श्रीलङ्का सङ्कट: श्रीलङ्कालीहरूले गर्नुपर्ने कठिन रोजाइ

- Author, टेसा वङ र अनवरसन इथिराजन
- Role, बीबीसी न्यूज कोलम्बो
श्रीलङ्काको विरोध प्रदर्शनको केन्द्रविन्दु रहेको गल फेस ग्रीनमा असाध्यै गर्मी दिन छ।
पालै पालभित्रबाट एक जना महिलाले गाएको गीत गुञ्जिइरहेको छ।
महिनौँदेखि यी प्रदर्शनकारीहरू अलोकप्रिय बन्दै गएका राष्ट्रपतिगोटाबय राजपक्षको राजीनामा सिन्हाला भाषामा अरगालय अर्थात् सङ्घर्षको अग्रपङ्क्तिमा रहँदै आएका छन्।
श्रीलङ्कालीहरू गोटाबय र उनका दाजु तथा पूर्व राष्ट्रपति महिन्दालाई देशको अर्थव्यवस्था ध्वस्त हुनुका जिम्मेवार ठान्छन्।
सबै अपेक्षाहरूलाई चुनौती दिँदै प्रदर्शनकारीहरूले जितेका छन्। गत हप्ता सबैले चिन्ने नाम गोटाले राजीनामा दिएर देशबाट भागेका छन्।
तर अब साह्रै कठिन स्थिति आएको छ- राजपक्ष भागे पछिको राजनीति ठेगानमा ल्याउनु र असाध्यै कठिन निर्णयहरू गर्नुपर्नेछ।
राजपक्ष भागेपछि प्रदर्शनकारीहरूले अलोकप्रिय पूर्व प्रधानमन्त्री रनिल विक्रमसिङ्घमाथि आँखा लगाएका छन्।
श्रीलङ्कामा करिब दुई दशक शासन चलाएको राजपक्षसँग नजिकको सम्बन्ध भएको व्यक्तिका रूपमा विक्रमसिङ्घलाई लिइन्छ।
वर्तमान कार्यवाहक राष्ट्रपतिसँग नागरिकका आँखामा असाध्यै कम वैधानिकता छ।
विक्रमसिङ्घ विगतमा राष्ट्रपतीय निर्वाचन अभियानमा विफल भएका र संसद्मा सन् २०२० मा आफ्नै सीट समेत गुमाउन पुगेका व्यक्ति हुन्।
आफू भाग्दै गरेका बेला राजपक्षले कामचलाउ नेता बनाइदिएकाले अहिले परिस्थितिवश उच्च पदमा आसीन भएको व्यक्तिका रूपमा उनलाई हेरिन्छ।
गत बुधवार हजारौँ श्रीलङ्कालीहरूले प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गरेका थिए। गल फेस ग्रीनमा "गोटा गो होम" अर्थात् गोटा घर जाऊ भन्ने नारा महिनौँ लाग्यो। अहिले त्यो नारा "रनिल गो होम"मा परिणत भएको छ।

प्रदर्शनकारीहरू कैयौँले "रनिल गो होम" हेडब्यान्ड लगाएका छन्। तर विक्रमसिङ्घले संवैधानिक प्रक्रिया मान्ने र संसद्ले मतदान मार्फत् नयाँ राष्ट्रपति नचुनेसम्म पदमा रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कैयौँले उनी आफै राष्ट्रपतिको उम्मेदवार बन्ने र राजपक्षहरूको सत्तारुढ श्रीलङ्काज पीपल्स फ्रन्ट पार्टी एसएलपीपीको समर्थनमा जित्न पनि सक्ने विश्वास गर्छन्।
उनी ६ पटक प्रधानमन्त्री बनिसकेका छन् तर भ्रष्टाचार काण्डहरूका कारण कहिल्यै पनि आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाएनन्।
तर उनीसँग देश सञ्चालन गरेको अनुभव छ र स्थिरता तथा निरन्तरता चाहने सांसदहरूको समर्थन पनि रहेको विश्वास गरिन्छ।
राष्ट्रपति बन्न विपक्षी नेता पनि अघि सरेका छन् जस्तो कि विपक्षी नेता सजिथ प्रेमदासा र एसएलपीपी सांसद दुल्लस अलाहापेरुमा पनि। तर यसले मत विभाजन हुन सक्ने र त्यसको फाइदा विक्रमसिङ्घलाई हुन सक्ने ठानिएको छ।

यसैबीच श्रीलङ्काको आर्थिक सङ्कट पनि कायमै छ।
यहाँका केन्द्रीय ब्याङ्कका गभर्नरले बीबीसीलाई यो महिनाको अन्त्यपछि पेट्रोलियम पदार्थ खरिद गर्न आवश्यक विदेशी मुद्राको सञ्चिती छ कि छैन भन्ने अनिश्चित रहेको बताएका छन्।
यो देशलाई अहिले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग उसको ऋण कट्टी गर्न आवश्यक सहयोगको सम्झौताको नेतृत्व गर्ने नेता तत्काल आवश्यक छ।
के प्रदर्शनकारीहरूले सम्झौता गरेर विक्रमसिङ्घलाई केही समयका लागि स्वीकार गरेर आर्थिक आँधीबाट बाहिर निकाल्न नेता मान्न सक्लान्?
गत हप्ता बीबीसीले कुरा गरेका सबैले हुँदैन भनेका थिए। उनको छवि यति धमिलो छ कि उनीहरू विक्रमसिङ्घबाहेक जो सुकैलाई नेता मान्न तयार छन्।
"उनले सबैलाई जबाफदेही बनाउने राजपक्षहरूलाई पनि भन्दै शक्तिमा आएका थिए तर उनले केही गरेनन् त्यसैले जनताले उनलाई फेरि विश्वास गर्नेछन् भनेर मान्नु अनौठो हुन्छ "
विश्वविद्यालयकी विद्यार्थी अञ्जली वान्डुरगालाले भनिन्।
शनिवार विरोध प्रदर्शन आयोजक नुजली हामीमले सांसदहरूलाई जनताको माग सुन्न र विक्रमसिङ्घलाई राष्ट्रपति बन्न नदिन आग्रह गरे।
उनले चेतावनी दिए- यदि तपाईँहरूले रनिललाई राष्ट्रपतिमा समर्थन गर्नुभयो भने नयाँ चुनाव हुँदा तपाईँहरूलाई जनाले साथ दिने छैनन् त्यो याद गर्नुहोला ।

