। यद्यपि ताइवान आफूलाई छुट्टै राज्य मान्छ।

चिनियाँ जहाज र विमानहरूले सप्ताहान्तमा ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।

उसका अनुसार तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए।

तिनलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमानहरू उडाएको थियो।

ताइवान

आरोप र आग्रह

ताइवानी सेनाले चीनले ताइवानमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको बताएको छ।

आइतवार बिहान विमान र पानीजहाज परिचालन गरेर वास्तविक शस्त्रास्त्र गरिएका अभ्यासहरूको "यथोचित" प्रतिक्रिया दिइएको ताइवानको सेनाले भनेको विवरण रोएटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ।

ताइपेईमा संवाददाताहरूसँग बोल्दै ताइवानी प्रधानमन्त्री सू जन-चाङले चीनले क्षेत्रीय स्थिरता भङ्ग गर्न "हठपूर्वक" सैन्य अभ्यास गरेको आरोप लगाएका छन्।

यद्यपि उनले चिनियाँ पक्षलाई संयमित हुन आग्रह गरेका छन्।

बेइजिङले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन।

यद्यपि आइतवारसम्म ताइवाननजिकै ‍आकाश र समुद्रमा सैन्य अभ्यास जारी रहने अनुमान गरिएको छ।

अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप वाशिङ्टन डीसीले लगाएको छ।

"यी गतिविधिहरू यथास्थिति फेर्ने प्रयासमा चीनले गरेको एउटा ठूलो घटना हो। ती उत्तेजनापूर्ण र अनुत्तरदायी छन् अनि तिनले मिथ्या अनुमानको जोखिम बढाउँछन्," ह्वाइट हाउसका एक प्रवक्ताले भने।

"ती [गतिविधिहरू] ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने हाम्रो लामो लक्ष्यप्रतिकूल पनि छन्।"

ताइवान

चीनले पलोसीको ताइवान भ्रमणका कारण ताइवान स्ट्रेटको शान्ति र स्थिरतामा "गम्भीर" असर पुगेको बताएको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र अन्ततः बेइजिङको नियन्त्रणमा ल्याउन सकिने ठान्छ।

तर छुट्टै शासनव्यवस्था भएको ताइवानले आफूलाई मुख्यभूमि चीनभन्दा पृथक् ठान्छ।

अरू देशका नेताहरूले ताइवानलाई छुट्टै मान्यता दिएको सङ्केत पाउँदा चीन आक्रोशित हुन्छ। चीनले शुक्रवार पलोसी र उनका परिवारजनविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

पलोसीको भ्रमणबाट रिसाएको चीनले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणको प्रयासजस्ता केही महत्त्वपूर्ण विषयमा सहकार्य स्थगित गर्ने घोषणा गरेको छ।

चीनले ताइवाननजिकै सैन्य अभ्यास गरिरहेको छ

तस्बिर स्रोत, HANDOUT

वाशिङ्टनसँग वार्ताका महत्त्वपूर्ण माध्यम अवरुद्ध पारेर चीनले "अनुत्तरदायी पाइला" चालेको अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले आरोप लगाएका छन्।

लामो समयदेखि चीनको आलोचकका रूपमा चिनिएकी पलोसी चिनियाँ चेतावनीलाई वेबास्ता गर्दै मङ्गलवार ताइवान पुगेकी थिइन्।

पच्चीस वर्षपछि ताइवान भ्रमण गर्ने उनी वरिष्ठतम अमेरिकी अधिकारी हुन्।

ताइवानमा हुँदा उनले "विश्वले निरङ्कुशता र प्रजातन्त्रबीच" एकलाई रोज्नुपर्ने बताएकी थिइन्।

ग्रे लाइन

चीन-ताइवान सम्बन्ध

चीन र ताइवान
  • किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
  • के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।

श्रेणी

ग्रे लाइन

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हवाई आक्रमणबाट जोगिन ताइवानमा यस्तो अभ्यास