नेपाल निर्वाचन: केपी ओलीको निर्वाचनपछि गठबन्धनले झट्का खाने दाबी र निर्वाचन आयोग प्रति गुनासो

केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनमा झट्का खाने दाबी गरेका छन्।

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि प्रचार प्रसारमा मौन अवधि सुरु हुन केही घण्टा अघि राजधानी काठमाण्डू महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै विपक्षी दलका नेताले त्यस्तो अभिव्यक्ति दिएका थिए।

"३० गते जनताको बीचमा जाँदा पहिलो कदममै उहाँले झट्का खानुहुनेछ।

त्यसपछि आगामी संसदीय निर्वाचन र प्रदेश निर्वाचनहरूमा उहाँहरूले ठक्कर खानुहुनेछ। नसोचेको पराजय भोग्नुपर्ने छ," उनले भने।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो दलले स्थानीय तह निर्वाचनलाई धाँधली रहित बनाउन योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

"लोकतन्त्रका लागि निर्वाचनलाई स्वच्छ र निष्पक्ष गरौँ। म मेरो पार्टीको तर्फबाट भन्न चाहन्छु नेकपा एमालेले कहीँ पनि धाँधली गर्दैन कहीँ गुण्डागर्दी गर्दैन कहीँ नचाहिने काम गर्दैन,"

असन्तुष्टि

निर्वाचनलाई स्वतन्त्र बनाउन प्रतिबद्धता जनाए पनि ओलीले निर्वाचन आयोगसँग भने असन्तुष्टि पोखे।

"निर्वाचन आयोगले पहिले दिइरहेको रङ्ग प्रयोग नगरेर हरियै रङ्ग प्रयोग गरिनुपर्ने, रूखकै रङ्ग प्रयोग गरिनुपर्ने, सूर्यलाई पनि हरियै गरिनुपर्ने?" मतपत्रमा निर्वाचन चिन्ह हरियो रङ्गमा छापिएको भन्दै ओलीले भने।

कांग्रेस र गठबन्धनलाई फाइदा हुने गरी गतिविधि नगर्न ओलीले आयोगलाई चेतावनी दिएका छन्।

एकातिर एमाले र अर्कोतिर गठबन्धन देखिएको भन्दै उनले आफ्नो दलविरुद्ध गठबन्धन गर्ने नाममा पार्टीहरूले आफ्ना नेता कार्यकर्ताहरूलाई अरू दलको चिन्हमा भोट हाल्न बाध्य बनाइरहेको बताए।

एमाले सभा

एमाले नेतृत्वको सरकारले काठमाण्डूमा मेलम्ची खानेपानी आयोजना ल्याएको उनको दाबी थियो।

ओलीले धरहरा र रानी पोखरी जस्ता सम्पदाको पुनःनिर्माणमा पनि एमालेले अगुवाइ लिएको बताए।

तर इतिहाससँग जोडिएको धरोहर पुनर्निर्माण गर्दा समेत आलोचना भएको उनको भनाई थियो।