तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: चुनावी चर्चाको केन्द्र बनेको भरतपुरमा रेणु दाहाल, जगन्नाथ पौडेल र विजय सुवेदीका तीन थरी दाउ
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
भरतपुर महानगरपालिकामा केन्द्रीय नेताहरूको दौडधुपले स्थानीय चुनावको कथालाई उनीहरूको व्यथा बनाइदिएको देखिन्छ।
गत साता सत्ताधारी गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा "आफ्नो पक्षमा परिणाम नआए दुर्घटना हुने" चेतावनी दिए भने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चाहिँ "गठबन्धनले हारे आफ्नो पार्टी खत्तम हुने" बताए।
ती भनाइलाई विपक्षी नेता एमाले अध्यक्ष केपी ओलीले "धम्कीको अभिव्यक्ति" भनेका छन्।
अर्थात् भरतपुर महानगरपालिकाको रस्साकस्सी अभूतपूर्व मोडमा पुगेको बुझ्न गाह्रो छैन।
यहाँको चुनावी मैदानमा उत्रिएकामध्ये सबभन्दा चर्चित तीन उम्मेदवारका सामु तीन थरी चुनौती देखिएको छ।
'रेणुको रौनक'
सत्ता गठबन्धनले अघि सारेको नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई आफ्नो अघिल्लो चुनाव जित्दा लागेको दाग यसपालि पाँच वर्षको कामले मेट्ने अवसर त प्राप्त छ।
तर राष्ट्रिय राजनीतिको छायामा चुनावी एजेन्डा नै अन्यत्र मोडिँदा अब उनले परिवारवादको आरोप खेप्दै सत्ता गठबन्धनको भविष्य जोगाउने जिम्मा बहन गर्नुपर्ने देखिन्छ।
पिता प्रचण्डले गत साता भरतपुरमा उनको हारले दुर्घटना हुने बताएपछि त्यो बोझ थप असहज बनेको देखिन्छ।
भरतपुरको बेल्चोकमा आइतवार कोणसभामा भेटिँदा उनले त्यसको प्रस्ट सङ्केत गरिन्।
दाहालले भनिन्: "वहाँले त्यसरी भन्नुभएको होइन। यो गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको हो।"
"गठबन्धन बन्ने तर त्यो अनुसार एकअर्कालाई भोट नहाल्ने हो भने त के अर्थ रहन्छ र? नत्र फेरि देश दुर्घटनातिर जान्छ भन्न खोज्नु भएको हो।"
बरु दुर्घटना त उनले अघिल्लो चुनावको मतगणनाका बेला भएको घटनालाई मानेको बताइन्।
"त्यतिखेर जे भयो त्यो दुःखद थियो। मलाई पनि त्यो सुखद लागेको छैन। अब फेरि त्यस्तो नहोस् भनेर सबै जना चनाखो हुनुपर्छ," उनले भनिन्।
कस्तो होला 'जगन्नाथको जबाफ?'
अर्कोतिर नेपाली कांग्रेसका पाका नेता जगन्नाथ पौडेललाई भने भरतपुरमा 'कांग्रेसको बिउ जोगाउनका निम्ति' आफ्नै पुराना नेताकार्यकर्ताले गरेको भरोसा प्रमाणित गर्नु छ।
अघिल्लो चुनावमा गठबन्धन गर्दा मेयरको पद छाड्नु परेको कांग्रेसलाई यसपालि पनि सोही कथा दोहोरिँदा मन अमिलो भएकै हो।
त्यसमाथि अघिल्लो चुनावमा आफ्नो तर्फबाट कोही नहुँदा पनि आफ्नो चुनाव चिन्हमा करिब ८,००० मत खसेको उनीहरूले बिर्सिन सकेका छैनन्।
गठबन्धन गरेर 'आफूहरूको चित्त' दुखाएका केन्द्रीय नेताहरूको चेतावनी र ललाइफकाइलाई 'ब्यालटमार्फत्' नै जबाफ फर्काउन पौडेल हौसिएका छन्।
रामनगरस्थित पुष्पवाटिकामा आफ्ना समर्थकहरूसँग चुनावी रणनीति कोर्दै गर्दा उनले भने, "सुरुमा त म एक्लो वृहस्पति हुन्छु कि भन्ने लागेको थियो। तर अहिले चितवन जर्याकजुरुक मेरो आह्वानमा उठेको छ।"
"म नउठेको भए सत्ता लेनदेनमा जान्थ्यो अनि सत्यको मुख छोपिन्थ्यो," उनले भने।
'विजयको विरासत'
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको काँध पनि हलुको छैन।
सत्ताधारी दलहरूको जस्तो गठबन्धनको बोझ तथा विरासत जोगाउने दबाव उनीमा नभए पनि अघिल्लो निर्वाचनमा गणनाका क्रममा आफूहरू अन्यायमा परेको एमालेका नेताकार्यकर्तामा गहिरो गरी परेको भानबाट यसपालि विजयमार्फत उम्काउने जिम्मा उनकै देखिन्छ।
के उनको नाम चुनावी मैदानमा सार्थक ठहर्ला?
