तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल शिक्षा: अब विद्यालय पाँच दिन १०-४ बजेसम्म खुल्ने, हिउँदे र वर्षे बिदाबाट एक महिना कटौती
सातामा दुई दिन सार्वजनिक बिदा गर्दा पाठ्यक्रम पूरा गर्न नसकिने निजी शिक्षण संस्था सञ्चालकहरूले राखेको चासो सम्बोधन गर्दै शिक्षा मन्त्रालयले हिउँदे र वर्षे बिदामा कटौती गरेको छ।
मन्त्रालयले बुधवार गरेको निर्णय पछि अब निजी शिक्षण संस्थाहरूमा पनि सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ।
यसअघि निजी विद्यालयका सञ्चालकहरूले दुई दिन बिदा दिँदा पाठ्यक्रम पूरा गर्न कठिनाइ हुने बताएका थिए।
शिक्षा मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउन हिउँदे र वर्षे बिदामा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
"दुई दिन बिदा दिएपछि आइतवारबाट शुक्रवार सम्म १० बाट ४ बजेसम्मै पठनपाठन गराउन र नपुग हुने क्रेडिट आवर (अवधि) हिउँदे र वर्षे बिदाबाट कटौती गरेर मिलान गर्न निर्देशन दिइएको छ," शर्माले भने।
यसअघि शैक्षिक संस्थाहरूमा करिब दुई महिनासम्म हिउँदे, वर्षे तथा स्थानीय बिदा सहितका अतिरिक्त बिदा हुँदै आएको थियो। शर्माका अनुसार बिदा मिलान गर्दा अब शैक्षिक संस्थाहरूले वर्षमा ३० दिन मात्रै अतिरिक्त बिदा दिन पाउँछन्।
"यसअघि हिउँदे र वर्षे बिदा गरेर ४५ दिन, स्थानीय बिदा ५ दिन र दसैँ तिहार जस्ता चाडपर्वको बिदा गरेर दुई महिना जस्तो अतिरिक्त बिदा दिने गरेका थिए। अब त्यसलाई कटौती गरेर ३० दिनमा सीमित गर्नुपर्ने हुन्छ," उनले भने।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक णप्रसाद शर्माका अनुसार हिउँदे र वर्षे बिदा कटौती नभए शैक्षिक संस्थाहरूले शैक्षिक सत्रभित्र पढाइ पूरा गर्न चुनौती थियो।
"अहिलेको पाठ्यक्रम पूरा गर्न १२० दिन विद्यालय खुल्नुपर्छ। त्यसभित्र कक्षा सञ्चालन हुने देखि परीक्षा र आन्तरिक मूल्याङ्कन गर्ने सम्मका गतिविधि पर्छन्," उनले भने।
शर्माका अनुसार विषय अनुसार फरक भए पनि एउटा विषयको पढाइ सक्न औसत १९२ घण्टा कक्षा सञ्चालन हुनुपर्ने गरी पाठ्यक्रम तयार गरिएको छ।
निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनका महासचिव आर बी कटुवालले पढाउने समय अपुग हुने भएपछि निजी विद्यालय सञ्चालकहरूले नै मन्त्रालयलाई अतिरिक्त बिदा कटौतीका लागि आग्रह गरेको जानकारी दिए।
"अहिले जेठदेखि विद्यालय सञ्चालन गर्दा जम्मा २०२ दिन स्कुल लाग्दो रहेछ। त्यसमा पनि ४१ वटा आइतवार हुने रहेछ। त्यसो गर्दा त वर्षमा पढाउने समय १४० दिन जति मात्रै हुँदो रहेछ," उनले भने।
"त्यति समय मात्रै विद्यालय लाग्दा पाठ्यक्रम अनुसारको पढाइ पूरा नहुने भएपछि हामीले नै सरकारलाई सार्वजनिक वा अतिरिक्त बिदा कटौती गर्न भनेका थियौँ।"
मन्त्रालयको निर्णयको निजी विद्यालय सञ्चालकहरूले स्वागत गर्ने कटवालले बताए।