तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बोरिस जोनसन: ब्रिटिश प्रधानमन्त्रीले विश्वासको मत जितेपछि अब के हुन्छ?
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीका सांसदहरूबाट विश्वासको मत पाउन सफल भएपछि उनी कन्जर्भेटिभ पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा पदमा रहिरहने भएका छन्।
विश्वासको मत जिते पनि जोनसनले अझै चुनौतीहरूको भने सामना गरिरहनु पर्ने देखिन्छ।
२३ जुनमा वेकफिल्ड र ट्रिभर्टन एन्ड हनिटनमा उपनिर्वाचन हुँदैछ।
ती दुवै सीटहरू यसअघि कन्जर्भेटिभहरूले जितेका हुन् र यदि त्यहाँ विपक्षीले जिते भने जोनसनसामू थप दबाब पर्नेछ।
मौजुदा नियमहरू अनुसार प्रधानमन्त्रीप्रति असन्तुष्ट टोरी सांसदहरूले एक वर्षका लागि उनी विरुद्ध अर्को विश्वासको मत जाँच्न पाउने छैनन्।
यद्यपि केही अनुमानहरूमा छिट्टै अर्को मतदान गर्नका लागि नियमहरू परिवर्तन गर्ने प्रयासहरू हुन सक्ने जनाइएको छ।
यस प्रक्रियाको संयोजन गरिरहेका सांसद सर ग्राहम ब्राडीलाई सोध्दा उनले "प्राविधिक रूपमा, त्यो सम्भव रहेको" बताए।
गोप्य मतदान
जोनसनले २११ कन्जर्भेटिभ सांसदहरूको साथ पाएका थिए भने १४८ जनाले उनीविरूद्ध मतदान गरेका थिए। कम्तीमा ५४ जना टोरी सांसदहरूले आफूहरूले जोनसनलाई समर्थन नगरेको भन्दै पत्र लेखेपछि त्यस्तो गोप्य मतदानको अवस्था सिर्जना भएको थियो।
सबै ३५९ कन्जर्भेटिभ सांसदहरू मतदानमा सहभागी भएका थिए।
उक्त नतिजाको अर्थ जोनसनलाई आफ्नै दलका ५९ प्रतिशत सांसदहरूको मात्र समर्थन छ भन्ने हो।यो सन् २०१८ मा टरिजा मेले पाएको भन्दा कम मत हो।
त्यसबेला उनले ६३ प्रतिशत सांसदको साथ पाए पनि ६ महिनापछि राजीनामा दिएकी थिइन्।
गोप्य मतदान भएकाले टोरी सांसदहरूले कसरी मतदान गरे भन्नुपर्ने छैन।
मतदानमा सहभागी हुन पाउनेमध्ये एकजना त्यस्ता टोरी सांसद समेत छन् जसलाई बलात्कार र यौन दुर्व्यव्यवहारको आरोप लागेपछि संसद्बाट टाढा रहन भनिएको थियो।पार्टीबाट निलम्बित नभएकाले उनले अर्कैलाई लगाएर मतदान गर्न पाएका थिए।
विश्वासको मत के हो र त्यो किन जाँचियो?
