कर्नाटक: हराएको सुगा भेट्नेलाई एक भारतीय परिवारले दियो एक हजार डलर

सेट्ठी परिवार र सुगा
    • Author, इमरान कुरैशी
    • Role, बीबीसी हिन्दी

आफ्नो जोडी पाँच दिनपछि जब घर फर्क्यो तब रिओको खुसीको सीमा रहेन।

रिओको जोडी उजस्तै स्फूर्ति भएको खैरो अफ्रिकी सुगा हो जसको नाम रुस्तोमा हो जो घरको ढोका खुला भएको बखत घरबाट भागेको थियो।

रुस्तोमा हराउनु तब समाचारको शीर्षक बन्यो जब उसलाई पाल्ने दक्षिणी भारतीय परिवारले उक्त सुगा फिर्ता ल्याउनेलाई नगद उपहार घोषणा गर्‍यो।

पाँच दिन पछि रुस्तोमा सुरक्षित घर फर्किएपछि उक्त परिवारले उद्धारकर्तालाई ८५,००० भारतीय रुपैयाँ प्रदान गर्‍यो। यो रकम पहिले घोषणा गरिएको भन्दा निकै बढी हो।

सेट्ठी परिवारका अनुसार उनीहरूले ती दुई सुगालाई बैङ्गलोरमा तीन वर्षअघि खरिद गरेका थिए। भारतमा अफ्रिकी सुगाहरू पाल्नु गैरकानुनी होइन। यद्यपि, भारतीय संरक्षणकर्मीहरूले अद्वितीय चराहरूको प्रजनन तथा बेचबिखनबारे वकालत गरिरहेका छन्।

"हामीले उनीहरूलाई सधैँ परिवारको सदस्यका रूपमा व्यवहार गरेका छौँ र उनीहरूलाई कहिल्यै पिँजडामा राख्नेबारे सोचेनौँ," व्यापारीसमेत रहेका अर्जुन सेट्ठीले भने।

उनका अनुसार ती चराहरूले परिवार, विशेषगरी सेट्ठीका सात वर्षीय छोरा बिहानसँग समय व्यतीत गर्न रुचाउँथे। यी सुगाहरूले आफ्नो वरपरका मानिसको आवाज नक्कल गर्थे।

तर दश दिनअघि, परिवारले घरमा नयाँ काष्ठ सामग्री ल्याउँदै गर्दा रुस्तोमा घरबाट उडेको थियो।

चरा हराएको सूचना

आफ्नो जोडी बेपत्ता भएसँगै रिओ हताश देखिन्थिन् र खान पनि अस्वीकार गर्थिन्।

सेट्ठीका अनुसार रुस्तोमाको तस्बिरसहितको पर्चा छाप्न र वितरण गर्न उनले "उल्लेख्य" रकम खर्च गरेका थिए र उनले ५०,००० भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेका थिए।

उनीहरूले छापिएको पर्चा आफूहरू बस्ने तुमाकुरु सहरको अधिकांश गल्लीहरूमा टाँसेका थिए।

परिवारले त्यहाँ चल्ने अटो रिक्सा चालकहरूलाई पनि लाउडस्पिकर मार्फत रुस्तोमा हराएकोबारे सूचना प्रवाह गरिदिन पैसा दिएका थिए।

घटनाक्रम अघि बढिरहँदा रुस्तोमा भने उनीहरूबाट मात्र तीन किलोमिटर पर थियो जहाँ उसलाई दुई मजदुरहरू श्रीनिवास र कृष्णमूर्तिले हेरचाह गरेका थिए।

कृष्णमूर्तिले रुस्तोमालाई उसले सेट्ठी परिवारको घर छाडेर उडेको एकदिन पछाडि नै भेटेका थिए। ऊ एउटा रुखको टुप्पोमा बसिरहेको थियो जहाँ ऊ बिरालो र कुकुरहरूबाट जोगिन प्रयासरत थियो। ऊ डर र भोकका कारण निकै थकित र निरस देखिन्थ्यो।

रुस्तोमा स्वेच्छाले कृष्णमूर्ति कहाँ पुगेका थिए। उनले त्यस सुगालाई श्रीनिवाससँग छोडिदिए जसले उसलाई पिँजडामा राखे र खाना खान दिए।

चार दिनपछि, ती दुई मजदुरले सुगा हराएको सूचना प्रकाशित पर्चा भेटे र सेट्ठीलाई सम्पर्क गरे। त्यसपछि उनीहरूले पुरस्कार रकम पर्चामा लेखिएभन्दा बढी भएको थाहा पाए।

"हामीले ज्योतिषसँग परामर्श गरेका थियौँ जसले रुस्तोमा तीन दिनभित्र फर्कने बताएका थिए। तर हामीले इनाम रकम बढाएको खण्डमा त्योभन्दा छिटो हुन सक्ने बताएका थिए,'' सेट्ठीले भने।

इनाम हस्तान्तरण

जब उनी रुस्तोमालाई लिन पुगे तब ऊ पिँजडामा निकै उदास मुद्रामा थियो।

"मलाई देख्ने बित्तिकै उसको अनुहार हेर्न लायक थियो। उसले आफू खुसी र उत्साहित हुँदा निकाल्ने निकै चर्को आवाज निकाल्न थाल्यो," सेट्ठीले हाँस्दै घटनाक्रम व्याख्या गरे।

रुस्तोमा फर्कँदा सम्पूर्ण परिवार जति हर्षित थियो त्योभन्दा बढी दङ्ग रिओ थिई।

सेट्ठीले अब उप्रान्त यी चराहरूको सूक्ष्म निगरानी गर्ने बताए। यद्यपि, रुस्तोमा बेपत्ता हुनुको पीडाले यस परिवारलाई यी चराहरू चिडियाखाना जस्तै व्यापक वातावरणमा पो खुसी हुन्छन् कि भन्ने सोच्न बाध्य तुल्यायो।

"के अभिभावकहरूले उच्च शिक्षा र जीवनमा प्रगति गर्न आफ्ना सन्तानहरूलाई अन्यत्र पठाउँदैनन्? सन्तान आफूसँगै बस्नु पर्छ भन्ने कुनै बाध्यकारी नियम छैन," उनले भने।

"यदि उनीहरू अन्यत्र खुसी हुन्छन् भने हामी उनीहरूबाट टाढा रहन पनि तयार हुनुपर्छ।"