युक्रेन युद्ध: आवासीय क्षेत्रमा रुसी क्षेप्यास्त्र प्रहार, कस्तो देखिन्छ २३ जनाले ज्यान गुमाएको घटनास्थल

तस्बिर स्रोत, STATE EMERGENCY SERVICE OF UKRAINE
युद्ध भइरहेको पूर्वी युक्रेन स्थानबाट निकै टाढा रहेको एउटा युक्रेनी सहरमा घातक आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यसलाई "खुलमखुला गरिएको आतङ्कवादी कार्य"को सङ्ज्ञा दिएका छन्।
भिनित्सिया सहरको एउटा आवासीय क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार भएपछि तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटनामा १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ।
अहिले किएभको दक्षिणपश्चिम र डोन्बासमा लडाइँ भइरहेको छ। तर भिनित्सिया ती स्थानबाट निकै पर छ।
झन्डै तीन लाख ७० हजार मानिस बसोबास गर्ने सहरमा एउटा नौतले भवनको कार पार्किङस्थलमा क्षेप्यास्त्र प्रहार भएपछि युक्रेनी राष्ट्रपतिले रुसको आलोचना गर्दै त्यस्तो टिप्पणी गरेका हुन्।
उक्त आक्रमणका कारण सहरको मध्य भागमा अवस्थित अरू आवासीय भवनहरू पनि प्रभावित भएका थिए।
युक्रेनी आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू जीवित भेटिने सम्भावना कम रहेको बताएका छन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सर्वसाधारण मानिसको मृत्यु
युक्रेनी अधिकारीहरूका अनुसार ज्यान गुमाउने बालबालिकामध्ये लिजा नाम गरेकी एक बालिका आफ्नो स्पीच थेरपी सत्र सकेर घर फर्किरहेकी थिइन्। आक्रमणमा पर्दा उनकी आमा सँगै थिइन्।
युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फुटेजमा लिजा आफ्नी आमासँग हिँडिरहँदा गुलाबी रङ्गको प्राम (केटाकेटी बस्ने र गुडाउन मिल्ने साधन) धकेलिरहेको देखिन्छ।

त्यो साधन उनकै जस्तै देखिन्छ। क्षेप्यास्त्र आक्रमण भएपछि खिचिएका तस्बिरहरूमा उक्त साधन प्रभावित भवन बाहिर देखिन्छ।
अन्य केही तस्बिरमा त्यही प्रामनजिकै बच्चाको शव पनि देखिएको थियो।
यद्यपि रुसी रक्षा मन्त्रालयले सर्वसाधारणलाई लक्ष्य बनाएको अस्वीकार गर्दै आएको छ। तर उनसले यो घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।
भिनित्सियामा रहेकी बीबीसी संवाददाता सारा रेन्सफर्डले अब "युक्रेनमा कहीँ केही पनि सुरक्षित नभएको" बताएकी छन्।
घटनास्थलमा जे देखियो
"यहाँ एउटा भवनको छेउमा बच्चालाई राखेर धकेल्दै यताउता गर्ने साधन छ। त्यसको गुलाबी रङ्गको बस्ने भागमा रगत लतपतिएको देखिन्छ। पचास वर्षभन्दा पुरानो र अग्लो भवनका भग्नावशेषहरू अगाडि छरिएका छन्। त्यहाँका सबै झ्यालहरू ध्वस्त भएका छन्," रेन्सफर्डले भनिन्।
भवनबाट धुवाँको मुस्लो निस्किरहेको बेला घटनास्थलमा दर्जनौँ अग्निनियन्त्रकहरूले भग्नावशेषमा खोजी गरिरहेको उनले बताइन्।
उनका अनुसार आगलागीका कारण थुप्रै गाडीहरू जलेर नष्ट भएका छन्।
"यो भिनित्सियाको केन्द्रमा रहेको एक ठूलो खुला ठाउँ हो जहाँ अहिले बीभत्स दृश्य देखिन्छ। बिहीवार घमाइलो थियो, मानिसहरू घुमफिर गरिरहेको बेला सहरमा क्षेप्यास्त्रहरू बज्रिए।"
"मानिसहरू युद्धको मोर्चाबाट टाढा अवस्थित यो सहरमा आफूलाई तुलनात्मक रूपमा सुरक्षित महसुस गर्थे। यसअघि यहाँ यस्तो आक्रमण भएको थिएन, त्यसैले मानिसहरू साइरनको आवाज सुन्दा समेत बेवास्ता गर्थे।"

तस्बिर स्रोत, Reuters
"भूमिगत जीवन व्यतीत गर्न कठिन छ। अहिले मैले यो लेखिरहँदा त्यहाँ पुनः हवाई आक्रमणको चेतावनी दिइएको छ। यद्यपि सहर वरपर मानिस र गाडीहरू छन्।"
"अब त युक्रेनमा कहीँ केही सुरक्षित छैन। मस्कोले गर्ने 'सैन्य लक्ष्यमा' भन्दै गर्ने क्षेप्यास्त्र आक्रमण जुनसुकै बेला जहाँ पनि हुन सक्छ। अनि ती प्रहारको परिणाम भयानक हुन सक्छ।"
साङ्गीतिक कार्यक्रमअघि मृत्यु
रुसले गरेका युद्ध अपराधसम्बन्धी एउटा सम्मेलनका लागि द हेगमा युरोपेली सङ्घका विदेश तथा न्याय मन्त्रीहरूले भेट्नुअघि उक्त आक्रमण भएको हो।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले भिनित्सियामा आक्रमण गरेर "अर्को युद्ध अपराध" गरेको आरोप लगाए।
उनले आफूहरूले "युक्रेनीका रगत र आँसुका प्रत्येक थोपाका लागि रुसी युद्ध अपराधीहरूविरुद्ध मुद्दा दायर गर्ने" बताएका थिए।
युक्रेनी पप गायिका रोक्सोलानाले बिहीवार राति सहरको साङ्गीतिक केन्द्रमा प्रस्तुति दिने कार्यक्रम तय भएको थियो। तर उक्त कार्यक्रमस्थल पनि आक्रमणमा परी ध्वस्त भएको छ।
उनले इन्स्टाग्राममार्फत् दिएको जानकारीअनुसार उनको समूहका एक सदस्यको मृत्यु भयो। उनीसहित बाँकी सबै जना घाइते भएका छन् र एक जीवनमरणको दोसाँधमा छन्।
"हामी सबै जना र आज आक्रमणबाट प्रभावित भएकाहरूका लागि प्रार्थना गर्छौँ," उनले लेखेकी छन्।
"हामी कहिल्यै पनि माफ गर्ने छैनौँ।"
यो पनि हेर्नुहोस्











