तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अयमान अल जवाहिरी: अमेरिकाले आक्रमण गरेर मारिदिएका अल-कायदाका यी नेता को हुन्
अफगानिस्तानमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका अयमान अल जवाहिरीलाई अल-कायदा सङ्गठनको मुख्य विचारक मानिन्थ्यो।
इजिप्टमा इस्लामिक जिहाद लडाकु समूह स्थापना गर्न सहयोग गर्ने उनी नेत्र शल्यचिकित्सक थिए। सन् २०११ को मे महिनामा अमेरिकी सेनाले ओसामा बिन लादेनको हत्या गरेपछि उनी अल-कायदाको शीर्ष नेता बनेका थिए।
त्यसअघि जवाहिरीलाई बिन लादेनको 'दाहिने हात' मानिन्थ्यो। केही विज्ञहरूले उनी सन् २०११ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणको "प्रमुख योजनाकार" भएको विश्वास गरेका छन्।
सन् २००१ मा अमेरिकी सरकारले घोषणा गरेको २२ "सर्वाधिक खोजिएका आतङ्कवादी"को सूचीमा जवाहिरी दोस्रो स्थानमा थिए। उनीभन्दा अगाडि बिन लादेनको नाम थियो। जवाहिरीलाई खोज्नेलाई २.५ करोड डलर इनाम घोषणा गरिएको थियो।
त्यस आक्रमणपछि जवाहिरी अल-कायदाको सबैभन्दा महत्त्वपूर्ण प्रवक्ताको रूपमा देखा परे। सन् २००७ मा उनी १६ वटा भिडिओ र अडिओमा प्रस्तुत भए। उक्त सङ्ख्या बिन लादेन देखा परेको भिडिओको सङ्ख्याभन्दा चारगुना बढी हो।
त्यतिबेला अल-कायदाले विश्वभरिका मुस्लिमहरूलाई कट्टरपन्थी बनाउन र आफ्नो सञ्जालमा भर्ती गर्ने प्रयास गरेको थियो।
काबुलमा गत साताको अन्त्यतिर गरिएको आक्रमणमा उनको हत्या भयो। यद्यपि त्यसअघि पनि अमेरिकाले जवाहिरीलाई लक्ष्य गरेर आक्रमण गरेको थियो।
सन् २००६ को ज्यानुअरीमा उनी अफगानिस्तान-पाकिस्तान सीमानजिकै अमेरिकी क्षेप्यास्त्र आक्रमणको निसानामा परेका थिए। उक्त आक्रमणमा परी अल-कायदाका चार सदस्यको मृत्यु भयो।
त्यतिबेला जोगिएका जवाहिरी घटना भएको दुई सातापछि एक भिडिओमा देखा परे। त्यसमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जोर्ज डब्ल्यू बुशलाई "न बुशले न त पृथ्वीको सम्पूर्ण शक्तिले नै" आफूलाई अकालमा मार्न सक्ने बताएका थिए।
प्रतिष्ठित पारिवारिक पृष्ठभूमि
इजिप्टको राजधानी कायरोमा सन् १९५१ को जुन १९ मा जन्मिएका जवाहिरी चिकित्सक एवं विद्वान्हरूको सम्मानित मध्यमवर्गीय परिवारमा जन्मे हुर्केका हुन्।
उनका हजुरबुबा रबिया अल जवाहिरी, मध्यपूर्वस्थित सुन्नी मुस्लिम शिक्षा केन्द्र अल अजहरका प्रतिष्ठित इमाम थिए। उनका काकाहरूमध्ये एक जना अरब सङ्घका प्रथम महासचिव थिए।
जवाहिरी विद्यालयमा रहँदै राजनीतिमा संलग्न भएका थिए र इजिप्टको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो मुसलमान सङ्गठन मुस्लिम ब्रदरहुडको सदस्य बनेका कारण १५ वर्षको उमेरमै पक्राउ परेका थिए।