प्रदर्शन आयोजकहरूले विक्रमसिङ्घ बुधवार पुनः निर्वाचित हुनसक्ने भन्दै प्रदर्शन जारी राख्ने बताएका छन्।
तर विक्रमसिङ्घले उनीहरूको रिस शान्त पार्ने एउटै उपाय भनेको देशको आर्थिक सङ्कट समाधान वा विना अवरोध इन्धनको आपूर्ति हो जुन रातारात सम्भव छैन।
कतिपयले देशलाई सङ्कटबाट पार लगाउनुपर्ने आवश्यकता प्रमुख रहेको भन्दै प्रदर्शनले यस्तो प्रयासमा अवरोध गर्ने धारणा राख्दै आएका छन्।
"अरगालय (श्रीलङ्काको प्रदर्शनलाई दिइएको स्थानीय नाम)ले श्रीलङ्काको सत्तामा अब जो आए पनि स्वीकार गर्नुपर्छ। प्रदर्शन मात्रै गरेर हुँदैन," एक जना सांसदले गत साता आयोजकहरूसँगको छलफलमा भनेका थिए।
तर निरन्तरको प्रदर्शनको औचित्य पुष्टि हुन्छ वा हुँदैन भन्ने प्रश्न अझै गहिरो छ।
अरगालय
अभियानको सबल पक्ष भनेकै यो नेतृत्व विहीन स्वतःस्फूर्त छ। तर यही कारण यसलाई पूर्वानुमान गर्न र नियन्त्रण गर्न पनि कठिन छ।
विगत केही महिनायता शान्तिपूर्ण र्यालीहरू सैनिक र प्रहरीसँगको झडपमा परिणत भएका छन्। गत साता प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरे। उनीहरू राष्ट्रपतिको सचिवालय भवन कब्जा गरे र संसद्मा समेत प्रवेश गर्ने प्रयत्न गरे।

तस्बिर स्रोत, Reuters
तर यो आन्दोलनलाई केही समूहले आलोचना पनि गरिरहेका छन्।
बार असोसिएशनले कानुन विहीनता वा अराजकताको अवस्थामा त्यस्तो गतिविधि सहयोगी नहुने भन्दै प्रदर्शनकारीहरूलाई प्रधानमन्त्रीको कार्यालय छोड्न अपिल गर्यो।
अराजक भीडले आक्रमण गरेको भन्दै एम्बुलेन्स सेवाले समेत गुनासो गरेको छ।
केही नागरिकहरूले श्रीलङ्काको शक्तिको प्रतीक मानिने संस्थाहरूमा जबरजस्ती प्रवेश गरेर देशको पवित्रतामा ठेस पुर्याएको बताएका छन्।
प्रदर्शनलाई ऐक्यबद्धता जनाउँदै कतिपय व्यापारिक घरानाले आवश्यक आर्थिक सहयोग पनि गरेका छन्। तर प्रदर्शन लम्बिएर देशको अर्थ व्यवस्था थप अस्थिर बन्ने देखियो भने उनीहरूले पनि पुनर्विचार गर्न सक्छन्।
व्यक्तिगत कुराकानीमा प्रदर्शन आयोजकहरू प्रदर्शन हिंसात्मक बन्न सक्नेमा चिन्तित देखिएको बीबीसीले थाहा पाएको छ।
पछिल्लो महिना प्रदर्शनकारीहरूले सांसदहरूका घरहरूमा आगो लगाएका छन्। उनीहरूले विक्रमसिङ्घको निजी निवास र राजपक्षको पैतृक घरमा पनि आगजनी गरे।
सुरक्षाकर्मीहरू माथि प्रदर्शन नियन्त्रणका लागि प्रदर्शनकारीहरूमाथि गोली हानेको, नराम्रोसँग पिटेको र अश्रुग्याँसको अत्यधिक प्रयोग गरेको आरोप लागेको छ। उनीहरूले हालसम्म सयौँ प्रदर्शनकारीहरूलाई घाइते पनि बनाएका छन्।
प्रदर्शन आयोजकहरूले अब दबाव घटाउँदै लैजाने नीति लिएका छन्।
उनीहरूले आफूले कब्जा गरेका भवनहरू खाली लगाउँदै लगेका छन् र अब शान्तिपूर्ण आन्दोलनमा केन्द्रित हुने बताएका छन्।
प्रदर्शन कुन हदसम्म जान सक्छ भन्ने बीबीसीको प्रश्नमा आयोजक फादर जीवनाथ पेरिस भन्छन्-"हामीले चाहेको शान्तिपूर्ण र्याली मात्रै हो। हामीले आयोजना गरेको त्यत्ति हो। बाँकी हाम्रो नियन्त्रण बाहिर छ।"
"हामी सार्वजनिक सम्पत्तिमा क्षति हुन दिँदैनौँ र कोही पनि घाइते हुन दिँदैनौँ"









