नेपाल निर्वाचन: पाँच दिनभित्र मतगणना सकिने निर्वाचन आयोगको दाबी, दलका प्रतिनिधिले मतपत्र छुन नपाउने

निर्वाचन आयोगले यो पटक स्थानीय तह निर्वाचनको मतगणना गरेर पाँच दिनभित्रै परिणाम प्रकाशित गर्नेगरी तयारी गरिएको दाबी गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मतगणनाको नतिजा पाँच दिनभित्रै प्रकाशित भइसक्ने दाबी गरे।

"देशभरिका सबै स्थानीय तहको मतगणनाको नतिजा पाँच दिनभित्र प्रकाशित गर्नेगरी व्यवस्था मिलाएका छौँ," उनले भने।

तर मतगणना छिटो सम्पन्न गर्न यसअघिको निर्वाचनमा भन्दा के कुरामा सुधार गरिएको छ भन्नेबारे उनले खुलाएनन्।

यसअघिको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मतगणना सम्पन्न गर्न दुई सातासम्म लागेको थियो।

अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकामा २८ जनाले मेयर पदमा उम्मेदवारी दिएका थिए।

यस पटकको निर्वाचनमा यो महानगरमा मेयरका उम्मेदवार मात्रै ५४ जना छन्।

दलहरूले गठबन्धन गरेको तथा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या पनि धेरै भएकाले मतपत्र छुट्ट्याउन तथा गणना गर्न समय लाग्न सक्ने पहिला निर्वाचन प्रक्रियामा सहभागी भएका राजनीतिक कार्यकर्ता तथा पर्यवेक्षकहरूको भनाइ छ।

मतपत्रको सुरक्षा

मतगणनाका क्रममा विवाद भएपछि चितवनको भरतपुरका केही क्षेत्रमा वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा पुनः मतदान समेत गर्नुपरेको थियो।

यो पटक मतगणना स्थलमा रहेका दलका प्रतिनिधिहरूलाई मतगणना टोलीले नै मतपत्र देखाउनुपर्ने तर छुन वा समाउन नदिने व्यवस्था निर्वाचन निर्देशिकाले गरेको छ।

"निर्वाचन अधिकृत वा निजले खटाएको गणक कर्मचारीले मतगणना गर्दा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई मतपत्र देखाउनुपर्नेछ। त्यस्तो मतपत्र कुनै पनि अवस्थामा निजलाई समाउन वा छुन दिनु हुँदैन," निर्देशिकामा भनिएको छ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघि यस पटकको मतपत्र "चपाउन नसकिने" बताएका थिए। तर मतपत्र अघिल्लो पटकका निर्वाचनको भन्दा फरक नभएको मतदाताहरूले बताएका छन्।

आयोगले यस पटक मतगणना स्थलमा सीसीटीभी क्यामरा र तारजालीको समेत व्यवस्था गरेको छ।

आयोगले स्थानीय तह निर्वाचनको मतदान सकिनासाथ सुरक्षासहित मतगणना केन्द्रसम्म मतपेटिका ढुवानीको प्रबन्ध गरिएको जनाएको छ।

"जब निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन भइसक्छन्, तत्कालै राजनीतिक सहमति कायम गरेर मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ," प्रमुख आयुक्त थपलियाले भने।

जम्मा ३५,२२१ पदका लागि हुने स्थानीय तह निर्वाचनमा १,४५,०११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

तीमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनमा मतदानका लागि एक करोड ७७ लाख बढी योग्य मतदाता छन्।

कहाँ र कसरी हुन्छ मतगणना

स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार गाउँपालिका वा नगरपालिकाको भवन वा मतदान अधिकृतको कार्यालय रहेको स्थानमा मतगणना गरिनुपर्ने व्यवस्था छ।

मतगणनास्थलबारे मतदानअघि नै निर्वाचन अधिकृतले सूचना जारी गर्नुपर्ने नियम छ। तर गणनास्थल तोक्दा सुरक्षा व्यवस्था र पर्याप्त स्थानको सुनिश्चितता गरिनुपर्ने व्यवस्था गरिएको छ।

मतगणना प्रारम्भ हुने सूचना प्रकाशन गर्दा "मतगणना गर्ने स्थान र सोको वरिपरि सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीबाहेक अरू कसैले पनि कुनै प्रकारको विस्फोटक पदार्थ, रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारको अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन रोक लगाइएको" सूचना समेत प्रकाशित गरिनुपर्ने व्यवस्था छ।

स्थानीय निकायका सबै मतदानबाट मतपेटिका सङ्कलन भइसकेपछि मुचुल्का उठाएर मात्रै मतगणना सुरु गर्ने नियम छ।

मतदान अधिकृतले छसदस्यीय टोली गठन गरेर मतगणना कार्य अघि बढाउँछन्। मतगणना छिटो सक्न धेरै वटा मतगणना टोली समेत बनाएर मतगणना गर्न सकिने व्यवस्था छ।

मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधिहरूलाई समेत उपस्थित हुने व्यवस्था मिलाइएको हुन्छ। लागुऔषध वा मादक पदार्थ सेवन गरेर तथा हतियार लिएर मतगणना स्थलमा जान नपाइने निर्वाचन निर्देशिकामा उल्लेख छ।

मतगणना सुरु भएपछि नसकिएसम्म मतगणना जारी राख्नुपर्ने तर काबुभन्दा बाहिरको अवस्था आए मतगणना स्थगित गर्न सकिने नियम छ।

बराबर मत आए के हुन्छ

निर्वाचन निर्देशिकाले उम्मेदवारहरूको मत बराबर आए गोलाप्रथाबाट निर्वाचित उम्मेदवार छान्ने व्यवस्था गरेको छ।

अघिल्लो निर्वाचनमा पनि केही स्थानमा बराबर मत आएपछि चिट्ठाबाट जितहार भएको थियो।

"कुनै सदस्यको निर्वाचनमा मतदान भएको सबै मतपत्रको मतगणना कार्य समाप्त भएपछि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको सदर मत बराबर भई निर्वाचित उम्मेदवार छुट्टाउन नसकिने भएमा निर्वाचन अधिकृतले त्यसरी बराबर मत पाउने उम्मेदवारहरूका बीच गोला हाली निर्णय गर्नुपर्नेछ," निर्देशिकामा भनिएको छ।