भारत कोभिड: कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने मानिसको सङ्ख्या किन कहिल्यै पत्ता नलाग्न सक्छ

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको एउटा नयाँ प्रतिवेदनका अनुसार भारतमा सरकारी आँकडाको तुलनामा करिब १० गुणा बढी मानिसको कोरोनाभाइरस महामारीका कारण ज्यान गएको छ।

भारत सरकारले उक्त तथ्याङ्कलाई अस्वीकार गर्दै अनुसन्धान विधिमा त्रुटि रहेको बताएको छ।

के भारतमा कोरोनाभाइरस महामारीका कारण कतिले ज्यान गुमाए पत्ता लगाउन सम्भव छ?

सन् २०२० को नोभेम्बरमा सबै कारणले हुने मृत्युको तथ्याङ्कहरू उपलब्ध गराउने वर्ल्ड मोर्टालीटी डेटासेटले भारतका अधिकारीहरूलाई सूचना उपलब्ध गराउन अनुरोध गरेको थियो।

"ती तथ्याङ्कहरू उपलब्ध छैनन्," भारतको प्रमुख तथ्याङ्क कार्यालयले दिएको उत्तर डेटासेटका सह-संस्थापक तथा वैज्ञानिक एरिअल कार्लिन्स्की बताउँछन्।

उनी डब्ल्यूएचओले सन् २०२० र सन् २०२१ मा कोरोनाभाइरसका कारण विश्वव्यापी रूपमा भएको अनुमानित अतिरिक्त मृत्यु सङ्ख्याबारे अध्ययन गर्न गठन गरिएको सल्लाहकार समूहका पनि सदस्य हुन्।

अतिरिक्त मृत्यु विगतका वर्षका तुलनामा अपेक्षा गरिएभन्दा कति बढी मानिसहरूको ज्यान गइरहेको छ भन्ने साधारण प्रकृतिको मापन हो।

किन विवाद भइरहेको छ

कोभिडकै कारण यीमध्ये कति मृत्यु भए भन्न गाह्रो भएपनि त्यसलाई महामारीले उत्पन्न गराएको क्षतिको तहको मापनका रूपमा लिन सकिन्छ।

भारतमा आधिकारिक रूपमा हालसम्म कोरोनाभाइरसका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ।

सन् २०२० को ज्यानुअरी १ र सन् २०२१ को डिसेम्बर ३१ सम्ममा चार लाख ८१ हजार मृत्यु भएको जनाइएको भएपनि डब्लूएचओको अनुमानले उक्त आँकडा करिब १० गुणासम्म बढी रहेको जनाएको छ।

वैज्ञानिकहरूले विश्वव्यापी रूपमा कोभिडका कारण भएको मृत्युको एक तिहाइ भारतमा भएको जनाइएको छ।

यो अवधिमा २० देशमध्ये विश्वव्यापी रूपमा देखा परेको अतिरिक्त मृत्युदरको ८० प्रतिशत भारतमा पाइएको छ। हालसम्म विश्वभर गणना नगरिएका त्यस्ता मृत्युमध्ये लगभग आधा भारतमा पाइएको थियो।

यसै हप्ताको सुरुमा भारत सरकारले सन् २०२० मा सरकारी स्तरमा दर्ता गरिएका ८१ लाख मृत्युको तथ्याङ्क सार्वजनिक गरेको थियो जुन अघिल्लो सालको तुलनामा छ प्रतिशत बढी रहेको थियो।

अधिकारीहरूले त्यसलाई खास प्राथमिकता दिएनन् र चार लाख ७४ हजार अतिरिक्त मृत्यु कोभिडका कारण भन्न नमिल्ने जनाएका छन्।

सरकारी तथ्याङ्कले सन् २०२० मा करिब एक लाख ४९ हजार मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ।

टोरोन्टोस्थित सेन्टर फर ग्लोबल हेल्थ रिसर्चका निर्देशक प्रभात झाले कोभिडसँग सम्बन्धित भारतको मृत्युदर उल्लेख्य रूपमा कम नभएपनि अभूतपूर्व रूपमा कम गणना गरिएको छ।