पार्टी अध्यक्ष निम्त्याइएको कार्यक्रम सकिनासाथ क्याम्पाचौरमा आइतवार साँझ केही क्षण सुस्ताउँदै गर्दा उनले भने, "एउटा महानगरको चुनावमा कोही जित्दा वा हार्दा केन्द्रीय राजनीतिमा प्रभाव पर्ने केही होइन।"
"स्थानीय सरकार भनेको जनताको विकास निर्माण र सुखदुःखसँग बढी नजिक हुन्छ। मेरो ध्याउन्न यही छ।"
उनले जसको जितहार भए पनि सबै पक्ष नमिलीकन विकास र सुशासन हुन नसक्ने आफ्नो विश्वास रहेको बताए।
भरतपुरका एजेन्डा
भरतपुर महानगरपालिकाको जनसङ्ख्या तीन लाख ७० हजार अनि मतदाता सङ्ख्या चाहिँ एक लाख ८५ हजार रहेको छ।
२९ वटा वडामा विभक्त भरतपुरमा यसअघिको चुनावमा दाहालले एमालेका देवी ज्ञवालीलाई २०३ मतान्तरले जितेकी थिइन्।
त्यतिखेर झन्डै ७,००० मत ल्याएको राप्रपाले यसपालि एमालेसँग गठबन्धन गरेको छ।
तीनै जना मुख्य उम्मेदवारहरूले भरतपुरलाई स्मार्ट सिटी बनाउने बताइरहेका छन्।
सबै महानगरजस्तै यहाँको मूल विकास एजेन्डा बाटोघाटो, ढल निकास, फोहर मैला व्यवस्थापन, व्यवस्थित बसाइँ र अरू पूर्वाधार विकासमै केन्द्रित छन्।
आम मानिसको चाहना पनि त्यस्तै सुनिन्छ।
पुल्चोकमा फलफूल बेचेर जीविकोपार्जन गर्दै आएकी गङ्गा पनेरु चुनावी माहौलबाट रमाएकी त छन् तर उनको चिन्ता चाहिँ आफूहरूलाई व्यवसाय गर्न सहज वातावरण बनोस् भन्ने छ।
"चुनाव आएको छ। सबैले भोट माग्छन्। हामीले आफ्नो काम नगरी केही टर्दैन। यही काम गर्न सजिलो बनाइदिए हुन्थ्यो," आफूलाई कहिले यता जा त कहिले उता जा भनेर अप्ठेरो परिरहने व्यथा सुनाउँदै उनले भनिन्।
भरतपुरमा ट्याम्पु चलाएर जीवन धानिरहेका रुकबहादुर पेमी मगरलाई चुनावी माहौल 'अजीव' लागेको छ।
"सबै आफ्नै राजनीति तताउन लागेका छन्। जो आए पनि विकास उस्तै हो। कलकारखाना खोलेर रोजगारी दिए हुने थियो। यहाँको ताल हेरेर मलाई पनि अब त विदेश जानुपर्ला भन्ने लागेको छ," उनले गुनासो गरे।
स्थानीय चुनावको मतदान र त्यसपछिको परिणाम आउन अब धेरै समय बाँकी छैन।
यहाँको परिणामले आगामी साता तथा महिनाहरूमा राष्ट्रिय राजनीतिमा कसिएको गठबन्धनको गाँठो झन् कस्ने वा खुकुलो पार्न सक्ने ल्याकत राखेको धेरैले ठानेका छन्।
तर गङ्गा पनेरु र रुकबहादुर पेमी मगरले सोचेको जस्तो परिवर्तन होला भन्ने चाहिँ कमैको आशा छ।