तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस खोप: पहिले तयारी भैरहेको भनिएतापनि अब 'मतदानकै दिन खोप नदिइने'
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तह चुनावकै दिन देशव्यापी रुपमा कोरोनाभाइरसविरुद्धको खोप कार्यक्रमहरू नहुने भन्दै आइतवार जारी एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यसअघि बैशाख ३० गते हुने निर्वाचनकै दिन कोरोनाभाइरसविरुद्धको खोप पनि लगाइने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक प्रेस ब्रिफिङमार्फत जनाएको थियो।
अहिले भने स्वास्थ्यकर्मीहरू पनि चुनावका दिन परिचालन हुने र उनीहरूले पनि मताधिकार प्रयोग गर्ने भएकोले खोप अभियान सञ्चालनमा कठिनाइ हुने जनाएको हो।
कारण
निर्णय परिवर्तन गरिनुको कारणबारे बोल्दै मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बीबीसीसँग भने, "हामीले पछिल्लो अवस्था हेरेर मतदान हुने दिनमा स्वास्थ्यकर्मीहरूलाई या त मतदान गराउन नसकिने हुन्छ या त स्थानीय स्वास्थ्यकर्मीहरू मताधिकार प्रयोग गर्न जानुहुने हुन्छ।
"यस्तो अवस्थामा सर्वसाधारणको पनि एकातिर ध्यान केन्द्रित हुने र स्वास्थ्यकर्मीहरू पनि अर्कोतिर परिचालन हुने भएकोले कोभिडको खोप अभियान सञ्चालन गर्न व्यवहारिक नहुने देखिएको छ।"
यसले गर्दा मतदानको दिनबाहेक अघिपछि नियमित खोप अभियान हुने भए पनि बैशाख ३० गने भने नहुने मन्त्रालयले जनाएको हो।
यसअघि भने बीबीसी नेपाली सेवासँग कुरा गरेका अधिकारीहरूले विगतमा जस्तो चुनावी प्रयोजनका लागि स्वास्थ्य अधिकारीहरूलाई यसपटकको चुनावमा परिचालन नगरिएका कारण जनशक्ति परिचालनमा समस्या नहुने बताएका थिए।
पहिलो र दोस्रो मात्रा खोप लगाउन छुटेका र अतिरिक्त मात्रा, 'बुस्टर डोज' लगाउन बाँकी रहेकालाई मतदान हुने दिन नै खोप लगाइने भन्दै मन्त्रालयले खोप कार्ड समेत लिएर मतदान केन्द्र जान अनुरोध समेत गरेको थियो।
अब नयाँ निर्णय सहित मन्त्रालयको पछिल्लो विज्ञप्तिपछि मतदाताहरूले कोरोनाभाइरसविरुद्धको खोपकार्ड साथै लिएर जान नपर्ने भएको छ।