सन् २०२१ को सेप्टेम्बरसम्म गरिएका तीनवटा ठूला अध्ययनहरूले भारतको मृत्युको आँकडा "आधिकारिक तथ्याङ्कभन्दा छदेखि सात गुणासम्म बढी" देखाएका छन्।

द लान्सेटमा प्रकाशित एउटा अध्ययनमा भारतका १२ वटा राज्यका क्षेत्रीय तहका मृत्युसम्बन्धी तथ्याङ्कको प्रयोग गरिएको थियो।

त्यसको निष्कर्ष डब्लूएचओको आकलनसँग मिल्दोजुल्दो छ।

कोभिड नियन्त्रणसम्बन्धी सरकारी भाष्यलाई चुनौती दिने यस्ता खालका स्वतन्त्र अनुमानहरूलाई भारत सरकारले निरन्तर रूपमा खारेज गर्दै आएको छ।

अधिकारीहरूले त्यसलाई "गलत, झुट्टा सूचनामा आधारित र खराब प्रकृतिका आरोप" भन्दै अनुसन्धान विधि र अध्ययनका लागि अवलम्बन गरिएको नमुना छनौट विधि त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिने गरेका छन्।

त्यसरी मृत्युको तथ्याङ्क कम रिपोर्टिङको सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ।

कार्लिन्स्की भन्छन्, "मलाई डर छ कि अहिले सबै तथ्याङ्क उपलब्ध भइसकेपछि पनि भारतले त्यसलाई सार्वजनिक गर्न हिचकिचाउनेछ।"

"किनभने त्यो आधिकारिक तथ्याङ्क र भारतले विभिन्न कारणले कोभिडलाई पराजित गरेको भन्ने भनाइसँग मेल खाँदैन।"

के अरू देशहरूले सही तथ्याङ्क दिएका छन्

धेरै देशहरूले महामारीको समयमा भएका मृत्युको उपयुक्त सङ्ख्या उपलब्ध गराउन सङ्घर्ष गरिरहेका छन्।

कैयौँ विकसित देशहरूले सबै कारणले भएका मृत्युको तथ्याङ्क सार्वजनिक गर्न उल्लेख्य रूपमा विलम्ब गरेका थिए।

किनभने भाइरसको परीक्षण नगरिएकाले पीडितहरूलाई मृतकको सूचीमा राखिएको थिएन र मृत्युको अभिलेखीकरणको प्रक्रिया अनियमित र सुस्त देखिएको थियो।

मृत्युसम्बन्धी प्रमुख अभिलेख पूर्ण र निरन्तर रूपमा प्रकाशित गर्ने देशहरूमा अमेरिका र रुसपछि भारत पर्ने गरेको छ।

भारतसँग जनसङ्ख्याको हिसाबले तुलना गर्ने गरिएको चीनमा मृत्युको तथ्याङ्क 'अलिक अस्पष्ट' देखिने गरेको भए पनि अधिकारीहरूले सन् २०२० र २०२१ मा सबै कारणले भएका मृत्युको केही वार्षिक तथ्याङ्क सार्वजनिक गरेको कार्लिन्स्की बताउँछन्।

भारतले जस्तै पाकिस्तानले पनि तथ्याङ्क उपलब्ध गराएन तर उक्त देशको पनि 'अभिलेखीकरण प्रणाली राम्रो रहेको ठानिएको छ।'

भारतमा मृतकहरूको सङ्ख्या गणना गर्न सजिलो छैन।

विश्वसनीय तथ्याङ्कको अभाव

भारतका ग्रामीण क्षेत्रमा करिब आधा मृत्यु घरमै हुन्छ।

कमजोर अभिलेखीकरणका कारण प्रत्येक वर्ष हुने एक करोड मृत्यु मध्ये ७० लाखवटा स्वास्थ्य निकायबाट प्रमाणित मृत्युको कारण उल्लेख नहुने र ३० लाख मृत्यु दर्ता नहुने विभिन्न जनसाङ्ख्यिक अध्ययन र राष्ट्रसङ्घको आकलन रहेको छ।

महिलाहरूको मृत्युदर्ता अझै न्यून छ र गरिब राज्यहरू जस्तै उत्तरप्रदेश र बिहारमा त्यो विशेष रूपमा कम छ।