कन्जर्भेटिभ सांसदहरूले आफ्ना नेतालाई हटाउने प्रयासका रूपमा विश्वासको मत लिइएको थियो।
कोभिड नियमहरू मिचेर डाउनिङ्ग स्ट्रीटमा भोजहरू गरेको विवरण सार्वजनिक भएपछि प्रधानमन्त्रीमाथि पद त्याग गर्ने मागहरूका माझ दबाब बढेको थियो।
यो घटनाको अनुसन्धान गर्ने जिम्मा पाएकी एकजना वरिष्ठ सरकारी कर्मचारी सु ग्रेले प्रधानमन्त्री सहभागी भएका समेत धेरैजसो जमघट 'अनुमति नदिइनुपर्ने' खालको रहेको बताइन्।यसले केही कन्जर्भेटिभ सांसदहरूलाई जोनसनलाई राजीनामा दिनका लागि पत्र लेख्न अग्रसर गरायो।पार्टीको नियम अनुसार यदि १५ प्रतिशत टोरी सांसदहरूले आफूहरूको प्रतिनिधित्व गर्ने १९२२ कमिटी नामको समूहका सभापति ग्राहम ब्राडीलाई पत्र लेखेमा विश्वासको मत जाँच्ने प्रकृया सकृय हुन्छ।
टोरी नेतृत्वमा यसअघिका परिवर्तनहरू
- टरिजा मे: ब्रेक्जिट नीतिका कारण सन् २०१८ को डिसेम्बरमा भएको मतदानमा मेले ८३ मतको बहुमतसाथ विश्वासको मत जित्न सफल भएकी थिइन्। तर पनि उनले त्यसको ६ महिनापछि पदबाट राजीनामा दिइन्।
- इयन डङ्कन स्मिथ: सन् २००३ को अक्टोबरमा महिनौँको अनुमानपछि यी टोरी नेताले थोरै मतले विश्वासको मत गुमाएका थिए र पदबाट राजीनामा दिए।
- जोन मेजर: सन् १९९५ मा युरोप मामिलालाई लिएर पार्टीभित्र विवाद भएपछि दलको नेताबाट (प्रधानमन्त्रीका रूपमा होइन) राजीनामा दिएका थिए। उनले आफ्ना प्रतिस्पर्धी जोन रेडवूडलाई पछाडि पारे पनि सन् १९९७ को निर्वाचनमा पराजित भएका थिए।
- मार्गरेट थ्याचर: सन् १९९० मा उनले पार्टी नेतृत्वमा पूर्ण बहुमत ल्याउन नसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन्। उनले माइकल हेसल्टाइनलाई १५२ विरुद्ध २०४ मतले पछाडि पारे पनि पूर्ण बहुमत नआएको भन्दै उनको मन्त्रीपरिषद्ले राजीनामा दिन सुझाएको थियो।
जोनसनले विश्वासको मत नजितेको भए के हुन्थ्यो?
बोरिस जोनसनले विश्वासको मत गुमाएको भए उनले राजीनामा दिन आवश्यक पर्थ्यो।
त्यसले कन्जर्भेटिभ दलभित्र नेतृत्वको प्रतिस्पर्धा हुन्थ्यो र त्यसमा विजयी हुने नेता प्रधानमन्त्री हुने थिए।
नेतृत्वको प्रतिस्पर्धा कस्तो हुन्छ?
नेतृत्वको लागि उभिन प्रतिस्पर्धीहरूलाई अन्य आठ टोरी सांसदहरूको साथ चाहिन्छ।
यदि दुई जनाभन्दा धेरै प्रतिस्पर्धीहरू खडा भए भने टोरी सांसदहरूले दुईजना प्रतिस्पर्धी तयार नहुँदासम्म शृङ्खलाबद्ध रूपमा मतदान गर्दै गर्नुपर्ने हुन्छ।
- पहिलो चरणमा प्रतिस्पर्धीहरूले ५ प्रतिशत (१८ सांसद) ल्याएर मात्र प्रतिस्पर्धामा कायम रहन पाउँछन्।
- दोस्रो चरणमा उनीहरूले कम्तीमा १० प्रतिशत (३६ सांसद) मत ल्याउनुपर्ने हुन्छ।
- त्यसपछिका चरणमा सबैभन्दा कम मत पाउनेहरू प्रतिस्पर्धाबाट बाहिरिँदै जान्छन्
प्रतिस्पर्धामा दुईजना पार्टी सांसदहरू मात्र बाँकी रहेको अवस्थामा सांसदहरू मात्र नभएर देशभरका कन्जर्भेटिभ पार्टी सदस्यहरूले मतदान गरेर विजेता चयन गर्छन्।
तर यदि एकजना बाहेक सबैले मनोनयन फिर्ता लिएमा (सन् २०१६ मा टरिजा मे पार्टी नेता चयन हुँदा त्यसो भएको थियो), बाँकी रहेका प्रतिस्पर्धी स्वतः कन्जर्भेटिभ दलको नेता बन्छन्।