यद्यपि राजनीतिक गतिविधिहरूका कारण उनलाई कायरो विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्नबाट उनी वञ्चित भएनन्। त्यहाँबाट उनले सन् १९७४ मा स्नातक तह पूरा गरे। त्यसको चार वर्षपछि उनले शल्यचिकित्सामा स्नातकोत्तर गरे।
जवाहिरीका बुबा मोहम्मद सोही विद्यालयमा औषधिशास्त्रका प्राध्यापक थिए। मोहम्मदको सन् १९९५ मा मृत्यु भएको थियो।
कट्टरपन्थी युवक
जवाहिरीले सुरुमा त आफ्नो पारिवारिक परम्परालाई जारी राखे। उनले कायरोमै एउटा मेडिकल क्लिनिक स्थापना गरे। त्यसको केही समयमै उनी इजिप्टको सरकारलाई परास्त गर्न लागि परेको कट्टरपन्थी इस्लामवादी समूहहरूप्रति आकर्षित भए।
सन् १९७३ मा इजिप्टको इस्लामिक जिहाद स्थापना हुँदा उनी त्यसमा सहभागी भए।
सन् १९८१ मा उनको समूह सेनाको पोसाक लगाएर कायरोको सैनिक परेडमा सहभागी भयो जहाँ उनीहरूले राष्ट्रपति अनवर सादतको हत्या गरे। लगत्तै सैनिक पोसाक धारण गरेका उनी सयौँ अरू सन्दिग्ध व्यक्तिसँगै पक्राउ परे। सादतले इजरेलसँग शान्ति सम्झौता हस्ताक्षर गरेर मुस्लिम अभियन्ताहरूलाई क्रुद्ध बनाएका थिए। उनले सयौँ विरोधीहरूलाई पक्राउ गरेका थिए।
सामूहिक सुनुवाइको क्रममा जवाहिरी प्रतिवादीहरूको नेताको रूपमा देखा परेका थिए र उनले अदालतमा "हामी आफ्नो धर्ममा विश्वास गर्ने मुस्लिम हौँ। हामी इस्लामिक राज्य र इस्लामिक समाज स्थापना गर्न खोजिरहेका छौँ" भनेको दृश्य खिचिएको थियो।
सादतको हत्यामा संलग्नताको आरोपमा सफाइ पाए पनि अवैध हातहतियार राखेको अभियोगमा जवाहिरीलाई दोषी ठहर गरिएको थियो र तीन वर्षको जेल सजाय सुनाइएको थियो।
उनीसँगका इस्लामवादी कैदीबन्दीहरूका अनुसार इजिप्टको जेलमा रहँदा जवाहिरीलाई अधिकारीहरूले नियमित रूपमा यातना दिन्थे र कुटपिट गर्थे। त्यस्तै निर्मम अनुभवका कारण उनलाई कट्टरपन्थी र हिंसात्मक चरमपन्थीमा परिणत बनेको भनिन्छ।
सन् १९८५ मा कैदमुक्त भएपछि जवाहिरी साउदी अरब गएका थिए।
त्यहाँबाट उनी पाकिस्तानको पेशावर र त्यसपछि छिमेकी देश अफगानिस्तान। सोभियत कब्जामा रहेको देशमा उनले चिकित्सकको रूपमा काम गर्दागर्दै इजिप्शन इस्लामिक जिहाद समूह खडा गरेका थिए।
सन् १९९३ मा उक्त इस्लामिक जिहाद समूह पुनः देखा परेपछि जवाहिरीले उक्त सङ्गठनको नेतृत्व गरेका थिए र उनी प्रधानमन्त्री आतिफ सिद्दकीलगायत इजिप्ट सरकारका मन्त्रीहरूमाथिको शृङ्खलाबद्ध आक्रमणको प्रमुख व्यक्तित्व थिए।
सन् १९९० को दशकको मध्यतिर सरकार ढाल्न र देशमा मुस्लिम राज्य स्थापित गर्ने समूहको अभियानमा इजिप्टका १२०० भन्दा बढी मानिसको ज्यान गयो।
सन् १९९७ मा अमेरिकी राज्य विभागले उनी भान्गार्ड्स अफ कन्क्वेस्ट समूहको नेता भएको बताएको थियो। उक्त इस्लामिक जिहादको उक्त समूहले सोही वर्ष लक्सरमा विदेशी पर्यटकहरूको हत्या गराएको मानिन्छ।
