नेपाल निर्वाचन: स्थानीय तह चुनावको तयारी कति सकियो, नयाँ मतदाताले कहाँ र कहिले पाउँछन् परिचयपत्र?

तस्बिर स्रोत, RSS
आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै "तयारी पूरा भएको" निर्वाचन आयोगले जनाएको छ।
देशका सबै जिल्लामा मतपत्र पुर्याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ छ।
आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण हुने छ।
नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो।
कति छन् मतदाता?
यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ।
त्यसका लागि देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ।
निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्, "मतपत्रहरू सबै जिल्लामा पुगिसकेको अवस्था छ। त्यो मतपत्र हामी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतहरूलाई बुझाउने कामहरू पनि भइरहेको अवस्था छ।"
निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन्।

तस्बिर स्रोत, Getty Images
नयाँ मतदाताले कहिले पाउँछन् परिचयपत्र?
नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाउने अधिकारीहरूको भनाइ छ।
पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।
तर मतदाता नामावलीमा नाम प्रकाशित भए पनि परिचयपत्र नभएकाको हकमा के हुन्छ भन्ने कुराको निर्णय आयोगले हालसम्म पनि गरेको छैन।

तस्बिर स्रोत, EC Nepal
सम्बन्धित मतदान केन्द्रमा मतदान अधिकृत नेतृत्वको टोली पुगेपछि उनीहरूले गर्ने अन्य कार्यबारे श्रेष्ठले भने, "दुईवटा काम हामी सँगै गर्छौँ मतदाता सुरु हुनुअघि- एउटा- मतदान केन्द्रको निर्माण गर्ने र अर्को- २८ र २९ गते मतदाता शिक्षाको काम पनि हुन्छ।"
मतदाता शिक्षाका बेला नमुना मतपत्रहरूमा मत कसरी हाल्ने भन्ने सिकाइने उनको भनाइ छ।
नेपालमा ७५३ स्थानीय तहमा कुल ३५,२२१ जनप्रतिनिधि रहने व्यवस्था छ।
यसै साता सम्पन्न हुने मतदान अघि अहिलेसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
१७० दलित महिला सदस्य पदमा भने उम्मेदवारी दर्ता हुन नसकेको अधिकारीहरूले जनाएका छन्।
आफैँ छाप लगाउन नसक्ने मतदाताले कसरी गर्न पाउँछन् मतदान

तस्बिर स्रोत, Rss
दृष्टिविहीन वा शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले मतदाता आफैँले मतपत्रमा छाप हाल्न नसक्ने अवस्थामा भएका मतदाताले अरूको सहयोगमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार त्यस्ता व्यक्तिले आफ्नो साथमा आएका एकाघरको परिवारको सदस्यलाई मत सङ्केत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले अनुमति दिनुपर्ने प्रावधान छ।
दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन निर्क्योल गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत सङ्केत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणवश आफैँ मत सङ्केत गर्न नसक्ने भई सहयोग गरिदिन अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ।
सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललाई उद्धृत गर्दै निर्वाचन आयोगले जनाएको छ।









