युक्रेन युद्धः लिसेचान्स्क सहर आफ्नो कब्जामा रहेको रुसको दाबी

युक्रेन

तस्बिर स्रोत, Getty Images

रुस र पूर्वी युक्रेनमा रहेका पृथकतावादी फौजले युक्रेनको लिसेचान्स्क सहर कब्जामा लिएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ।

रुसी रक्षामन्त्रीले राष्ट्रपति पुटिनलाई युक्रेनको पूरै लुहान्स्क क्षेत्रलाई 'मुक्त' पारेको बताएका हुन्।

तर युक्रेनको रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै लिसेचान्स्क रुसी फौजको "पूर्ण नियन्त्रणमा" नरहेको बताएका छन्।

त्यसअघि रुस र युक्रेन दुवैले पूर्वी युक्रेनको लिसेचान्स्क सहर आफ्नो कब्जामा रहेको दाबी गरेका थिए।

आफ्नो फौजले निरन्तरको रुसी आक्रमणको सामना गरिरहे पनि सहर कब्जामा नगएको दाबी युक्रेनले गरेको छ।

रुसले समर्थन गरेका पृथकतावादीहरूले आफूहरू सफलतापूर्वक सहर प्रवेश गरेको र केन्द्र भागसम्म पुगेको बताएका थिए।

लिसेचान्स्क

तस्बिर स्रोत, Reuters

रुसी सञ्चारमाध्यमले आफ्ना फौज वा पृथकतावादीहरू सडकमा परेड खेलिरहेका जस्तो देखिने दृश्यहरू प्रसारण गरेका छन्।

रुसी समाचार स्रोतले सहरमा ध्वस्त अवस्थामा रहेको प्रशासनिक भवनमा सोभियत झण्डा गाडिएको दाबी गर्दै भिडिओहरू ट्वीट गरे पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

डोन्बास औद्योगिक क्षेत्रमा रहेको यो सहर युक्रेनले लुहान्स्कमा अन्तिमसम्म आफ्नो नियन्त्रणमा राखेको स्थान हो।

रुसले नजिकैको सहर सेभेरोडोनेट्स्क गत महिना मात्रै आफ्नो नियन्त्रणमा लिएको थियो।

लुहान्स्क क्षेत्रका गभर्नर सर्ही हैदाले लिसेचान्स्क सबैतिरबाट रुसी फौजबाट घेरिएको र उनीहरू अघि बढिरहेको बताएका छन्।

रक्षासम्बन्धी ब्लगर रोब लीले चेचेन रुसी फौजहरू सहरमा देखिएको तस्बिरहरू सार्वजनिक गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा भएको विनाशको दृश्य आकाशबाट यस्तो देखियो

नेटोको सदस्यता लिन अघि बढेको युक्रेनलाई "निःशस्त्र बनाउने" र "नाजीमुक्त" बनाउने दाबी गर्दै रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता हजारौँ गैरसैनिक र सुरक्षाकर्मीहरू मारिएका वा घाइते भएका छन्।

युक्रेनमा एक करोड २० लाख मानिसहरू घर छोड्न बाध्य भएको छन्।

रुसी आक्रमणको प्रतिक्रिया स्वरूप पश्चिमा देशहरूले युक्रेनलाई अस्त्र सहयोग गरेका छन्। उनीहरूले आणविक महाशक्ति र विश्व बजारमा ऊर्जाको प्रमुख आपूर्तिकर्तामध्ये एक रुसमाथि अभूतपूर्व प्रतिबन्ध पनि लगाएका छन्।

निरन्तरको आक्रमणका कारण उत्तरी खार्किभमा रेलमार्ग र विद्युत् प्रसारण लाइनहरूमा क्षति पुगेको छ।

बन्दरगाह रहेको सहर ओडेसा जाने प्रमुख मार्गमा रहेको दक्षिणी सहर मिकोलिएभमा पनि कैयौँ विस्फोट भएका विवरणहरू आएका छन्।

रुसको रक्षा मन्त्रालयले आफ्नो वायुसेनाले पाँच युक्रेनी कमान्ड पोस्ट र कैयौँ गोला बारुदका भण्डार ध्वस्त बनाइदिएको दाबी गरे पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन।

ओसेडा नजिकैको एक आवासमा २० जना मानिसहरू मारिने गरी क्षेप्यास्त्र आक्रमण गरेको आरोप लागेपछि रुसले पनि यस्तो दाबी गरेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आफ्नै घरमा बम हानिएको देख्न म तयार थिइनँ': बीबीसी पत्रकारको किएभको यात्रा

शनिवार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशको रक्षा संयन्त्रले युक्रेनको क्षेप्यास्त्र खसाएको दाबी गरेका थिए। तर कहाँ खसाइएको थियो भन्नेबारे उनले केही खुलाएनन्।

रुसी राष्ट्रपतिका निकट सहयोगीका रूपमा चिनिने उनले गत फेब्रुअरीमा बेलारुसको बाटो हुँदै युक्रेनमा आक्रमणका लागि रुसी फौजलाई अनुमति दिएका थिए।

"उनीहरू हामीलाई उक्साइरहेका छन्। तीन दिनअघि बेलारुसको भूभागभित्र पर्ने सैन्य इलाकामा युक्रेनीबाट आक्रमणको प्रयास भएको छ," उनले भने।

"तर ईश्वरको कृपाले हवाई प्रतिरक्षा प्रणाली क्षेप्यास्त्र रोक्न सफल भयो।"

उनले "आफूले युक्रेनसँग लडाइँ नचाहेको" बताए।

यूकेको पछिल्लो गुप्तचर विवरणले रुसले सोभियतकालीन "पानीजहाजमा प्रहार गर्नका लागि तयार क्षेप्यास्त्र जमिनमा आक्रमणका लागि प्रयोग" गरेको दाबी गरेको छ।

यसअघि ओडेसामा सर्वसाधारणको ज्यान जाने गरी भएको आक्रमणमा प्रयोग भएका क्षेप्यास्त्र "त्यस्तै" भएको दाबी गरिएको छ।