उक्त समूहले गराएका थुप्रै आक्रमणमा उनको भूमिकाका लागि दुई वर्षपछि इजिप्टको सैन्य अदालतले जवाहिरीलाई उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो।
निसाना
जवाहिरी १९९० को दशकमा आश्रय र आर्थिक स्रोत जुटाउन विश्वभ्रमणमा निस्किएको विश्वास गरिन्छ।
अफगानिस्तानबाट सोभियत सेना फिरेको केही वर्षपश्चात् उनी बल्गेरिया, डेन्मार्क र स्विट्जरल्यान्डमा बसेको अनुमान गरिन्छ। नक्कली पासपोर्ट प्रयोग गरेर उनी कहिलेकाहीँ बाल्कन क्षेत्र, अस्ट्रिया, इराक, इरान र फिलिपिन्सको समेत यात्रा गर्थे।
सन् १९९६ को डिसेम्बरमा बिनाभिसा चेचन्यामा पक्राउ परेपछि उनी छ महिना रुसी हिरासतमा बसेको बताइन्छ।
जवाहिरीले लेखिएको भन्ठानिएको एउटा बयानका अनुसार रुसी अधिकारीहरू उनको कम्प्युटरमा भएका अरबी भाषामा लेखिएका सामग्री अनुवाद गर्न विफल भए र फलतः उनको वास्तविक परिचय गोप्य नै रह्यो।
त्यस्तै १९९७ मा उनी ओसामा बिन लादेन बसिरहेको अफगान सहर जलालाबाद गए।
त्यसको एक वर्षपछि इजिप्शन इस्लामिक जिहाद समूहले पाँच अन्य कट्टरपन्थी इस्लामिक सैन्य समूहमा समाहित भयो। तीमध्ये बिन लादेनको नेतृत्व रहेको अल-कायदा पनि थियो। ती समूहहरू मिलेर यहुदीविरुद्ध जिहाद गर्ने इस्लामिक मोर्चा स्थापना भयो।
उक्त मोर्चाको पहिलो घोषणामा अमेरिकी नागरिकहरूको हत्या गर्ने अनुमतिसहित फतवा जारी भयो। त्यसको छ महिनापछि केन्या र तान्जानियास्थित अमेरिकी दूतावासमा दुई आक्रमणमा परी २२३ जनाको ज्यान गयो।
जवाहिरी र बिन लादेनबीच स्याटलाइट टेलिफोनमा भएको वार्तालाई उक्त घटनामा बिन लादेन र अल-कायदा संलग्न रहेको प्रमाण मानियो।
उक्त घटनाको दुई सातापछि अमेरिकाले अफगानिस्तानमा रहेको उक्त समूहको अभ्यास शिविरमा बम आक्रमण गर्यो। त्यसको अर्को दिन जवाहिरीले एक पाकिस्तानी पत्रकारलाई टेलिफोनबाट भने: "अमेरिकालाई भनिदिनू - त्यस देशको बम आक्रमण, धम्की र आक्रामक व्यवहारले हामीलाई त्रसित तुल्याउँदैन। युद्ध भर्खरै सुरु भएको छ।"
बिन लादेनको मृत्यु भएको केही वर्षपछि अमेरिकी क्षेप्यास्त्र आक्रमणमा जवाहिरीका सहायकहरू मारिए। त्यस घटनाले उनको विश्वव्यापी संयोजन गर्ने क्षमता कमजोर बनायो।
अनि पछिल्ला वर्षहरूमा जवाहिरी निकै कम सक्रिय रहेका थिए र कहिलेकाहीँ मात्र सन्देशहरू प्रवाह गर्थे।
गत वर्ष अफगानिस्तानबाट अमेरिकी सेनाको अव्यवस्थित फिर्तीपछि अहिले अमेरिकाले गरेको आक्रमणमा उनको मृत्युलाई ठूलो उपलब्धि मानिएको छ। इस्लामिक स्टेटजस्ता नयाँ समूह र अभियान शक्तिशाली हुँदै गएका बेला जवाहिरी खासै प्रभावशाली देखिएका थिएनन्।
अब अल-कायदाको नेतृत्व लिन नयाँ नेताको उदय हुने कुरामा कुनै संशय छैन तर उनको प्रभाव आफ्नो पूर्ववर्तीको भन्दा निकै कम हुनेछ।