काठमाण्डूः फोहोर राति फाल्ने सहमति किन, थुप्रिएको डङ्गुर उठाउन १० दिन लाग्न सक्ने

तस्बिर स्रोत, Reuters
बिहीवार मध्यरातपछि भएको सहमतिसँगै शुक्रवार बिहानबाट काठमाण्डू महानगरबाट फोहोर सङ्कलन सुरु हुन थालेको छ।
लामो खिचलोपछि सिसडोल बन्चरेडाँडा-कुँडुले ल्यान्डफिल साइट छेउछाउका जनप्रतिनिधि र काठमाण्डू महानगरपालिकाबीच १८ बुँदे सहमति भएको हो।
महागरबाट कैयौँ दिनदेखि फोहोर उठ्न नपाउँदा सरुवा रोग फैलिन सक्ने भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गर्दै आएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बिहीवार दिउँसो काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन'सँग फोहोर व्यवस्थापनबारे चासो व्यक्त गरेका थिए।
राति मात्र फाल्न पाइने सहमति किन
सहमतिको पहिलो बुँदामै रातिको समयमा मात्रै फोहोरमैला विर्सजन गर्न पाइने उल्लेख छ।
फोहोरमैला बोक्ने गाडीमा लगेर ल्यान्डफिल साइटमा दिनको समयमा फोहोर विर्सजन गर्ने गरिँदा दिनचर्या नै प्रभावित हुँदै आएको छेउछाउका बासिन्दाको गुनासो रहिआएको छ।
फोहोर बोक्ने गाडीको चापदेखि फोहोर रसाएर चुहिने लीचेटका कारण आफूहरूलाई मर्का पर्ने गरेको स्थानीयवासीहरू बताउँछन्।
काठमाण्डूबाट फोहोर लग्ने गाडीको ठक्करबाट केही व्यक्तिको ज्यान पनि गएका उदाहरण छन्।

तस्बिर स्रोत, Reuters
"दिनको समयमा हामीले फोहोर फाल्ने गाडी देख्न नपरोस् भनेर स्थानीय बासिन्दाले भनेपछि राति मात्र फाल्न पाइने सहमति गरिएको हो," सहमतिमा हस्ताक्षर गर्नेमध्येका धुनीबेँसी नगरपालिका वडा नं १ का अध्यक्ष मानबहादुर तामाङले बीबीसीसँग भने।
ध्वनि प्रदूषणदेखि विगतमा हुने फोहोर ओसार्ने गाडीको ठक्करबाट मृत्यु हुने समस्याको समाधानसम्मका पक्षलाई हेरेर राति फोहोर विर्सजन गर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं १ का अध्यक्ष पदमबहादुर श्रेष्ठले बताए।
"यद्यपि बाटो राम्रो नभएसम्म हाललाई दिनको समयमा पनि फोहोर विर्सजन गर्ने सहमति भएको छ," बीबीसीसँग उनले भने
केही वर्षअघि नै रातिको समयमा मात्र फोहोर विर्सजन गर्ने प्रयास थाले पनि निरन्तरता दिन नसकिएको काठमाण्डू महानगरपालिकाका अधिकारीहरू बताउँछन्।
"दिउँसो फोहोर लैजाँदा एक त मानिसहरूको काममा पनि डिस्टर्ब हुन्थ्यो, व्यस्त समयमा बाटोमा पनि डिस्टर्ब हुन्थ्यो," महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बीबीसीसँग भने।
"रातिको समय त्यही काम गर्दा एक त बाटोघाटो पनि खुला हुने भयो राति लैजाँदा उहाँहरूको काममा पनि कुनै प्रकारको बाधा अवरोध हुने भएन।"
आचार्यका अनुसार झन्डै तीन सातादेखि काठमाण्डू उपत्यकामा थुप्रिएको फोहोर पूर्ण रूपमा उठाउन १० दिनजति लाग्न सक्छ।
अब फोहोर अनिवार्य छुट्ट्याउनुपर्ने
केही दिनअघि काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अब मानिसहरूले कुहिने र नकुहिने लगायतका फोहोर छुट्ट्याएर राख्नुपर्ने बताएका थिए।
त्यसो नगरिए त्यस्ता मानिसको फोहोर महानगरले सङ्कलन नगर्न सक्ने आशय उनले व्यक्त गरेका थिए।
फोहोर छुट्ट्याउनुपर्ने विषयमा महानगरपालिकाले सूचना पनि निकालिसकेको सूचना अधिकारी आचार्यले बताए।
"जेठ, असार महिनासम्म त्यसबारे हामी जनचेतना फैलाउँछ। साउनदेखि कडाइ गर्छौँ," उनले थपे।
फोहोरमैला त्यसरी नछुट्ट्याउने मानिसहरूलाई कानुनबमोजिम कारबाही गरिने आचार्यले चेतावनी समेत दिए।
सहमतिमा के छ?
- काठमाण्डू महानगरपालिकाबाट बन्चरेडाँडा-कुँडुलेसम्म फोहोर ढुवानी गर्ने काम दीर्घकालीन रूपमा रातिको समयमा गर्ने; रातिका लागि आवश्यक पूर्वाधार, बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने
- सिसडोल तथा बन्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने
- फोहोरबाट निस्किने लीचेट खोलामा नमिसाउनेगरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने
- फोहोर बोक्ने गाडीबाट बाटोमा लीचेट (रस) नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने

तस्बिर स्रोत, Reuters
- फोहोरमैला प्रभावित क्षेत्रबारे वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्ट्याउने र अध्ययनले दिएका कार्यहरू कार्यान्वयन गर्न पहल गर्ने
- सिसडोल क्यापिङ गर्ने सम्बन्धमा वैज्ञानिक अध्ययन गराई प्राप्त प्रतिवेदनका आधारमा छ महिनाभित्र महानगरपालिकाले कार्यान्वयन गर्ने, गराउने

तस्बिर स्रोत, Facebook/Balen
- प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण मुआब्जा वितरण लगायतका काम गर्न महानगरपालिकाले सम्बद्ध मन्त्रालय तथा निकायमा पहल गर्ने
- वि.सं. २०७९ जेठ २३ गते भएको सम्झौताका अतिरिक्त फोहोरमैला व्यवस्थापनमा संलग्न चालक तथा सहचालक एवम् अन्य कर्मचारीको स्वास्थ्य बीमा महानगरपालिकाले गर्ने; असाध्य रोग लागेका प्रभावित क्षेत्रका बासिन्दाका लागि महानगरवासीले प्राप्त गरे सरह उपलब्ध गराउने
- फोहोरमैला व्यवस्थापनका कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि महानगरपालिकाले वार्षिक रूपमा बजेट विनियोजनलाई निरन्तरता दिने
- फोहोरलाई स्रोतमा वर्गीकरण व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने

तस्बिर स्रोत, Reuters
- प्रभावित क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने
- फोहोरमैला प्रभावित क्षेत्र आसपासलाई सम्भव भएसम्म हरियाली क्षेत्रको रूपमा विकास गर्ने
- प्रभावित क्षेत्रमा कृषि प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्ने; बन्चरेडाँडा वरपरका घरटहरा क्षतिपूर्ति तीन महिनाभित्र निर्णय गर्ने
- फोहोर विर्सजनस्थल र फोहोर लैजाने बाटोमा हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने

तस्बिर स्रोत, Reuters
- प्रभावित क्षेत्रमा आवतजावत गर्ने तीनपिप्ले-गल्छी वैकल्पिक राजमार्गका लागि सरकारसमक्ष अनुरोध गर्ने
- तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको हाल फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने
- जेठ २७ गतेदेखि नै उपत्यकाको फोहोर विर्सजनको अवरोध हटाई पुनः फाल्न दिने
- जेठ २३ गते सहरी विकास मन्त्रालयमा जनाइएको प्रतिबद्धता कार्यान्वयन गर्न पहल गर्ने

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters










