युक्रेन युद्ध: रुसी क्षेप्यास्त्र प्रहारबाट ओडेसा क्षेत्रमा कम्तीमा २० जना गैरसैनिक मारिएको किएभको दाबी

रुस युक्रेन युद्ध

तस्बिर स्रोत, UKRAINE'S DSNS EMERGENCY SERVICE

युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित कम्तीमा २० जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

उक्त राज्यको आपत्कालीन सेवा डीएसएनएसका अनुसार लगभग सबै पीडितहरू सेर्हियेभ्का गाउँस्थित क्षेप्यास्त्र प्रहार भएको नौ तले भवनमा रहेका थिए।

उक्त गाउँस्थित छुट्टी मनाउन जानेहरूले प्रयोग गर्ने एउटा रिजोर्टमा भएको अर्को छुट्टै हमलामा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ।

रुसले केही दिनयता युक्रेनी सहरहरूमा दर्जनौँ क्षेप्यास्त्रहरू प्रहार गरेको छ।

शुक्रवार क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले सर्वसाधारणहरू लक्षित हमलाहरू नगरेको दाबी दोहोर्‍याएका छन्।

हमलाको समय

डीएसएनएसले शुक्रवार स्थानीय समय अनुसार लगभग राती १ बजे सेर्हियेभ्कामा क्षेप्यास्त्र प्रहार भएको बताएको छ।

रुस युक्रेन युद्ध

तस्बिर स्रोत, UKRAINE'S DSNS EMERGENCY SERVICE

उसले उक्त नौ तले भवनको भग्नावशेषमा अग्नि नियन्त्रकहरूले जीवित हुनसक्ने व्यक्तिहरूको खोजी गरिरहेको भिडियो फुटेज जारी गरेको छ।

उनीहरूले एकजनाको शव बोकेर हिँडेको पनि उक्त भिडियोमा देखिन्छ।

रुसी आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएको उसले जनाएको छ।

डीएसएनएसको ओडेसा क्षेत्रकी प्रवक्ता मेरीना मार्टिनेन्कोले युक्रेनी टिभीलाई बताए अनुसार उक्त भवनको बाहिरी पर्खालमा क्षति पुगेको र हमलापछि नजिकैको पसलमा आगो लागेको थियो।

पछि दमकलले उक्त आगो निभाएका थिए। घटनास्थलमा ६० जना उद्धारकर्ताले काम गरिरहेको उनले बताइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ

उक्त भवनमा करिब १५० जना मानिस रहेको अनुमान गरिएको छ।

बालकको मृत्यु

बिदा मनाउन प्रयोग गरिने रिजोर्टमा मारिनेमा एकजना १२ वर्षका बालक पनि रहेको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको कार्यालयका उपप्रमुखले बताएका छन्।

उनका अनुसार दुईजना बालबालिकासहित तीनजना अझै पनि उक्त भग्नावशेषमा रहेका छन्।

घटना हुँदा साठी वर्षीया युलिया बोन्डर नजिकैको भवनमा बसिरहेकी थिइन्।

उनले बीबीसीलाई भनिन्, "हामीले तीनवटा विस्फोटनका आवाज सुन्यौँ र अहिले मनोरञ्जन स्थलमा केही पनि बाँकी छैन।"

"गाउँमा कुनै चहलपहल छैन, हामीले कहिल्यै पनि यस्तो हुन्छ भन्ने सोचेका थिएनौँ।"

उनका अनुसार उक्त रिजोर्टमा थोरै मानिसहरू मात्र थिए किनभने मानिसहरूलाई त्यहाँ रातभरि नबस्न सुझाव दिइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी सेना रोकिराखेको दक्षिण युक्रेनका गाउँहरू

सोभियतकालीन क्षेप्यास्त्र

युक्रेनी अधिकारीहरूले ब्ल्याक सीमा रुसी लडाकु विमानबाट तीनवटा क्षेप्यास्त्र प्रहार भएको बताएका छन्।

ओडेसा क्षेत्रीय प्रशासनका प्रवक्ता सेर्ही ब्राट्चुकले सोभियतकालीन एक्स-२२ क्षेप्यास्त्रहरू प्रयोग भएको विश्वास गरिएको बताए।

रणनीतिक महत्त्वको स्नेक आइल्यान्डबाट बिहीवार रुसको फिर्तीले आफ्नो सबैभन्दा ठूलो ब्ल्याक सी बन्दरगाह ओडेसा र त्यस क्षेत्रमा खतरा कम हुने युक्रेनको आशा थियो।

रुसले युक्रेनी अन्नलाई निर्यातका लागि सहज गरिदिन उक्त टापु छाडेको बताएको थियो तर युक्रेनले त्यसलाई अस्वीकार गर्दै रुसले आफ्नो अन्न भण्डारमा आक्रमण जारी राखेको बताएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी युद्धपोत ध्वस्त पारेको युक्रेनी जलसेनाको दाबी