भारतः द्रौपदी मुर्मू अब भारतको राष्ट्रपति, आदिवासी समुदायबाट राष्ट्राध्यक्ष बन्ने प्रथम व्यक्ति

तस्बिर स्रोत, Getty Images
भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्।
चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन्।
राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो।
अन्तिम मत परिणाम अनुसार मुर्मूले विपक्षी दलहरूका संयुक्त उम्मेदवार यशवन्त सिन्हालाई व्यापक मतान्तरले पराजित गरेकी हुन्।
मुर्मूले ६४.०३ मत प्राप्त गरिन् भने सिन्हाले ३५.९७ प्रतिशत मत पाए।
मुर्मूलाई साना र ठूला गरी ४४ वटा दलहरूले समर्थन गरेका थिए। तर मतदानका क्रममा कतिपयले पार्टी निर्णय विपरीत पनि मत दिएको जनाइएको छ।
विपक्षी दलका कतिपयले पनि मुर्मूलाई मत दिएको बीबीसी हिन्दीले जनाएको छ।
उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।
राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए।
उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्।
मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।
उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्।
कार्यकारी शक्ति नहुने सर्वोच्च पद
भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन।
उनीसँग चुनाव लडेका सिन्हाले मुर्मूलाई जितका लागि बधाई दिएका छन्।
सिन्हा पहिला भाजपामै थिए। सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए।
अहिले भाजपा र मोदीका प्रखर आलोचकका रूपमा सिन्हा चिनिन्छन्।

तस्बिर स्रोत, BJP
को हुन् द्रौपदी मुर्मू?
गत राष्ट्रपतीय निर्वाचनअघि उनलाई उम्मेदवार बनाउनेबारे भाजपाले विचार गरिरहेको हल्ला चलेपछि मुर्मू सन् २०१७ मा चर्चामा आइन्।
त्यस बेला उनी झारखण्ड राज्यको गभर्नरका रूपमा कार्यरत थिइन्।
उनको जन्म १९५८ को जुन २० मा उडिसाको मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको हो।
उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ।
भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ।

तस्बिर स्रोत, Hindustan Times via Getty Images
मुर्मूका बुवा ग्राम परिषद्का प्रमुख थिए। उनले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन्।
उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थालेकी उनी सन् १९७९-१९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक थिइन्।
उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरिन्।
कहिले आइन् राजनीतिमा?
द्रौपदी मुर्मूको राजनीतिक जीवन सन् १९९७ मा सुरु भएको हो।
त्यतिबेला उनी स्थानीय परिषद् सदस्य चुनिएकी थिइन्।
भाजपाबाट उनी राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित भइन्।
सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा उनी मन्त्री थिइन्। बिजु जनता दलका नवीन पटनायकले राज्य सरकारको नेतृत्व गरेका थिए।

तस्बिर स्रोत, RAJAT GUPTA/EPA-EFE/REX/Shutterstock
सुरुमा वाणिज्य तथा यातायातमन्त्री भएकी उनलाई पछि मत्स्य तथा पशु मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
सन् २००६ देखि सन् २००९ सम्म उनी उडिसामा भाजपाको अनुसूचित जनजाति मोर्चाकी अध्यक्ष थिइन्। भारतको संविधानले आदिवासी समुदायलाई सामाजिक र आर्थिक अवसर नपाएको समुदाय मान्छ।
सन् २०१५ मा उनले सक्रिय राजनीति त्यागिन् र छिमेकी राज्य झारखण्डको पहिलो महिला राज्यपालका रूपमा नियुक्त भइन्।
उनी राज्यपाल हुने उडिसाकै पहिलो आदिवासी नेता हुन्। राज्यपाल बनेर उनी सन् २०२१ को जुलाईसम्म छ वर्ष काम गरिन्।
झारखण्डको राजधानी राँचीमा रहेका बीबीसी हिन्दीका रवि प्रकाशका अनुसार आफ्नो कार्यकालमा मुर्मूले निकै प्रशंसा कमाएकी थिइन्।
"उनको कार्यालयको ढोका सबै किसिम समुदाय र पेसाका मानिसका लागि खुल्ला थियो," रवि प्रकाश भन्छन्।








