तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शिन्जो आबे: जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कट्टर राष्ट्रवादी नेता
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी भएको हमलामा मृत्यु भएको छ। उनी ६७ वर्षका थिए। एउटा निर्वाचन अभियानमा सहभागी भएका बेला उनीमाथि गोली प्रहार भएको थियो।
जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका शिन्जो आबे आफ्नो कट्टर नीति तथा 'आबेनोमिक्स' सङ्ज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहे।
सन् २०२० मा उनले स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए।
यसअघि पहिलो कार्यकालमा आन्द्रासँग सम्बन्धित रोग देखिएपछि राजीनामा दिएका उनले सन् २०२० मा आफूलाई अल्सरको गम्भीर समस्या देखिएको बताएका थिए।
आबेका निकटतम सहयोगी योशिहिदे सुगा उनका उत्तराधिकारी बनेका थिए।
उदय
'द प्रिन्स' अर्थात् 'राजकुमार' उपनाम पाएका शिन्जो आबे राजनीतिक विरासत बोकेको परिवारका सदस्य हुन्।
उनका पिता शिनतारो आबे पूर्वपरराष्ट्रमन्त्री थिए र हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए।
आबे सबैभन्दा पहिला सन् १९९३ मा सांसद निर्वाचित भएका थिए र सन् २००५ मा उनी मन्त्रिपरिषद्मा सहभागी गराइएका थिए।
त्यस बेला प्रधानमन्त्री जुनिचिरो कोइजुमीले मन्त्रिपरिषद्को प्रमुख सचिवको शक्तिशाली पदमा उनलाई नियुक्त गरेका थिए।
सन् २००६ मा उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए।
तर पाँच करोड जना प्रभावित हुनेगरी निवृत्तिभरणको अभिलेख हराउनुसहित अनेकौँ विवादले उनको सत्तामाथि प्रश्न उठेको थियो।
सन् २००७ को जुलाईमा उनको दल लिबरल डेमोक्र्याटिक पार्टीले माथिल्लो सदनमा ठूलो पराजय भोग्न पुग्यो। त्यही वर्षको सेप्टेम्बरमा उनले 'अल्सरेटिभ कोलाइटिस' नामक स्वास्थ्य समस्या देखिएको भन्दै राजीनामा दिने निर्णय गरे।
सन् २०१२ मा आफूले औषधिका माध्यमबाट रोगलाई पराजित गरेको भन्दै उनी फेरि सत्तामा फर्किए।
सन् २०१४ र २०१७ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनी जापानमा सबैभन्दा बढी शासन गर्ने प्रधानमन्त्री बन्न पुगे।
उनको लोकप्रियता तलमाथि भइरहेपनि दलभित्रको आफ्नो प्रभावका कारणले उनले प्रधानमन्त्रीका रूपमा खासै चुनौती भोग्नुपरेन।
उनको दलले नियम संशोधन गरेर उनलाई तेस्रो कार्यकाल पनि पार्टीको नेता बन्न बाटो खोलिदिएको थियो।
विवादित राष्ट्रवादी
आबे रक्षा र परराष्ट्र मामिलासम्बन्धी आफ्ना कट्टर नीतिहरूका कारण चर्चित थिए। उनले लामो समयदेखि युद्धपछिको जापानले परिकल्पना गरेको शान्तिप्रिय संविधानलाई संशोधन गर्ने प्रयास गरेका थिए।
उनको राष्ट्रवादी धारणाका कारण बारम्बार चीन र दक्षिण कोरियासँग तनाव उत्पन्न भएको थियो।
दोस्रो विश्वयुद्धअघि र युद्धको समयको जापानी सैन्यवादसँग सम्बन्ध भएको टोक्योस्थित यासुकुने स्मारकमा उनले सन् २०१३ मा भ्रमण गरेका थिए।
सन् २०१५ मा उनी सामूहिक प्रतिरक्षाको अधिकारको पक्षमा उभिएका थिए। त्यसले आफ्नो र आक्रमणमा परेका आफ्ना साझेदारहरूको प्रतिरक्षाका लागि जापानी सेनालाई खटाउने बाटो खोलिदिएको थियो।
जापानका छिमेकीहरू र देशभित्रकै नागरिकहरूको विरोधका माझ जापानको संसद्ले उक्त विवादास्पद परिवर्तन स्वीकार गरेको थियो।
जापानको सेनालाई औपचारिक रूपमा मान्यता दिनेगरी संविधानमा परिवर्तन गर्ने उनको बृहत् लक्ष्य पूरा हुन सकेन। अहिले पनि यो जापानमा विवादित विषय मानिन्छ।
कोभिड र अर्थतन्त्र
मौद्रिक सहजीकरण, वित्तीय उत्थान र संरचनागत सुधारमा आधारित उनको आर्थिक नीति "आबेनोमिक्स" का नामले चिनिन्छ।
यी कदमहरूले उनको पहिलो कार्यकालमा आर्थिक वृद्धि निम्त्यायो तर दोस्रो कार्यकालमा देखिएका सुस्तताले आबेनोमिक्सको प्रभावकारिताबारे प्रश्न उठ्यो।
सन् २०२० को वसन्तयाममा जापानमा सन् २०१५ यता पहिलो पटक आर्थिक मन्दी देखा परेपछि अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उनको प्रयासले पनि चुनौतीको सामना गरेको थियो।
कोरोनाभाइरस महामारीको व्यवस्थापनलाई लिएर उनका चालेका कदमहरूले पनि उनको लोकप्रियतालाई अझ कमजोर बनाएका थिए।
सरकारले वितरण गरेको कपडाको मास्कको नाम 'आबेनोमास्क' राखिए पनि ती एकदमै साना भएको र ढिलो वितरण गरिएको भनी आलोचना भएको थियो।
घरेलु पर्यटन प्रवर्धनका लागि सरकारले अघि बढाएको अभियानले महामारी पुनः फैलाउन भूमिका खेलेको भन्दै चिन्ता जनाइएका थिए।
हल्ला र राजीनामा
आबेको स्वास्थ्यबारे सन् २०२० को अगस्टको सुरुबाट नै विभिन्न किसिमका चर्चा हुन थालेको थियो।
त्यस बेला फ्ल्याश नामक एउटा म्यागजीनले जुलाई महिनामा उनले कार्यालयभित्रै रगत बान्ता गरेका विवरण छापेको थियो।
सुरुमा मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगाले त्यसलाई अस्वीकार पनि गरे। तर आबे अगस्टमा टोक्योको एउटा अस्पतालमा गएपछि आशङ्काहरू बढ्दै गए।
उनले अगस्ट २८ मा राजीनामा दिने घोषणा गरेपछि हल्ला मत्थर भयो। तर उनको दलभित्र गुटगत राजनीति निम्तियो।
उनले आफ्नो उत्तराधिकारीको नाम दिन अस्वीकार गरेका थिए।
अन्ततः एक अनुभवी राजनीतिज्ञ र लामो समय मन्त्रिपरिषद् सदस्य रहेका योशिहिदे सुगा आबेको उत्तराधिकारी बन्न सफल भएका थिए।