युक्रेन युद्ध: यु्द्ध मोर्चाबाटै कक्षा लिइरहेका शिक्षकहरू

एउटा सोमवारको बिहान। युक्रेनका फेडीर शान्डोर अनलाइन कक्षा पढाउन फोनमा लगइन गर्दै छन्।

कोभिड महामारीका कारण यी विश्वविद्यालय प्राध्यापकले अनलाइन पढाउन थालेको धेरै भयो तर गएका केही महिना भने शान्डोरले युद्ध मोर्चाबाट पढाइरहेका छन्।

रुसी आक्रमणपछि ४७ वर्षीय उनी सेनामा भर्ती भए तर उनी आफ्नो विद्यार्थीको शिक्षाका बारेमा पनि चिन्तित थिए।

यसको नतिजा? उनी पर्यटन र सामाजिक शास्त्र जस्ता विषयमा हप्ताको दुई वटा कक्षा युद्ध मोर्चाबाट फोनमार्फत लिन्छन्।

"म २७ वर्षदेखि पढाइरहेको छु। छोड्न सक्दिनँ। मैले राम्रो गर्ने त्यहीँ हो," उनले बीबीसीलाई बताए।

उनी फेब्रुअरीदेखि नै पढाइरहेका छन्। अनि उनी सेनामा भर्ती भए किनभने उनी देशका लागि लड्न र आफ्नी पत्नी र छोरी जोगाउन चाहन्छन्।

"रुसीहरू मेरो घरसम्म पुग्नुअघि मैले रोक्नुपर्छ," उनले भने।

उनको शिक्षणप्रति लगावले विद्यार्थीहरू पनि प्रोत्साहित भएका छन्।

"यसअघि कक्षामा नआउने विद्यार्थीहरू पनि सबै कक्षामा उपस्थित हुन्छन्," उनका एक विद्यार्थी २० वर्षीया इरीनाले भनिन्।

तर युद्ध मोर्चाबाट पढाउन सहज छैन किनभने विद्यार्थीहरूले बमवारिका आवाजबीच उनको कुरा सुन्नुपर्छ।

"एक दिन आक्रमणको आवाज निकै ठूलो आयो र विद्यार्थीहरूले त्यो सुने। त्यसपछि म ट्रेन्चभित्र लुकेर पढाउन थालेँ," उनले भने।

उनले आफ्ना विद्यार्थीहरूलाई विभिन्न क्षेप्यास्त्रका विषयमा पनि सिकाएका छन्।

शान्डोरले पढाइरहेको दृश्य अरू सैनिकका लागि पनि रमाइलो हुन्छ। उनीहरू कक्षाका बेला उनी वरपर झुमिन्छन् र उनको तस्बिर पनि खिचिदिन्छन्।

तीमध्ये एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो। युक्रेनका चित्रकार र कार्टुनिस्टहरूले त्यो तस्बिर जस्तै कला सिर्जना गरेका छन्।

शान्डोर युद्ध मोर्चामा रहेका एक मात्र शिक्षक भने होइनन्। युक्रेनको शिक्षामन्त्रीका अनुसार त्यहाँका ९०० शिक्षक सेनामा भर्ती भएका छन्।

"हामी ती एक-एक जनाप्रति गौरवान्वित छौँ," मन्त्री सेरिए श्कार्लेटले भने।

अर्का शिक्षक ४२ वर्षीय एन्टोन ट्सेलोभाल्नाक पनि सेनामा भर्ती भएका छन्।

युद्ध सुरु भएपछि पहिलो दुई साता उनको कक्षा भएन त्यसपछि भने उनको विद्यालयले उनीसँग सहयोग मागेर सन्देश पठायो।

उनले तुरुन्तै जबाफ दिए र युद्ध मोर्चाबाटै पढाउन थाले।

ट्सेलोभाल्नाकका अनुसार पहिला कक्षाहरूमा पढाइ हुँदैन थियो र एक अर्कासँग बोल्ने मात्रै हुन्थ्यो।

"तपाईँ सोच्न सक्नुहुन्छ दैनिक विद्यालय जाने बालबालिकाहरू अचानक त्यो गर्न नपाउने भए," उनी भन्छन्।

उनी प्राथमिकदेखि माध्यमिक स्तरमा विद्यार्थीहरूलाई वास्तुकला पढाउँछन्।

उनका एक विद्यार्थी १७ वर्षीया भिक्टोरिया भाल्कोभा भन्छिन् कक्षालाई रमाइलो राख्न सेलोभाल्नाक प्रयत्न गर्छन्।

ट्सेलोभाल्नाकले बेलाबेलामा आफू वरपरको वस्तुस्थिति पनि देखाउने गरेको उनले बताइन्।

मक्सेम कोझिमियाका भने आफ्नो चिकित्सकीय ज्ञानले सेनालाई सहयोग गरिरहेका छन्।

युद्धअघि उनी सामुदायिक विश्वविद्यालयमा चिकित्सा पढाउँथे तर युद्धको बेला सैन्य अस्पतालमा स्वयंसेवा गर्न अघि बढे।

त्यहाँ केही दिन काम गरेपछि उनले आफ्ना विद्यार्थीहरूलाई पढाइ नियमित राख्न सहयोग गर्ने मेसो पाए।

"कोभिडको समयको अनुभवले अनलाइन कक्षा गर्ने कि भन्ने पनि सोच्यौँ," उनले भने।

असहज पहिलो दुई सातापश्चात् उनले आफ्ना विद्यार्थीहरूलाई अनलाइनमा आफूले गर्ने शल्यक्रियाहरू देखाउँछन्।

"हामीले युवा चिकित्सक र चिकित्सा विद्यार्थीहरूलाई युद्धका घाउहरू कसरी उपचार गर्ने भन्ने सिकायौँ।"

उनकी एक विद्यार्थी डार्याना बाभ्त्स्या भन्छिन्: "अहिले मलाई शल्यक्रियामा के-के हुन्छ सबै थाहा छ। उनले अनलाइनमा शल्यक्रिया गर्दा के किन गरिरहेको हो भनेर विस्तारमा बताउँछन्।"

कोझिमियाका लागि शिक्षण छोड्ने छनौट थिएन।

"शिक्षण मेरो जीवनभरको कार्य हो," उनी भन्छन्। "म यो छोड्न सक्दिनँ। हामी युद्धअघि सही बाटोमा थियौँ। अहिले पनि हामी सही बाटोमा छौँ त्यसैले हामीले एकताबद्ध भएर विजयका लागि लड्नुपर्छ।"

"हामीले यसअघि जे गरिरहेका थियौँ त्यो गरिरहनु पर्छ। युद्धले कहाँ हामीलाई रोक्छ र?"