तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तारा एअरः विमान दुर्घटनास्थलमा २१ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणद्वारा पुष्टि
आइतवार बिहानबाट सम्पर्कविहीन भएको तारा एअरको एउटा यात्रुवाहक विमान दुर्घटनास्थलमा २१ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बीबीसीसँग भने, "२० जनाको शव फेला परेको छ। एक जनाको देखेर निकाल्न सकिएको छैन भने एकजनाको अवस्था अझै अज्ञात छ।"
दशजनाको शव काठमाण्डू पठाइसकिएको र एकत्रित गरिएका बाँकी १० शव अझै घटनास्थलमा रहेको प्रवक्ता कर्णले बताए।
नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले "फिस्टेल एअरको हेलिकप्टरले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको" जनाएको छ।
प्राधिकरणले उक्त हेलिकप्टर दुर्घटना स्थल अवतरण गरेको र उद्धारको कार्य तीव्र रूपमा जारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रवक्ता देवचन्द्र लाल कर्णले हालसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहित २३ जना दुर्घटना स्थलमा पुगिसकेका छन्।
"विमान एकदमै खोँच भएको ठाउँमा खसेको रहेछ। हराइरहेकाहरूको खोजी भइरहेको छ। तर बाक्लो बादल लागेका कारण हवाई माध्यमको सहयोग लिन सकिएको छैन," कर्णले भने।
उनले जोमसोमसहित आसपासका क्षेत्रमा हेलिकप्टरहरू तैनाथ राखिएको जानकारी दिए।
यसअघि नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताएका थिए।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका थिएः "खोजी तथा उद्धार कार्यमा संलग्न फौजहरूले विमान दुर्घटना स्थल भौतिक रूपमा पत्ता लगाएका छन्।"
विमान सञ्चालक तारा एअरले पनि एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाग्रस्त भेटिएको घटनाले स्तब्ध बनाएको जनाएको छ।
त्यसैगरी विमान दुर्घटना स्थलमा पुगेका एकजना स्थानीय ईन्द्र सिंह शेरचनले विमान क्षतविक्षत अवस्थामा भेटिएको बताएका छन्।
"विमान क्षतविक्षत अवस्थामा खोँचमा परेको छ। मान्छेहरू पनि देखिन्छन्," दुर्घटना स्थलबाट शेरचनले बीबीसीसँग भने।
वडाध्यक्ष यसो भन्छन्
विमान दुर्घटना भएको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष दीपक शेरचनले दुर्घटना भएको भनिएको स्थान मानव बस्तीभन्दा धेरै माथि धौलागिरी हिमशृङ्खलाको फेदमा रहेको बताए।
उनका अनुसार त्यस क्षेत्रमा यो मौसममा यार्सागुम्बा खोज्नेहरू जाने गरेका छन्।
"यार्सागुम्बा खोज्नेहरूले हिजै आवाज सुनेको भनेका थिए, तर बादल लागेका कारण खोज्न सकिएन। आज बिहान विमान क्षतविक्षत अवस्थामा भेटिएको त्यहाँ पुगेका मान्छेहरूले जानकारी दिए" उनले भने।
पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको विमान सम्पर्कविहीन भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त ट्विनअटर 9NAET विमानमा चालकदलका तीन जनासहित २२ जना सवार थिए।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदरकुण्ड जान स्वदेशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्।
जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ।
घटना के हो?
तारा एअरले विमानमा चार जना भारतीय, दुई जर्मन र बाँकी नेपाली नागरिक रहेको जनाएको छ।
जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार ९:५५ बजे उडेको विमान केही मिनेटपछि सम्पर्कविहीन भएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान १०:११ बजेपश्चात् जोमसोम टावरमा सम्पर्कमा आएन। त्यसअघि प्राधिकरणले विमानसँग अन्तिम पटक घोडेपानी भन्ने स्थानमा १०:०७ बजे जाँदा सम्पर्क भएको जनाएको थियो।
विमान तथा उडानको तथ्याङ्क राख्ने बेवसाइट फ्लाइटरेडार२४ का अनुसार अहिले हराइरहेको विमानले आफ्नो पहिलो उडान ४३ वर्षअगाडि गरेको थियो।
फ्लाइटरेडारका अनुसार सम्पर्कविच्छेद हुनुअघि उक्त विमान १२,८२५ फिटको उचाइमा थियो। अन्तिम सम्पर्क हुँदा विमान रहेको स्थानको ल्याटिट्यूड र लङ्गिट्यूड सार्वजनिक गरेको छ।
नेपालमा भएका केही ठूला हवाई दुर्घटना
- एप्रिल २०१९- सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
- फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
- सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
- मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
- फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
- मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
- जुन २०१५: सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
- मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
- फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
- सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
- मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
- सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
- डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
- सेप्टेम्बर २०१० - हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डूनजिकै दुर्घटनाग्रस्त
- अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
- अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
- सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के