तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल मनसुनः बुधवारबाट मौसम केही सफा हुने, बाढीपहिरोका कारण अहिलेसम्म ३४ जनाको मृत्यु
गत सातादेखि नै नेपालको अधिकांश भागमा निरन्तर परिरहेको वर्षा बुधवारबाट केही थामिने मौसम अधिकारीहरूले बताएका छन्।
तर सक्रिय मनसुनको बेला भएका कारण पानी पर्ने सम्भावना रहिरहने उनीहरूले बताएका छन्।
मौसमविद्हरूको भाषामा मनसुनलाई प्रभाव पार्ने न्यून चापीय रेखा भनिने प्रणाली बुधवारबाट नेपालबाट अलि तल सर्ने हुनाले मौसम केही सफा हुन सक्छ।
"खासगरी पूर्वी क्षेत्रबाट सर्ने हुनाले पूर्वी क्षेत्रमा सफा हुँदै पश्चिममा जानेछ। यसले बुधवारबाट पानी पर्ने कम हुने देखिन्छ," मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताइन्।
यसपालिको मनसुन कस्तो?
सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने गर्छ र अक्टोबर २ (मध्य असोज) मा बाहिरिने गर्छ।
तर यस वर्ष झन्डै एक साताअघि नै मनसुन सुरु भएको थियो।
मनसुनको अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ। यो वर्ष सामान्यभन्दा धेरै पानी पर्ने मौसमविद्हरूको पूर्वानुमान थियो।
"तर अहिलेसम्म हेर्दा यसपालि मनसुनमा ब्रेक वा पानी पर्ने क्रम रोकिँदै चल्दै गरेको छ। त्यसैले केही समयअगाडि ठाउँठाउँमा तापक्रम निकै बढेको थियो," महर्जनले भनिन्।
अझ पश्चिम क्षेत्रमा सुरुको अवधिमा मनसुन धेरै सक्रिय नहुँदा तापक्रम धेरै बढेको उनले बताइन्।
मनसुनकै बेला आउने बाढी पहिरोले प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान लिने गरेको छ।
यसपालि साउनको मध्यसम्म आइपुग्दा बाढीपहिरोबाट ३४ जनाको ज्यान गएको र दुई जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइले जानकारी दिएका छन्।
यो अवधिमा ३८ जना घाइते भएको तथा ७७ घर पूर्ण क्षति भएको पनि उनले बताए।
कति भयो रोपाइँ?
नेपालमा सिँचाइको पहुँच खेतीयोग्य जमिनको आधाभन्दा धेरैमा पुग्न सकेको छैन।
देशको अर्थतन्त्रको एकतिहाइ जति भाग कृषिले ओगट्छ भने कृषिभित्र पनि धानबालीको योगदान अत्यधिक छ।
त्यसैले मनसुन राम्रो भएको खण्डमा त्यसको सोझो लाभ अर्थतन्त्रलाई पुग्छ।
यसपालि साउनको मध्यसम्म आइपुग्दा झन्डै ८६ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए।
"गत वर्ष साउन १२ गतेसम्म ९४ प्रतिशतभन्दा धेरैमा रोपाइँ भइसकेको थियो। यसपाली धेरै धानबाली लगाइने प्रदेश १, मधेश र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा वर्षाकै कारण अलि ढिलो," उनले भने।
देशभरि कुल १५ लाख हेक्टरमा धानबाली लगाइन्छ।
यसपालि ६६ लाख मेट्रिक टन धान उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ।
"मनसुनको अवधि अझै बाँकी रहेकाले कृषिमा यसको समग्र असरको लेखाजोखा गर्ने बेला भइसकेको छैन। अझै पनि वर्षा राम्रो भएमा सम्भव छ," सञ्जेलले भने।
"विस्तारै मलको जोहो पनि भइरहेको छ। हामी आशावादी छौँ।"
गत वर्षको घटनाले त मनसुन सकिएपछि पनि झस्काइदिएको थियो।
मनसुन सकिइसकेपछि विशेषगरी पश्चिम क्षेत्रमा बाढी आएका कारण पोहोर कृषिमा पाँच अर्ब ७२ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयले जनाएको थियो।
यो पनि हेर्नुहोस्