तर अनुसन्धानकर्ताहरूका अनुसार भारतले महामारीसँग सम्बन्धित आधारभूत तथ्याङ्कहरू जस्तै सङ्क्रमणका विभिन्न वर्गीकरण, अस्पताल भर्ना, उमेर, लिङ्ग र खोप लगाएर वा नलगाएर ज्यान गुमाएकाहरूको तथ्याङ्क दिन अस्वीकार गरेको थियो।

मृत्युसम्बन्धी विश्वसनीय तथ्याङ्कको अभावमा सफल खोप कार्यक्रमले वास्तवमा नै मृत्यु कम गर्न सफल भइरहेको छ या छैन भन्ने पुष्टि गर्न कठिन हुन्छ।

"तथ्याङ्कको अभाव र तथ्याङ्कको अपारदर्शिता भारतमा महामारीको प्रमुख विशेषताका रूपमा रहेको छ," युनिभर्सिटी अफ मिचिगनका प्राध्यापक ब्रह्मार मुखर्जी भन्छिन्।

कतिपयले आफ्नो तथ्याङ्कलाई लिएर प्रकट भइरहेको भारतीय जिद्दीलाई रहस्यमय ठान्छन्।

कतिपय राज्यमा कोभिडका कारण भएका मृत्यु देखाउँदै गरिएका क्षतिपूर्ति माग आधिकारिक तथ्याङ्कभन्दा बढी रहेको छ।

अबको बाटो के

अनुसन्धानकर्ताहरूले भारतले आफ्नो नागरिक अभिलेख प्रणालीलाई सुधार गर्नुपर्ने, मृत्यु दर्ता गर्ने प्रणालीलाई सुधार गर्नुपर्ने, स्वास्थ्य प्रमाणीकरण र तथ्याङ्कलाई सुधार गर्नुपर्ने बताउँदै आएका छन्।

भारतले आधुनिक प्रविधि र सामुदायिक स्वास्थ्य कार्यकर्ता र निष्क्रिय बायोमेट्रिक परिचयपत्र र फोन अभिलेखबाट तथ्याङ्क जुटाउन सक्ने बताइरहेका छन्।

चीनमा जस्तै अझ बढीभन्दा बढी मृत्यु अस्पतालमा भएको अवस्थामा अभिलेख राख्न सजिलो हुने ठानिन्छ।

आगामी जनगणनामा एउटा साधारण प्रश्न सोधेको अवस्थामा पनि त्यो सम्बोधन हुनसक्ने बताइन्छ।

"के तपाईँहरूको परिवारमा ज्यानुअरी १, २०२० यता निधन भएको छ?' छ भने मृतको उमेर, लिङ्ग र मिति भन्नुहोस," टोरोन्टोस्थित सेन्टर फर ग्लोबल हेल्थ रिसर्चका निर्देशक प्रभात झा भन्छन्।

"त्यसले महामरीको समयमा भएको अतिरिक्त मृत्युको वास्तविक अनुमान उपलब्ध गराउँछ।"

मृत्यु र रोगसम्बन्धी जानकारी स्वास्थ्य क्षेत्रमा सुधारका लागि महत्त्वपूर्ण मानिन्छ।

सन् १९३० को दशकमा अमेरिका र यूकेको फोक्सोको क्यान्सरसम्बन्धी तथ्याङ्कहरूबाट धूम्रपानलाई एउटा प्रमुख कारण पहिचान गर्न सहज भएको थियो।

सन् १९८० को दशकमा सान फ्रान्सिस्कोमा मृत्यु दर्ता प्रणालीबाट प्राप्त युवा समलिङ्गी पुरुषहरूको मृत्यु सम्बन्धी तथ्याङ्कले एचआइभी/एड्सको पहिचानलाई सघाएको थियो।

प्राध्यापक मुखर्जी भारतले महामारीको समयमा सबै कारणले मृत्यु भएकाको तथ्याङ्क सार्वजनिक गरेर आलोचकहरूलाई चुप लगाउनसक्ने बताउँछिन्।

"विज्ञानलाई विज्ञानबाटै चुनौती दिइनुपर्छ। सबै राष्ट्रिय तथ्याङ्कलाई सार्वजनिक गरिनुपर्छ।"